वीरेन्द्रनगर : दैलेखको चामुण्डामा २०३६ सालमा जन्मिएकी टीका अधिकारीको २०५१ सालमै विवाह भयो । १५ वर्षको कलिलै उमेरमा गाउँकै टेक अधिकारीसँग उनी विवाहबन्धनमा बाँधिइन् । सानैमा विवाह भएपछि पढाइलेखाइले गति लिन सकेन ।
२०५६ सालमा उनको परिवार बालबालिकाको शिक्षा र सुविधाका हिसाबले सुर्खेत वीरेन्द्रनगरमा बसाइँ सर्यो । श्रीमान्को पढाइ भएकाले उनले घरमै उद्यमशीलता सुरु गरिन् । एक भैंसी, दुई बाख्रा र तरकारी व्यवसाय गर्न थालेपछि उनको परिवारले पनि साथ र सहयोग गर्यो । उनले घरमा थोरै लगानीबाट सुरु गरेको उद्यमले राम्रो कमाई हुन थाल्यो । परिवारहरूले पनि साथ दिँदै गयो ।
सधैं आफ्नो कामलाई नै बढी महत्व दिने उनी घरकी प्यारी बुहारी बनिन् । समयसँगै समाजमा पनि लोकप्रिय महिला बन्दै गइन् । गाउँका महिलाको सरसल्लाहमा उनकै नेतृत्वमा २०६७ सालमा ५० जना महिला आबद्ध बहिनी समूह गठन गरिन् । उक्त समूहमा बचत गर्ने र गाउँका उद्यमी महिलालाई सहयोग गर्ने गर्दै उनले त्यसको परिचालनमा नेतृत्वदायी भूमिका निभाइन् । सानो सानोबाट बचत गरेको रकम धेरै बन्दै गएपछि उनले २०६९ सालमा ९० जना महिला सदस्य बनाएर सम्झौता सामाजिक उद्यमी महिला सहकारी नै दर्ता गरिन् । जुन सहकारीले गाउँका धेरै महिलालाई उद्यमी बनाइदियो । कतिका त परदेश जानुपर्ने बाध्यता नै टर्यो ।
टीका गाउँकी अब्बल महिला उद्यमी हुन् । उनले आफ्नो घरमा पनि १५ वटा बाख्रा, बंगुर, कुखुरापालन तथा तरकारी खेती गरिन् । जसबाट उनको परिवारको खर्चका साथै छोरा छोरी पठनपाठनमा सहजता भयो । उनले सहकारीमार्फत आफूसँगै अन्य महिलालाई पनि उद्यमी बनाउन सहयोग गरिन् । उनकै नेतृत्वमा सहकारीमार्फत सिलाइकटाइ व्यवसायका साथै डेरी उद्योग पनि सञ्चालनमा छ ।
टीका उद्यमीमात्र बनिनन्, उद्यमी महिलाको नेता पनि बनिन् । उनले २०६७ सालमा गाउँमा आफ्नै अगुवाइमा मासिक सय रुपैयाँ उठाउने समुह बनाइन् । उनले यो समूहको नेतृत्वमात्रै गरिनन्, गाउँकै नेता भइन् । अहिले गाउँलेले केही समस्या पर्नासाथ उनैलाई सम्झिन्छन् । उनले नेतृत्व गरेको उक्त सम्झौता महिला सहकारीमा हाल ६ सय ५१ जना महिला सदस्य छन् । सबैले मासिक २ सयभन्दा माथि इच्छाअनुसार बचत गर्ने गरेका छन् ।
सहकारीको वार्षिक कारोवार २ करोड ५० लाख छ । ऋण लगानी मात्र १ करोड ३० लाख छ । जसबाट झन्डै २ सय जना महिलाले विभिन्न उद्यम गर्ने गरेका छन् । उनीहरूले खासगरी तरकारी खेती, पशुपालन, सीपमूलक काम, डेरी उद्योगलगायतका उद्यमहरू गरिरहेका छन् । टीका गाउँकै प्रेरणादायी महिला उद्यमीका रूपमा परिचित छन् । सहकारीमा ६ जनाले रोजगारी पनि पाएका छन् ।
उक्त सहकारीबाट दिदीबहिनी सिलाइकटाइ सेन्टरका साथै डेरी उद्योग पनि सञ्चालनमा छ । सेन्टरमा १२ जना र डेरी उद्योगमा ६ जना गरी १८ जनाले रोजगारी पाएका छन् । अहिले त यो सहकारी गाउँका महिलालाई उद्यमी बनाउन सहयोग गर्ने मुख्य आधार बनेको छ । टीका पनि सहकारी अभियानसँगै घरमा बाख्रापालन, कुखुरापालन, तरकारी खेतीका साथै महिलालाई उद्यमी बनाउने अभियानमा लागेकी छन् । उनी अहिले सामाजिक उद्यमी महिला सञ्जाल नेपालकी केन्द्रीय अध्यक्ष छन् । उक्त सञ्जालमा नेपालभरिका २ सय १८ सहकारी संस्थाहरू आबद्ध छन् । जुन सहकारीमा चार लाखभन्दा बढी उद्यमी परिवारहरू सदस्य छन् ।
उनले महिला उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सामाजिक उद्यमी महिला सञ्जालबाट मुलुकका ७ वटै प्रदेश र विभिन्न जिल्ला भ्रमण गरिसकेकी छन् । जहाँ उनले प्रदेश सरकारहरूलाई उद्यमशीलता विकासका लागि आवश्यक नीति निर्माण र महिला उद्यमीलाई सहयोग गर्न वकालत पनि गर्ने गरेकी छन् । उनले भनिन्, ‘हामी सामाजिक उद्यमी महिला सञ्जाल नेपालमार्फत नेपालभरका महिलालाई उद्यमी बनाउने अभियानमा छौं । घरमा फुर्सदिलो भएर परिवारको हिंसा सहेर बस्नुभन्दा आफ्नो क्षमताअनुसार उद्यमशीलतामा लागेर आत्मनिर्भर बन्न महिलालाई जागरण दिने अभियान चलाइरहेका छौं । यसले समाजमा भइरहेको हिंसा, दुव्र्यवहार न्यूनीकरणका साथै महिलालाई आफ्नो खुट्टामा उभिन प्रेरणा मिलेको छ ।’
महिला उद्यमी सहकारी संस्थाहरू ऐक्यबद्ध भई सशक्त महिलाको नेतृत्वमा महिला उद्यमी व्यवसाय, उद्योग, सहकारी विश्वविद्यालय र उद्यमी बैंक स्थापना गर्ने लक्ष्य रहेको उनी बताउँछिन् । महिला उद्यमीको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै सामाजिक पुँजी निर्माण गर्ने, वित्तीय क्षेत्रमा महिलाको पहुँच वृद्धि गर्ने, महिलाद्वारा गरिएका उत्पादन र बजारीकरणलाई प्रवद्र्धन गर्दै समुन्नत समाजको निर्माण गर्ने आफ्नो उद्देश्य रहेको उनले बताइन् । उनका अनुसार अबको १० वर्षमा नेपालभरिका १५ लाख सदस्यसहित एक हजार महिला उद्यमी सहकारी संस्था सामाजिक उद्यमी महिला सञ्जाल नेपालमा आबद्ध गराउने लक्ष्य छ । सुलभ ऋण र बिमा सेवाको लागि कम्तीमा २० अर्बको पुँजीसहितको एउटा महिला उद्यमी बंैकको स्थापना गर्ने उनको योजना छ ।
यस्तै महिला उद्यमीको नेतृत्वमा एउटा उद्यमी विश्वविद्यालय स्थापना गर्ने, नेपालका मुख्य सहरी क्षेत्रमा ७ वटा कृषिजन्य वस्तुहरूको थोक संकलन केन्द्र र ५ वटा कृषिमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याउने र सामाजिक, आर्थिक, राजनीतिकलगायतका क्षेत्रमा उद्यमी महिलाको नेतृत्व वृद्धि गर्न पहल गर्ने उनले जनाइन् । यस्तै सञ्जालमा आबद्ध सहकारीको कुल पुँजी १ अर्ब ५० खर्ब पुर्याउने, राष्ट्रिय स्तरको दुग्ध उद्योग स्थापना, कृषि तथा पशुउपज उद्योग स्थापना गर्ने पनि उनको लक्ष्य छ ।
उनी भन्छिन्, ‘उद्यम गर्नेहरूलाई उद्यमशीलता, ज्ञान, सीप र सकारात्मक सोच आवश्यक पर्छ । उद्यम गर्नेहरूमा धैर्य र लगनशीलता पनि हुनुपर्छ । सानातिना कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न सक्नुपर्छ । निराश नभई आफूले सोचेका कामहरू सार्थक बनाउन मेहनत र निरन्तरता दिन सक्नुपर्छ ।’ व्यक्तिगत, साझेदारी, सहकारी तथा सामूहिक प्रयासबाट उद्यमशीलता वा व्यवसायको विकास गर्न सकिने उनको धारणा छ । ‘स्थानीय स्तरमा उपलब्ध, श्रम, साधनस्रोत, पुँजी तथा प्रविधिको उपयोगको साथै सीपमूलक तालिम र वित्तीय पहुँच विकास गरी उद्यमशीलता विकास गर्न सकिन्छ । प्रदेश सरकारले महिला उद्यमशीलतालाई लक्षित नीति तथा कार्यक्रम तर्जुमा गरी उद्यमशीलता विकासमा लगानी गर्नु आवश्यक छ’, उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस !