डडेलधुरामा व्यावसायिक रूपमा अस्ट्रेलियन कालिज पालन सुरु
डडेल्धुरा : डडेलधुरामा व्यावसायिक रूपमा अस्ट्रेलियन कालिजको पालन सुरु भएको छ। जिल्लाको चुरे पर्वतको दुर्गम बस्ती बडी मलासमा स्थानीयले व्यावसायिक कालिज पालन गरेका हुन्।
डडेलधुराको परशुराम नगरपालिका-७ बडीमलासमा स्थानीय दलबहादुर जागरीले अस्ट्रेलियन कालिज पालन गरेका हुन। उनले गत वर्षदेखि कालिज पालन सुरु गरेका हुन्।
उनी कालिजसँगै स्थानीय जातका कुखुरा पनि पालिरहेका छन्। सुरुवातमा ३५० कालिजका चल्लाबाट सुरुवात गरेका व्यवसायी जागरीले करिब पाँच रोपनी जमिनमा तारजालीले घेरबार र माथि पनि नाइलन जालीले क्षेत्रफल ओगटेर कालिज पालन सुरु गरेको बताए।
कालिज फर्म दर्ता गरी कालिज पालन सुरु गरेका जागरीले परशुराम नगरपालिका-१२ को लालढुंगा बजारदेखि करिब ३० किलोमिटर टाढा चुरे पर्वतमा रहेको मलास गाउँमा उनले व्यावसायिक रुपमा विदेशी जातको कुखुरा पालन सुरु गरेका हुन। उक्त फर्म उनले श्रीमती गीता धामी जागरीका नाममा दर्ता भएको छ।
कञ्चनपुरको महेन्द्रनगर बजार १६ किलोमिटरको दूरीमा रहेकाले कालिजको बजार डडेलधुरा भन्दा तराईको जिल्लामा बढी छ। गाउँमा बिक्री गर्दा भाले कालिजको दुई हजार पाँच सय रुपैयाँ र पोथी कालिजको मूल्य दुई हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको उनले बताए। तर १५० कालिज एकै पटक व्यापारीले खरिद गर्दा भाले र पोथी कालिजमा ५०० रुपैयाँ घटाएर दिने गरेको उनको भनाइ छ।
कालिज पालन गर्न बनाइने संरचना एयरपोर्ट जाली करिब एक लाख, नाइलनको जाली करिब ७० हजार, खोर निर्माण, चल्ला खरिद र एक वर्षसम्म कालिजलाई चारो खुवाउँदा करिब ६ लाखसम्म खर्च भएको उनले बताए। कालिजका प्रति चल्ला २५० रुपैयाँका दरले खरिद गरी कैलालीको खानीडाँडाबाट ल्याएको उनले भनाइ छ।
कालिजलाई मकै, धान, गहुँ, घाँससँगै टर्कीलाई खुवाइने एल थ्री नामक दाना खुवाउने गरेको बताए। करिब एक वर्ष पाल्दा तीन सय बढी कालिजले ७० हजार रुपैयाँसम्मको दाना खाएको उनको भनाइ छ। ३५० चल्लामध्ये करिब ३५ चल्ला मरेको थियो। ३ सय १५ कालिज बिक्री गर्दा एकै वर्षमा लगानी उठाउन सकिएको उनले बताए।
आकासे पानीको भरमा गरिने खेतीपातीले तीन महिना पनि खान नपुग्ने भएपछि आय आर्जनका लागि कालिज पालन सुरुवात गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !