विषादी नियन्त्रण गर्न कृषक पाठशाला, अभ्यासका लागि एक रोपनी जग्गामा ब्रोकाउली खेती
इलाम : कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्न कृषि ज्ञान केन्द्र इलाम र इलामका स्थानीय तहले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला सञ्चालनलाई प्राथमिकता दिएका छन् ।
इलामको सूर्योदय नगरपालिका र फाकफोकथुम गाउँपालिकामा कृषि ज्ञान केन्द्रले स्रोह हप्ते आईपीएम कृषक पाठशाला चार महिनादेखि सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्र इलामका प्रमुख कुल बहादुर राईले जानकारी दिए । उनले भने,‘आईपीएमले कृषकलाई सबै प्रकारले दक्ष बनाउने लक्ष राखेको हुन्छ, यो अन्तराष्ट्रिय अभ्यासले खारिएको पद्धति पनि हो ।’
सूर्योदय नगरपालिका सहित जिल्लाका स्थानीय तहले पनि विभिन्न बालिमा आईपीएम कृषक पाठशाला सञ्चालन गर्ने तयारी गरेका छन् । कृषि ज्ञान केन्द्र इलामले इलामको सूर्योदय नगरपालिका ७ कटुवाल गाउँमा ब्रोकाउली बालिमा सञ्चालन गरेको कृषक पाठशालाको कृषक दिवस (समापन कार्यक्रम)का अवसरमा केन्द्रका सहायक कृषि प्रसार अधिकृत जिवन ठाडा मगरले रासयनीक विषादी र मलको एकीकृत व्यवस्थापन गर्न, कृषकलाई दक्ष बनाउने, स्वास्थ्य वाली उत्पादन गर्ने लगायतका लक्षसहित आईपिएम कृषक पाठशाला सञ्चालन गरिएको बताए ।
'कृषकलाई मित्र र शत्रुजीव पहिचान गर्न सिकाएर स्थानीय रूपमा उपलब्ध जैविक विषादी र मलको प्रयोगमार्फत स्वच्छ फसल उत्पादन गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेका छौँ,'ज्ञान केन्द्र प्रमुख राईले भने, 'हरेक समूहका कृषकलाई हप्ताको एक दिन चार घण्टाका दरले प्राविधिक र व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौँ।'
प्रयोगात्मक अभ्यासका लागि एक रोपनी जमिनमा ब्रोकाउली खेती गरिएको छ । त्यसको आधा जमिनमा किसानले गर्दै आएको प्रविधिबाट खेती गरिन्छ भने आधा जमिनमा प्राविधिक रुपमा खेती गरिएको छ ।सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गा कुमार बराल भन्छन् ‘कृषिमा आईपीएम पद्धती विषादीको अन्दाधुन्द प्रयोग घटाउने पद्धती रहेकाले नगरपालिकाले पनि यस्तो काममा प्राथमिकताका साथ काम गरिरहेको छ ।’ उनले यस बर्ष सूर्योदय नगरपालिकामा दुई वटा यस्तै पाठशाला सञ्चालन गर्ने तयारी गरेको बताए । सूर्योदय नगरपालिका ७ मा सञ्चालन भइरहेको सिद्धदेवी आई पि एम कृषक पाठशालाको कृषक दिवसका अवसरमा प्रमुख अतिथिको आसनबाट बोल्दै उपमेयर बरालले नगरका सबै वडामा यस्तो कार्यक्रम सञ्चालन गर्न नगरले बजेटको व्यवस्था गर्ने बताए ।
सूर्योदय नगरपालिका वाड न ७ का वडाअध्यक्ष लोकबहादुर राईले विषादीको अनियन्त्रीत प्रयोग घटाउन पाठशालाले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पाठशालाले कृषि कर्म गर्न कृषकलाई उत्साह थपेको महसुस गरेको छु ।’
सूर्योदय नगरपालिका ८ का वडाअध्यक्ष जंग बहादुर गुरुङले रासयनीक मल र विषादी चुनौती पुर्ण बन्दै गएकाले आफूले वडालाई नै विषादी मुक्त क्षेत्र बनाउन प्रयास गरिरहेको बताए । उनले भने, ‘किसान स्तरबाटै माटोको संरक्षण, मानव स्वास्थ्य प्रति सचेतना र स्वस्थ्य वाली उत्पादनको चेतना वृद्धि गर्न लागि आई पि एम कृषक पाठशाला महत्वपूर्ण हुने देखिएको छ ।’
कृषिमा उत्पादन,प्रशोधन र बजारीकरणलाई प्रभावकारी बनाउने कृषि ऐन र नीति निमार्णमा तीन तहको सरकारले गहिरो चासोका साथ काम गर्नुपर्ने राष्ट्रिय कृषक समूह महासंघ सूर्योदयका अध्यक्ष मदन पौडेलले बताए ।
पाठशालामा कम्तीमा २५ जनाका दरले कृषक सहभागी हुन्छन् । सूर्योदयनगरपालिका ७ को सिद्धदेवि आईपिएम कृषक पाठशालाका अध्यक्ष जागिरमान कटुवालले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाइभैँसीको मूत्र र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्न पाठशाला सञ्चालन गरिएको बताए । उनले भने,'रासायनिक मल र विषादीका लागि हुने लगानी तथा स्वास्थ्यमा पर्ने असर न्यूनीकरणका लागि प्राङ्गारिक खेती गर्न थालेका छौँ।'
'खेतीबालीमा शत्रुजीव मात्र हुँदैन, मित्रजीव पनि हुन्छन् भन्ने ज्ञानको कमी छ । कुन जीव मित्र र शत्रु हो भन्ने पहिचान नगरी जथाभाबी विषादी प्रयोग गर्दा बेफाइदा गर्ने भएकाले शत्रु जीवलाई जैविक विषादीबाट नियन्त्रण गर्ने ज्ञान, सीप पाठशालाबाट पाएका छौँ”,पाठशालाका सहभागि कृषक लोक बहादुर कटुवालले बताए ।
पाठशालामा कृषकलाई भेला गराएर सैद्धान्तिक विषयमा अभिमुखीकरणका साथै प्रयोगात्मक अभ्यास गराइएको आईपीएम सहजकर्ता खेमराज भट्टराईले बताए । 'आई पी एम, परम्परागत र प्रदर्शनी विधिबाट फरक जातका बिरुवा रोपेका थियौं,किसानले आफै खेती गरेर महशुस गर्नु भएको छ ।'
अर्का कृषक प्रशिक्षक मेदनी पोख्रेलले परम्परागत तुलनामा आईपीएम विधिबाट खेती गर्दा धेरै उत्पादन लिन सकिने देखिएको बताए। सोह्र हप्ता पाठशाला चलेपछि कृषक दिवसको आयोजना गरेर आसपासका कृषक, स्थानीय सरकारका प्रतिनिधि, समाजका अगुवाहरूलाई भेला पारेर आईपीएम कृषक पाठशालाका अवसर, चुनौती र उपलब्धीहरूबारे जानकारी गराइन्छ ।
सूर्योदय नगरपालिका ७ को सिद्धदेवि आईपीएम कृषक पाठशालाको कृषक दिवस कार्यक्रमकी सञ्चालिका स्थानीय कृषक राधा कटुवालले भनिन्, ‘पाठशाला सञ्चालन गरेपछि नयाँ प्रकारको उत्साह थपिएको छ ।’
दिवसमा सहभागीले गीत, कविता, नृत्य, नाटकका माध्यमबाट आफूले सिकेका कुरालाई अभिव्यक्त गर्ने गरेको कृषक प्रशिक्षक पोख्रेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !