म्याग्दीमा ३३ करोडको सुन्तला बिक्री
बेनी : म्याग्दीमा यस वर्ष ३३ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ। म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज सुन्तलाको यसपाली उत्पादन गत वर्षको तुलनामा २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख सन्जीव बास्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोगकिराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए। ‘गत वर्ष तीन हजार छ सय मेट्रिक टन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार सात सय ८१ मेट्रिक टन उत्पादन भएको छ,’ उनले भने ‘म्याग्दीका कृषकले यस वर्ष ३३ करोड ४६ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्।’
सरदर प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला बिक्री भएको छ। यस वर्ष प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बास्तोलाले बताए। गत वर्ष प्रतिहेक्टर आठ दशमलव ६ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको थियो।
जिल्लाभर आठ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएकोमा चार सय २५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ। गत वर्ष २४ करोड रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको थियो।
कृषि ज्ञान केन्द्रका प्राविधिकहरूले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन्। उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मंगला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताए।
राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैँचा छन्।
जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौं, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ। यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन्।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन्। यस वर्ष चार सय रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !