सत्यवतीकी गुरुआमा

सत्यवतीकी गुरुआमा

जीवनमा एउटा उद्देश्य लिएर सफा मनले परि श्रम गर्दै अगाडि बढेमा अवश्य सफलता मिल्छ। कहिलेकाहीँ त मानिसले सोचेभन्दा पनि बढी फल प्राप्त गर्न सक्छ। सफलताको लागि फरक सोच, अनवरत चिन्तन, कडा परि श्रम र कामप्रतिको बफादारिता आवश्यक छ। कैलालीको गोदावरी नगरपालिकाको अत्तरियास्थित सत्यवती एकेडेमीकी प्रिन्सिपल यशोदा ध्याडी पनि आफ्नो सफलताको सूत्र कडा मेहेनत नै रहेको बताउँछिन्। एउटा फरक सोच लिएर करिब १२ वर्षअगाडि १ सय १० जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा अहिले १९ सय ७६ जना विद्यार्थी पढिरहेका छन् भने १ सय २९ जनालाई उनले रोजगारी दिइरहेकी छिन्।

२०६९ सालको कुरा हो, धनगढीको ग्ली एकेडेमीमा अध्यापन गराइरहेकी यशोदालाई अत्तरियामा आफ्नै विद्यालय स्थापना गर्न मन लाग्यो। श्रीमान् वीरबहादुर कडायत, जेठाजु गिरिराज कडायत र कर्णबहादुर कडायतको साथ सहयोग मिल्नुका साथै परिवार पनि अत्तरिया क्षेत्रकै चिनिएको शैक्षिक परिवार हुनाले उनलाई आप्mनै क्षेत्रमा विद्यालय सुरु गर्न त्यति गाह्रो भएन।

ससुरा बाले धनगढीमा घर बनाउन दिनुभएको २० लाख रकमको बिउपुँजीबाट उनले २०६९ सालमा सत्यवती एकेडेमीको जग बसालिन्। मात्र २५ वर्षकै उमेरमा विद्यालय सुरु गरेकी यशोदाले धनगढीबाट विद्यालय रेखदेख गर्न गाह्रो महसुस गरेपछि श्रीमान् र अढाई वर्षकी छोरीसहित आफ्नै घर अत्तरिया बसाइ सरिन्।

‘विद्यालय सुरु गर्दा सरकारले नयाँ विद्यालय खोल्न रोक लगाएकाले कैलालीको बौनिया भन्ने ठाउँबाट पुरानो कक्षा ५ सम्मको विद्यालय किनेर उनले सुरु गरिन्। त्यतिबेला पुराना स्थापित विद्यालयसँग प्रतिस्पर्धा गर्दा यशोदाले धेरै मेहनत गर्नुपरेको थियो। तर अहिले कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १९ सय ७६ विद्यार्थी अध्यनरत रहेका, करिब १ सय २९ शिक्षक तथा कर्मचारीहरू आबद्ध रहनुका साथै भौतिक सुविधा तथा शैक्षिक गुणस्तरमा सुदूरपश्चिम क्षेत्रकै परिचित भएकोमा उनी दंग छिन्। आफूले यस्तो सफलताको कल्पनासमेत नगरेको उनले सुनाइन्।

२०४२ सालमा लक्ष्मीनगर—७ जोराएल डोटीमा पाँचौं सन्तानको रूपमा जन्मिएकी यशोदा परिवारमा पढ्नुपर्छ भन्ने मान्यताले धनगढीको स्टेपिङ स्टोनबाट एसएलसी पूरा गरिन्। उनी सुदूरपश्चिमाञ्चल एकेडेमीबाट प्लस टु पास गर्न सफल भइन्। स्नातक पढ्दा पढ्दै विवाहबन्धनमा बाधिएकी यशोदाले एक कुशल शिक्षक, ममतामयी आमा र असल पत्नीको भूमिका निभाइन्। यसका साथै एक असल विद्यार्थी बन्दै उनले काठमाडौं विश्वविद्यालयबाट लिडरसिपमा एमफिल गर्दैछिन्।

सुरुका दिनमा आफैं प्रधानअध्यापक भई अभिभावक सम्हालेको, आफैं लेखापाल भई फिस उठाएको, आफैं शिक्षक भई सात पिरियड पढाएको, आफैं पाले भइ विद्यालयको सुरुक्षा गरेको, आफैं परिचर भई झाडु लगाएको र श्रीमान्को तलब ल्याएर शिक्षक कर्मचारीलाई तलब दिएको यशोदा स्मरण गर्छिन्।

पहिलो वर्ष १ सय १० जना विद्यार्थीबाट सुरु गरे पनि अर्को वर्ष सय जना विद्यार्थी बढे। पहिलो पाँच वर्षसम्म वर्षमा सय जनाको हाराहारीका दरले विद्यार्थी बढ्न थाले। तर यशोदाको प्रण र पढाइको गुणस्तरका कारण सत्यवतीमा अहिले १९ सय ७६ विद्यार्थी छन्। यसपालि एसईई दिनेमात्रै ८२ जना विद्यार्थी छन्।

सत्यवतीमा २०७५ सालबाट एसएलसीको ब्याच सुरु भएको हो। उसको पहिलो वर्षकै रिजल्ट राम्रो आयो। त्यसपछि कहिल्यै पछाडि फर्किनु परेन। गत वर्ष पनि एक जना विद्यार्थीले ४ जीपीए ल्याएको यशोदा बताउँछिन्।

विद्यालय व्यवसायमात्र होइन, यो एउटा पवित्र समाजसेवा पनि हो। यसको सही व्यवस्थापन भयो भने एउटा असल व्यक्ति मात्र बन्दैन परिवार समाज हुदै सबल देश पनि बन्न सक्छ भन्ने उनको धारणा छ। यही मान्यताका साथ आफूले स्वास्थ्य, संस्कार र शिक्षा भन्ने मूलमन्त्र लिएर कार्य गरेको उनी बताउँछिन्।

यशोदाका बुवा देवसिंह ध्याडी आफ्नो पालाका व्यापारी हुन्। उनको जोरायलको खैरीखोलामा पसल थियो। सामान लिन उनी तराई झरिरहने भएकाले पनि उनले तराईमा यशोदासहितका छोराछोरीलाई पढ्न धनगढी झारेका हुन्। यशोदा तीन वर्षको उमेरमा धनगढी आएकी हुन्।

‘हामी दसैं, तिहारका बेला जोरायल जान्थ्यौं, तर त्यतिबेला पनि बुवाले गाउँबाट शिक्षक खोजेर हामीलाई पढाउन भन्नुहुन्थ्यो, गाउँमा गएका बेला पनि बच्चाहरूलाई व्यस्त राख्नुपर्छ भन्ने भावना बुवाको थियो’, उनले भनिन्।

जोरायलमा रहेको पसल देवसिंहले पछि भीमदत्त पन्त राजमार्गमा पर्ने फल्टुडे भन्ने स्थानमा सारे। उनले फल्टुडेमा २८ पसल गरेर यशोदासहितका छोराछोरीलाई धनगढी पढाएका हुन्। देवसिंह कांग्रेस निकटका व्यक्ति हुन्। उनी नेता बन्न चाहन्थे तर छोराछोरीको पढाइका कारण उनको इच्छा पूरा हुन सकेन। नेता बनेमा व्यापार चौपट हुने र व्यापार चौपट भए छोराछोरीको पढाइ छुट्ने डरले उनी नेता बनेनन्।

उनको इच्छा भने आफ्नो कुनै सन्तान नेता बनोस् भन्ने थियो। ‘बुवाले मलाई नेता बन्नुपर्छ भन्नुहुन्थ्यो। राजनीतिमा आएर देशको सेवा गर्नुपर्छ भन्नुहुन्थ्यो। त्यो भएन भने पनि ‘ल’ पढेर जबरजस्त वकिल बन्नुपर्छ भन्नुहुन्थ्यो। तर मैले व्यवस्थापन पढें। यस सत्यवतीको व्यवस्थापनतिर लागें’, यशोदाले भनिन्, ‘हामी ६ भाइबहिनीमध्ये कोही पनि नेता बनेनौं, बुवाको इच्छा अधुरै रहेजस्तो लागिरहन्छ।’

अहिले यशोदाको व्यस्ताताको सीमा छैन। नर्सरीदेखि १२ कक्षासम्मको विद्यालय हाकिरहेकी उनलाई दिनमा  सयभन्दा बढी अभिभावक, सामाजिक व्यक्तिहरू भेट्न आउँछन्। कहिले त खाना खाने फुर्सदसमेत हुँदैन उनलाई।

एक छोरा र एक छोरीकी आमा, १९ सय ७२ विद्यार्थीकी गुरुआमा, सासूससुराकी प्यारी बुहारी र एक श्रीमतीको भूमिकामा पनि यशोदा अब्बल छिन्। ‘परिवारको साथ, अभिभावकको माया र विद्यार्थीको लगन नै मेरो सम्पत्ति हो जस्तो लाग्छ। छोराछोरीको भविष्यका लागि चिन्तित हुँदै आएका सैयौं अभिभावक, मेरो कार्यकक्षमा आएर भेटघाट गर्दा गर्वको महसुस हुन्छ’, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.