समयसीमाभन्दा अगावै काम सक्ने ठेकेदार सम्मानित
गोरखा : ठेक्का सम्झौतामा उल्लेख भएको समय सकिन सात महिना बाँकी छँदै मोटरेबल पुल निर्माण गरेका एक निर्माण व्यवसायी सम्मानित भएका छन्।
पालुङ्टार नगरपालिका-९ ढुंगेटारीस्थित खारखोला पुल निर्माण गरेका निर्माण व्यवसायी मिलन खड्कालाई पूर्वाधार विकास कार्यालय गोरखाले सम्मान गरेको हो।
मंगलबार आयोजित पुल उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले निर्माण व्यवसायी खड्कालाई सम्मान गरेका पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए।
मुख्यमन्त्री पाण्डेले प्रशंसापत्र सहित खड्कालाई सम्मान गरेका कार्यालय प्रमुख सुवेदीले बताए। निर्माण व्यवसायी खड्कालाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले राम्रो काम गर्नेहरू सम्मानित र नराम्रो काम गर्नेहरू दण्डित हुनुपर्ने उल्लेख गरे। पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले समयभित्रै निर्माण पूरा भएका परियोजनामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने बताएका छन्। ठूला विकास योजनामा निर्माण कम्पनी कस्तो छ, व्यवसायी कस्तो पर्छ र काम कसरी हुन्छ भन्ने विषयले ठूलो प्रभाव पार्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ।
श्रीगणेश अमृत जेभी कम्पनीले ठेक्का सम्झौतामा उल्लेख भएको समय समाप्त हुन सात महिना बाँकी छँदै सो पुलको निर्माण कार्य सम्पन्न गरेको थियो। १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको कम्पनीले गत फागुनमा निर्माण सम्पन्न गरेको हो।
फागुनको पहिलो हप्ताभित्र पुल निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताए। सो पुल निर्माणको काम गत वैशाख ५ गतेदेखि आरम्भ भएको उनले जानकारी दिए।
२५ मिटर लामो र ८.४ मिटर चौडाइ रहेको ढुंगेटारीस्थित खारखोला पुलको लागत दुई करोड ७५ लाख रहेको पूर्वार्धार कार्यालय प्रमुख सुवेदीको भनाइ छ। प्रदेश सरकारको सहयोगमा पुल निर्माण भएको हो। सो पुल बनेपछि जिल्ला सदरमुकाम जाने पालुङटार नगरपालिका वडा नं. ६, ९ र १० का सयौं घरधुरीका बासिन्दा लाभान्वित हुनेछन्।
प्रतिक्रिया दिनुहोस !