हल्लाकै भरमा, पतेरो संकलन गर्न बगरमा

हल्लाकै भरमा, पतेरो संकलन गर्न बगरमा

गोरखा : बारीको सागपात खाइदिन्छ। छोए ठस्स गन्हाउँछ। त्यसैकारण पतेरो किराबाट मान्छे टाढै बस्न रुचाउँछ। तर, त्यही किरा खोज्न बूढीगण्डकी बगरमा भने भीड लागेको छ। चुमनुब्री–३ को घट्टेखोला, सिर्दिबास, सल्लेरी, जगतबगर तथा धार्चे—५ माछाखोला, आरुघाटलगायतका बगरमा स्थानीयले पतेरो संकलन गरिरहेका छन्। त्यो पनि हल्ला हल्लाकै भरमा। 

स्थानीयले बगरका साना, ठूला ढुंगा पल्टाउँदै त्यसभित्र लुकेर रहेको पतेरो संकलन गरेका छन्। गेग्य्रान खोतलेर पनि पतेरो समातेका छन्। बूढीगण्डकी बगरमा पहिलो पटक पतेरो संकलन भइरहेको छ। राम्रो मूल्यमा बेच्न पाइने भन्दै विगत चार दिनदेखि स्थानीयवासीले पतेरो संकलन गरेको चुमनुब्री–३ का वडाध्यक्ष रामकुमार गुरुङले जानकारी दिए।

‘पोहोर, परार त यस्तो थिएन, यसपालि के हल्ला आयो कुन्नी, अचम्ममा परियो। मान्छेहरू लाइन लागेर बगरमा पतेरो खोजिरहेका छन्’, वडाध्यक्ष गुरुङले भने, ‘कास्की, लमजुङतिर बस्ने आफन्तहरूले पतेरो राम्रै मूल्यमा बिक्री हुन्छ भनेर खबर गरेपछि हाम्रा गाउँका मान्छे बगर झरेका हुन्। हल्लामात्रै हो कि, सत्य कुरा के हो ? छेउटुप्पो केही थाहा छैन। कसैले त बेची पनि सके भन्ने हल्ला छ।’ चिनियाँ व्यापारीले प्रतिकिलो २–३ हजार रुपैयाँमा किनेका छन् भन्ने हल्ला आफूले पनि सुनेको उनले बताए। पतेरो संकलन नगर्न वडा कार्यालयले अनुरोध गरेको उनले बताए।

माछाखोला बगरमा पनि पतेरो खोज्ने गाउँले धुरिएका छन्। बूढीगण्डकी आसपासका गाउँबस्तीका बासिन्दा पतेरो खोज्ने गरेको स्थानीय धनकुमार गुरुङले जानकारी दिए। ‘कहाँबाट के हल्ला आयो, बगरभरि मान्छे थिए’, उनले भने, ‘तर व्यापारीले किनेको छैन रे भन्ने पछिल्लो हल्ला आएको छ। हल्लाका भरमा दिनभर बगरमा ढुंगा पल्टाएका छन्, दुःखमात्रै हुने हो कि, ठगिने हुन् कि केही थाहा छैन।’ तरकारीबारीमा पाइने कालो रङको पतेरो बगरमा बस्छ भन्ने पनि थाहा नभएको, उपयोगी हुन्छ, बिक्री हुन्छ भन्ने पनि थाहा नभएको उनले बताए।

पतेरो संकलन काम बिल्कुल नयाँ अभ्यास भएकाले वास्तविकता जानकारी नहुञ्जेल काम रोक्न आग्रह गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ। ‘यो कति संख्यामा छ, यसको वातावरणमा के प्रभाव छ, यो निर्मूल भयो भने वातावरणमा के कस्तो दुष्प्रभाव पर्छ भन्ने केही अध्ययन भएको छैन’, एमक्यापका प्रमुख सन्तोष शेरचनले भने, ‘त्यसैले हाल विस्तृत अध्ययन नहुञ्जेल यसको संकलन नगर्न एमक्याप, वडा कार्यालय र प्रहरीले आग्रह गरिसकेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.