काँडेतारले छेकेन, करेन्टले नि तर्साएन मृग र भालुलाई

काँडेतारले छेकेन, करेन्टले नि तर्साएन मृग र भालुलाई
सुन्नुहोस्

गोरखा : घोरल, झारल, नाउर, मृग, भालुले खेतीबाली सखाप पारेपछि पाँच वर्षअघि चुमनुब्री गाउँपालिकाले बारीको वरिपरि तारबार गर्ने नीति तथा कार्यक्रम घोषणा गर्‍यो। वडा कार्यालयमार्फत कार्यक्रम कार्यान्वयन पनि भयो। 

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले पनि जंगली जनावरलाई खेतीबालीमा पस्न नदिन तारबारको कार्यक्रम कार्यान्वयन गर्‍यो। सामान्य झड्काले जंगली जनावरलाई तर्साउन तारबारमा कम क्षमताको करेन्ट जोडेर छाड्यो।

यति गर्दा पनि हिमाली भेगका किसानले जंगली जनावरबाट खेतीबाली जोगाउन सकेनन्। ‘घोरल, झारल, मृग, बाँदर, भालुहरू करेन्टको पनि वास्ता नगरी खेतीबालीमा पुग्दा रहेछन्’ चुमनुब्री गाउँपालिका ४ छाकका लाक्पा लामाले भने, ‘जाली राखेको भए बरु जोगिन्थ्यो कि, काँडेतारले त छेक्न सकेन। किसानको गहुँ, जौ, करु, मकै जंगली जनावरबाट जोगाउन सकिएन।’ किसानहरू आजित भएको उनको भनाइ छ। 

हिमाली भेगमा लगाएका बाली जंगली जनावरले खाएपछि किसानहरू खेती गर्न छाड्न बाध्य भएको क्वाक गाउँकी उर्गेन डोल्माको भनाइ छ। ‘उम्रिने बित्तिकै घोरल, झारल, मृगले खाइदिन्छ। तिनीहरूबाट जोगिएर फलेको बाली भालु र बाँदरले खाइदिन्छ। हामी किसानले के खाने ?’, उनी भन्छिन्, ‘जति गर्दा पनि खेतीबाली जोगाउन नसकेपछि अहिले गाउँका धेरै बारीहरू बाँझै छन्।’ गाउँबस्ती वरिपरिका बारीहरूमा खेती गरे पनि टाढाटाढाका बारीहरू वर्षौंदेखि बाँझै बसेको उनले बताइन्। पाँच वर्षअघि गप र प्रोकका केही बारीहरूमा तारजाली लगाउन सुरु गरे पनि क्वाक, छाकलगायतका गाउँहरूमा जाली लगाउन नसकेको पूर्ववडाअध्यक्ष पेमा डुन्डुप लामा बताउँछन्। ‘काँडेतार लगाएको पहिलो वर्ष बाली जोगिएको थियो, तर दोस्रो वर्षदेखि फेरि काँडेतारबाट भित्र छिर्न सिकेछन्’, उनले भने, ‘जहाँ–जहाँ तारजाली लगाइएको छ, त्यहाँ–त्यहाँको बाली जोगिएका छन्। यदि सबै बारीहरूमा काँडेतारका सट्टा तारजाली लगाउन सकेको भए जोगिने रहेछ।’ गाउँपालिका, वडा कार्यालयले अहिले पनि तारजाली लगाउनु आवश्यक रहेको उनको भनाइ छ।

मनास्लु क्षेत्रलाई अहिंसा क्षेत्र(स्याग्या) घोषणा गरिएको छ। स्याग्याको पञ्चशीलमा प्राणीलाई मार्न तथा कुटपिट गर्न नपाउने उल्लेख छ। ‘स्याग्याको नियम अनि संरक्षण क्षेत्रको नियमअनुसार खेतीबाली विनाश गर्ने जंगली जनावरलाई मार्न, ढुंगामुढा गर्न पनि पाइँदैन’, चुमनुब्री २ का वडाअध्यक्ष मिङयुर लामाले भने, ‘त्यसैले किसानहरू साह्रै मर्कामा छन्। सामान्य खालको करेन्ट लगाएर जालीले घेरे खेतीबाली जोगाउन सकिन्छ, नत्र जोगाउन सकिँदैन।’ धेरै किसानहरू खेतीपाती छोडेर पलायन हुने अवस्थामा पुगेका उनले बताए।

पूरै खेतीयोग्य बारीलाई तारजालीले घेर्न धेरै महँगो पर्ने भएकाले योजना तर्जुमा गर्न समस्या भएको एमक्यापका प्रमुख सन्तोष शेरचनले जानकारी दिए। ‘अर्को वर्ष तारजालीले घेर्ने कार्यक्रम राख्ने प्रयास गर्छौँ’, उनले भने। जंगली जनावरका कारण खेतीपाती गरेर खान किसानहरूलाई असाध्यै समस्या भएको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए। ‘वडाअध्यक्षज्यूहरूबाट पनि कार्यपालिका बैठकमा यस बिषयमा कुरा उठिरहका छ’, लामाले भने, ‘यसको बारेमा विस्तृत अध्ययन गरेर दीर्घकालीन समाधान खोज्नु जरुरी छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.