तीन सिने हस्तीको ‘पहाड’मा भेट
गोरखा : मदनकृष्ण श्रेष्ठ, तुलसी घिमिरे र सुनील थापा नेपाली रंगमञ्चका तीन खम्बा हुन्। यी खम्बाहरूको अपूर्व भेट नेपाली कथानक चलचित्र ‘पहाड’मा भएको छ। उनीहरू बिगत एक महिनादेखि गोरखामा चलचित्र छायांकनमा व्यस्त छन्।
‘सुनील र मेरो भेट चिनोपछि भएको थिएन। ३५ वर्षपछि पहाडले भेट जुराएको छ’, चलचित्र पहाडका निर्माता तथा निर्देशकसमेत रहेका तुलसी घिमिरेले भने, ‘मदन दाइ, सुनील र मेरो तीनैजनाको एकसाथ भेट त यो अपूर्व हो।’
‘पहाड’मा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका कलाकारहरूको जमघट भएको उनको भनाइ छ। ‘पहाडमा मदनदाई, सुनीलजीदेखि अहिलेका अत्यन्त लोकप्रिय रवीन्द्रसिंह बानियाँ, विपिन कार्की, प्रियंका कार्की, पञ्चमी घिमिरेसम्मका कलाकारहरूको जमघट छ’, निर्देशक घिमिरेले भने।
निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले यस चलचित्रमा डेब्यू गरेकी छिन्। वैदेशिक रोजगारीका कारण रित्तिँदै गरेको पहाडको कथावस्तुमा आधारित यस चलचित्रको ८० प्रतिशत छायांकन गोरखाभित्र गरिएको छ। राष्ट्रिय विभूति भीमसेन थापाको जन्मस्थान पीपलथोकलाई केन्द्र बनाएर चलचित्र छायांकन गरिएको प्रोडक्सन मेनेजर अरुण रेग्मीले जानकारी दिए। ‘नेपालमा छायांकन गरिनेमध्ये ८० प्रतिशत काम सकियो’, उनले भने, ‘चलचित्रको २० प्रतिशत भाग मुम्बईमा छायांकन हुनेछ।’
यो चलचित्रले युवा जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड गुज्रिरहेको छ, यसले पहाडी जनजीवनलाई केकस्तो प्रभाव पार्छ ? के कस्तो सामाजिक, आर्थिक, सांस्कृतिक परिवर्तन झेल्नुपर्छ ? भन्ने कथाबस्तु चित्रण गर्ने रेग्मीले बताए। साथै युवा आफ्नै थातथलो फर्कनुपर्छ भन्ने सन्देश रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !