उद्यमशीलतामा उदाएकी नेता

कर्मशील नारी

उद्यमशीलतामा उदाएकी नेता

वीरेन्द्रनगर : दैलेखको चामुण्डामा २०३६ सालमा जन्मिएकी टीका अधिकारीको २०५१ सालमै विवाह भयो । १५ वर्षको कलिलै उमेरमा गाउँकै टेक अधिकारीसँग उनी विवाहबन्धनमा बाँधिइन् । सानैमा विवाह भएपछि पढाइलेखाइले गति लिन सकेन ।

२०५६ सालमा उनको परिवार बालबालिकाको शिक्षा र सुविधाका हिसाबले सुर्खेत वीरेन्द्रनगरमा बसाइँ सर्‍यो । श्रीमान्को पढाइ भएकाले उनले घरमै उद्यमशीलता सुरु गरिन् । एक भैंसी, दुई बाख्रा र तरकारी व्यवसाय गर्न थालेपछि उनको परिवारले पनि साथ र सहयोग गर्‍यो । उनले घरमा थोरै लगानीबाट सुरु गरेको उद्यमले राम्रो कमाई हुन थाल्यो । परिवारहरूले पनि साथ दिँदै गयो ।

सधैं आफ्नो कामलाई नै बढी महत्व दिने उनी घरकी प्यारी बुहारी बनिन् । समयसँगै समाजमा पनि लोकप्रिय महिला बन्दै गइन् । गाउँका महिलाको सरसल्लाहमा उनकै नेतृत्वमा २०६७ सालमा ५० जना महिला आबद्ध बहिनी समूह गठन गरिन् । उक्त समूहमा बचत गर्ने र गाउँका उद्यमी महिलालाई सहयोग गर्ने गर्दै उनले त्यसको परिचालनमा नेतृत्वदायी भूमिका निभाइन् । सानो सानोबाट बचत गरेको रकम धेरै बन्दै गएपछि उनले २०६९ सालमा ९० जना महिला सदस्य बनाएर सम्झौता सामाजिक उद्यमी महिला सहकारी नै दर्ता गरिन् । जुन सहकारीले गाउँका धेरै महिलालाई उद्यमी बनाइदियो । कतिका त परदेश जानुपर्ने बाध्यता नै टर्‍यो ।

टीका गाउँकी अब्बल महिला उद्यमी हुन् । उनले आफ्नो घरमा पनि १५ वटा बाख्रा, बंगुर, कुखुरापालन तथा तरकारी खेती गरिन् । जसबाट उनको परिवारको खर्चका साथै छोरा छोरी पठनपाठनमा सहजता भयो । उनले सहकारीमार्फत आफूसँगै अन्य महिलालाई पनि उद्यमी बनाउन सहयोग गरिन् । उनकै नेतृत्वमा सहकारीमार्फत सिलाइकटाइ व्यवसायका साथै डेरी उद्योग पनि सञ्चालनमा छ ।

टीका उद्यमीमात्र बनिनन्, उद्यमी महिलाको नेता पनि बनिन् । उनले २०६७ सालमा गाउँमा आफ्नै अगुवाइमा मासिक सय रुपैयाँ उठाउने समुह बनाइन् । उनले यो समूहको नेतृत्वमात्रै गरिनन्, गाउँकै नेता भइन् । अहिले गाउँलेले केही समस्या पर्नासाथ उनैलाई सम्झिन्छन् । उनले नेतृत्व गरेको उक्त सम्झौता महिला सहकारीमा हाल ६ सय ५१ जना महिला सदस्य छन् । सबैले मासिक २ सयभन्दा माथि इच्छाअनुसार बचत गर्ने गरेका छन् ।

सहकारीको वार्षिक कारोवार २ करोड ५० लाख छ । ऋण लगानी मात्र १ करोड ३० लाख छ । जसबाट झन्डै २ सय जना महिलाले विभिन्न उद्यम गर्ने गरेका छन् । उनीहरूले खासगरी तरकारी खेती, पशुपालन, सीपमूलक काम, डेरी उद्योगलगायतका उद्यमहरू गरिरहेका छन् । टीका गाउँकै प्रेरणादायी महिला उद्यमीका रूपमा परिचित छन् । सहकारीमा ६ जनाले रोजगारी पनि पाएका छन् ।

उक्त सहकारीबाट दिदीबहिनी सिलाइकटाइ सेन्टरका साथै डेरी उद्योग पनि सञ्चालनमा छ । सेन्टरमा १२ जना र डेरी उद्योगमा ६ जना गरी १८ जनाले रोजगारी पाएका छन् । अहिले त यो सहकारी गाउँका महिलालाई उद्यमी बनाउन सहयोग गर्ने मुख्य आधार बनेको छ । टीका पनि सहकारी अभियानसँगै घरमा बाख्रापालन, कुखुरापालन, तरकारी खेतीका साथै महिलालाई उद्यमी बनाउने अभियानमा लागेकी छन् । उनी अहिले सामाजिक उद्यमी महिला सञ्जाल नेपालकी केन्द्रीय अध्यक्ष छन् । उक्त सञ्जालमा नेपालभरिका २ सय १८ सहकारी संस्थाहरू आबद्ध छन् । जुन सहकारीमा चार लाखभन्दा बढी उद्यमी परिवारहरू सदस्य छन् ।

उनले महिला उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सामाजिक उद्यमी महिला सञ्जालबाट मुलुकका ७ वटै प्रदेश र विभिन्न जिल्ला भ्रमण गरिसकेकी छन् । जहाँ उनले प्रदेश सरकारहरूलाई उद्यमशीलता विकासका लागि आवश्यक नीति निर्माण र महिला उद्यमीलाई सहयोग गर्न वकालत पनि गर्ने गरेकी छन् । उनले भनिन्, ‘हामी सामाजिक उद्यमी महिला सञ्जाल नेपालमार्फत नेपालभरका महिलालाई उद्यमी बनाउने अभियानमा छौं । घरमा फुर्सदिलो भएर परिवारको हिंसा सहेर बस्नुभन्दा आफ्नो क्षमताअनुसार उद्यमशीलतामा लागेर आत्मनिर्भर बन्न महिलालाई जागरण दिने अभियान चलाइरहेका छौं । यसले समाजमा भइरहेको हिंसा, दुव्र्यवहार न्यूनीकरणका साथै महिलालाई आफ्नो खुट्टामा उभिन प्रेरणा मिलेको छ ।’

महिला उद्यमी सहकारी संस्थाहरू ऐक्यबद्ध भई सशक्त महिलाको नेतृत्वमा महिला उद्यमी व्यवसाय, उद्योग, सहकारी विश्वविद्यालय र उद्यमी बैंक स्थापना गर्ने लक्ष्य रहेको उनी बताउँछिन् । महिला उद्यमीको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै सामाजिक पुँजी निर्माण गर्ने, वित्तीय क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्ने, महिलाद्वारा गरिएका उत्पादन र बजारीकरणलाई प्रवद्र्धन गर्दै समुन्नत समाजको निर्माण गर्ने आफ्नो उद्देश्य रहेको उनले बताइन् । उनका अनुसार अबको १० वर्षमा नेपालभरिका १५ लाख सदस्यसहित एक हजार महिला उद्यमी सहकारी संस्था सामाजिक उद्यमी महिला सञ्जाल नेपालमा आबद्ध गराउने लक्ष्य छ । सुलभ ऋण र बिमा सेवाको लागि कम्तीमा २० अर्बको पुँजीसहितको एउटा महिला उद्यमी बंैकको स्थापना गर्ने उनको योजना छ ।

यस्तै महिला उद्यमीको नेतृत्वमा एउटा उद्यमी विश्वविद्यालय स्थापना गर्ने, नेपालका मुख्य सहरी क्षेत्रमा ७ वटा कृषिजन्य वस्तुहरूको थोक संकलन केन्द्र र ५ वटा कृषिमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने र सामाजिक, आर्थिक, राजनीतिकलगायतका क्षेत्रमा उद्यमी महिलाको नेतृत्व वृद्धि गर्न पहल गर्ने उनले जनाइन् । यस्तै सञ्जालमा आबद्ध सहकारीको कुल पुँजी १ अर्ब ५० खर्ब पुर्‍याउने, राष्ट्रिय स्तरको दुग्ध उद्योग स्थापना, कृषि तथा पशुउपज उद्योग स्थापना गर्ने पनि उनको लक्ष्य छ ।

उनी भन्छिन्, ‘उद्यम गर्नेहरूलाई उद्यमशीलता, ज्ञान, सीप र सकारात्मक सोच आवश्यक पर्छ । उद्यम गर्नेहरूमा धैर्य र लगनशीलता पनि हुनुपर्छ । सानातिना कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न सक्नुपर्छ । निराश नभई आफूले सोचेका कामहरू सार्थक बनाउन मेहनत र निरन्तरता दिन सक्नुपर्छ ।’ व्यक्तिगत, साझेदारी, सहकारी तथा सामूहिक प्रयासबाट उद्यमशीलता वा व्यवसायको विकास गर्न सकिने उनको धारणा छ । ‘स्थानीय स्तरमा उपलब्ध, श्रम, साधनस्रोत, पुँजी तथा प्रविधिको उपयोगको साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । प्रदेश सरकारले महिला उद्यमशीलतालाई लक्षित नीति तथा कार्यक्रम तर्जुमा गरी उद्यमशीलता विकासमा लगानी गर्नु आवश्यक छ’, उनले भनिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.