पदले मन्त्री, स्वभावले भुइँमान्छे

पदले मन्त्री, स्वभावले भुइँमान्छे
गुल्मीको मालिका गाउँपालिकाका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया गर्दै मन्त्री दिनेश पन्थ बीचमा । तस्बिर : केशरराज क्षेत्री

बुटवल : राजनीतिकर्मीलाई एकपटक मन्त्री हुन मन कसलाई पो लाग्दैन। जनतासामु मन्त्री पद र त्यसपछि हुने तडकभडक देखाउन पनि नेताहरू जसरी नि मन्त्री हुन तडाछमछाड गर्छन्। लालायित हुन्छन्। भुइँमान्छेको मतले सांसद र मन्त्री भएकाहरू सत्तामा पुगेपछि नागरिकलाई भुसुक्कै बिर्सन्छन्। झन् सम्झनुको साटो भुल्दै जान्छन्। नागरिकले सधैंभरि सम्झने वा क्षणभरमै बिर्सनै उसको कर्मले मात्र बताउने हो।

सहरका मन्त्रालयमा गाउँका नागरिकको सहज पहुँच पुग्दैन। फाँटेको कपडा र चप्पल लगाएर मन्त्रालय पुग्नेहरूलाई कसैले चिन्दैनन्। सम्मान गर्नुको साटो ‘हेपाह’ को नजरले हेर्ने गरेका कैंयन उदाहरण छन्। 

तर, लुम्बिनी प्रदेशका एक मन्त्री जसलाई देखावटी तडकभडकले कहिल्यै छोएन। उनी पदले मन्त्री हुन्। तर, स्वभावले भुइँमान्छे। उनको आफ्नै पन छ। विशेषता छ। साधारण जीवनशैली नै उनको खास नबिर्सने चिनारी हो। मन्त्री पद त अस्थायी हो, स्थायी त आफूलाई माया गर्ने जनता हुन्। हो, उनको यही सोँचले गर्दा नै गाउँ पुग्दा धेरैले भन्ने गर्छन्, ‘मन्त्री होस् त दिनेश पन्थीजस्तो।’ 

लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थी गुल्मी २(२) बाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद हुन्। अहिले उनलाई गुल्मीका गाउँ–गाउँ पुगेर जनताका गुनासा सुन्न भ्याइनभ्याइ छ। चुनाव जितेर गाउँ नफर्कने सांसद छन्। तर, बहालवाला मन्त्री हुँदा पनि उनको गाउँमा बाक्लो उपस्थितिले नागरिक उत्साहित छन्। पन्थी दुईपटक प्रदेश सरकारको मन्त्री भए। यसअघि उनी आन्तरिक मामिला तथा कानुनमन्त्री थिए। तर, त्यहाँ धेरै काम गर्न पाएनन्। २०८१ वैशाखमा उनी ७२ दिन मात्र मन्त्री भए। 

लुम्बिनीको कृषि र अस्तव्यस्त सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने जिम्मा उनको काँधमा छ। उनले मन्त्रालयमा जम्बो सचिवलाय बनाएका छैनन्। कानुनले तोकेको भन्दा धेरै नियुक्ति दिएका छैनन्। जिल्ला पुग्दा गाडीको लावालस्कर उनलाई मन पर्दैन। मन्त्रालयको होस् वा पार्टीको काममा हिँड्दा ठूला–ठूला होटलहरूमा बास बस्न उनका लागि कोठाहरू कुरेर बसेका हुन्छन्। आयोजकले अग्रिम कोठा बुकिङ गरेर राखिदिएका हुन्छन्। तर, पन्थी ती होटलमा रात बिताउन चाहँदैनन्। महँगा होटलभन्दा नागरिकका झुपडी उनलाई प्यारो लाग्छ। जनताकै घरमा पाकेको आटो, ढिडो र सिस्नो खान मन पराउँछन्। पन्थी लुम्बिनी प्रदेश सरकारका प्रवक्ता पनि हुन्। ५३ वर्षीय उनलाई धेरैले ‘सादकी मन्त्री’ भनेर चित्रण गर्छन्। मदाने गाउँपालिका–७ भनभने गुल्मी उनको जन्मघर हो। 

‘हामी आधारभूत वर्गबाट आएको मान्छे हो। मेरो पारिवारिक वर्ग पनि त्यही पृष्ठभूमिको हो’, पन्थीले भने, ‘४४ वर्षको राजनीति जीवनमा कहिल्यै पनि देखावटी गर्न मनले मानेन। जनताको झुपडीमा बसेर रात बिताउन पाउँदा आनन्दको अनुभूति हुन्छ।’ राजनीति गर्नेहरूले जनतासामु जस्तो बोल्ने गरिन्छ, त्यस्तै व्यवहार गर्नुपर्ने उनको मान्यता छ। सरकारी क्षेत्रमा हुने फजुल खर्च नियन्त्रण नगर्ने हो भने नागरिकको जीवनमा खुसी ल्याउन नसकिने उनको बुझाइ छ। 

देशको सहकारी क्षेत्र अस्तव्यस्त भइरहेको बेला लुम्बिनीको नहुने कुरै भएन। मन्त्रालयले प्रदेशमा भएका ८ सय ४८ वटा सहकारीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने काम गरिरहेको उनले जानकारी गराए। ‘२१ वटा टोली बनाएर सबै जिल्लामा सहकारीको स्थलगत निरीक्षणमा खटाएका छौं’, उनले भने, ‘कार्यविधि बनाएर यो काम भइरहेको छ। प्रतिवेदन आइसकेपछि सहकारीलाई व्यवस्थित बनाउने कुरामा नीतिगत निर्णय लिन्छौं।’

आफूले नेतृत्व गरेको मन्त्रालय तल्लो तहका नागरिकहरूसँग प्रत्यक्ष जोडिएको मन्त्रालय भए पनि बजेटको आकार सानो हुँदा जनताका गुनासालाई सम्बोधन गर्न समस्या परिरहेको उनले सुनाए। ‘किसान र कृषि क्षेत्रको विकास बिना देशको समृद्धि पूरा हुँदैन’, पन्थी भन्छन्, ‘बजेटको आकार बढाउनुपर्नेमा जोड गरेका छौं।’ मन्त्रालयको कुल बजेटको आकार डेढ अर्ब हो। यसमध्ये आधाभन्दा बढी बजेट कर्मचारीको तलबलगायत सञ्चालन खर्च हो। प्रदेश स्थापनाका वर्षमा यस मन्त्रालयमा चार अर्ब बजेट विनियोजन भएको थियो। सहकारी क्षेत्रमा मात्र २५ करोड बढी बजेट थियो। अहिले सहकारीमा २ करोड मात्र बजेट छ। 

पन्थी ९ वर्षको बाल्यकालदेखि नै राजनीतिक जीवनमा सक्रिय थिए। ०३८ सालमा गाउँकै भनभनेस्थित तत्कालीन दीपक निम्न माध्यमिक विद्यालयको विद्यालय प्रारम्भिक कमिटी अध्यक्ष भएर उनले काम गरेका थिए। भनभनेमै माक्र्सवादी अध्ययन दलको सचिव भए। अनेरास्ववियुको जिल्ला कमिटी सदस्य र उपसचिव भएर काम गरे। कक्षा ९ सम्म गाउँमै पढेका उनी एसएलसी दिने बेला पुर्कोट दहस्थित पृथ्वी माविमा तत्कालीन गाउँका पञ्चहरूले परीक्षा दिन रोकेपछि केही साथीसँग भारतको बनारसमा गए। त्यहीँबाट उनको बीएसम्मको पढाइ पूरा भयो। 

भारतमा उनले २१ वर्ष बिताए। त्यहाँ हुँदा पनि पार्टी संगठनको काममा व्यस्त भए। अखिल भारत प्रवासी नेपाली संघ र अखिल भारत स्वतन्त्र विद्यार्थी युनियन (अभानिस्ववियु)को सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष र केन्द्रीय पार्टी कार्यालय सचिवको जिम्मेवारी पूरा गरे। भारतमा हुँदा पनि उनी प्रवासी नेपालीहरू बीचमा परिरिचत थिए। पार्टीको पूर्णकालीन कार्यकर्ता (होलटाइमर) भएर पनि उनले काम गरे।

एक दशक बढी समय भारतमा बिताएर उनी ०६५ सालमा नेपाल फर्किए। माओवादीका पन्थी ०७४ मा प्रत्यक्ष चुनाव लडेर प्रदेस सांसद् जिते। २०७५ मा एमाले र माओवादी पार्टी एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। तीन वर्षमै नेकपा फुटेर एमाले माओवादी आआफ्नो बाटो लागे। तर, माओवादीका पन्थी एमालेमै बसे। ‘माओवादीबाट आएका केही साथीहरू नेकपा एकताको निरन्तरता भनेर लाग्यौं’, पन्थी सुनाउँछन्, ‘माओवादीको चुनाव चिन्हबाट निर्वाचन जितेको भनेर पार्टीले कारबाही गरेर सांसद् पद खोस्यो। दुई वर्ष गुल्मी २(२) प्रदेश 
सांसदविहीन भयो।’

कम्युनिस्ट पार्टीहरू फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ भन्ने मान्यताबाट कत्ति पनि बिचलित थिएनन् पन्थी। तर, उनको चाहना केही नेताहरूका कारण पूरा हुन पाएन। माओवादीमा हुँदा उनी ०७० सालमा गुल्मी, पाल्पा र अर्घाखाँचीको संयुक्त पार्टी इन्चार्ज थिए। नेकपामा हुँदा पनि उनी गुल्मी इन्चार्ज थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.