बूढीगण्डकी जलविद्युत् आयोजनाद्वारा खोर्लाबेशीमा बेलिब्रिज शिलान्यास

बूढीगण्डकी जलविद्युत् आयोजनाद्वारा खोर्लाबेशीमा बेलिब्रिज शिलान्यास
सुन्नुहोस्

गोरखा : ३४१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न लागेको साहस ऊर्जाले खोर्लाबेशीमा बेलिब्रिज निर्माण सुरु गरेको छ। धार्चे गाउँपालिका-३ खोर्लावेशीमा निर्माण गर्न लागिएको बेलिब्रिजको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले शिलान्यास गरेका हुन्।

साहस ऊर्जाका प्रबन्ध निर्देशक हिम पाठकले तीन महिनाभित्र पुल बनाइसक्ने बताए। पाँच करोड लागतमा पुल निर्माण गर्न लागिएको हो। उनका अनुसार पुल तथा जलविद्युत् आयोजना निर्माणको काम टाइम इनर्जीले गर्नेछ। 

साहस ऊर्जाले चुमनुब्री र धार्चे भएर बग्ने बूढीगण्डकीमा ३४१ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्न लागेको हो। पाँच वर्षभित्र विद्युत उत्पादन गर्ने पाठकले घोषणा गरेका छन्। ‘यो हाम्रो सामाजिक उत्तरदायित्वको बजेट अन्तर्गतको काम हो’, उनले भने, ‘पुल निर्माण सम्पन्न भएलगत्तै हामी चुमनुब्री ३ को सल्लेरीमा आयोजनाको बाँध खन्न सुरु गर्नेछौं।’

खोर्लावेशीमा पुल बनेपछि नेपाली सेनाले निर्माण गरेको बेनिघाट, आरुघाट, लार्के सडकको माछाखोला सल्लेरी सडकखण्डमा हिउँद बर्खामा निर्बाध रूपमा गाडी सञ्चालन हुने उनले बताए। ‘आयोजनाको बाँध जगत र सल्लेरीको बीचमा रहनेछ’, उनले भने, ‘पावर हाउस चाहिँ तातोपानीको भत्किएको पुल छेउमा निर्माण हुनेछ। बाँधदेखि पावर हाउससम्मको दूरी ६.८ किलोमिटर रहनेछ। नहर सबै भूमिगत सुरुङभित्र निर्माण हुनेछ।’

उत्पादित विद्युत् नुवाकोटको रातामाटे सब–स्टेशन लगेर जोड्ने उनले बताए। आयोजनाको कूल लागत ७० अर्बमध्ये ७५ प्रतिशत बैंकले लगानी गर्ने पाठकले बताए। बाँकी २५ प्रतिशतको व्यवस्था गरिरहेको उनको भनाइ छ। जसमा स्थानीयवासीको सेयर र आईपीओ पनि खुला गर्ने तयारी गरेको उनले बताए। ‘हामी छिट्टै कम्पनी खडा गरेर स्थानीयलाई सेयर आह्वान गर्नेछौँ’, उनले भने, ‘धेरै थोरै सेयर खरिद गरी लगानी गर्न स्थानीयवासीलाई अनुरोध गर्छु।’

अहिले आयोजना डिजाइनको अन्तिम चरणमा रहेको उनले बताए। कार्यालय स्थापना गर्न खोर्लावेशीमा ९ रोपनी जग्गा खरिद गरिसकेका छौँ’, उनले भने, ‘१७ सय  रोपनीको मुआब्जा दिने तयारी टुंगिन लागेको छ।’

पुल शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले आयोजनामा स्थानीयवासीलाई अल्पकालीन तथा दीर्घकालीन रोजगारीको व्यवस्था गर्न आग्रह गरे। निर्माणका क्रममा क्षमता, दक्षता र सीप अनुसारको काम स्थानीयवासीले पाउनुपर्ने, आयोजना बनेपछि सञ्चालनका क्रममा रोजगारी दिन स्थानीयवासीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। 

साथै सामाजिक उत्तरदायित्व कोषअन्तर्गत निरन्तर विभिन्न विकास निर्माण तथा मर्मतसम्भारको काम गर्न कम्पनी प्रतिबद्ध रहनुपर्ने औँल्याए। आफ्नो ठाउँमा सञ्चालन भएको आयोजनामा स्थानीयवासीले धेरथोर सेयर लगानी गर्न पाउनुपर्ने पनि उनले बताए। ‘स्थानीय स्तरमा सञ्चालित आयोजनाका लागि स्थानीयवासीले लाभ पनि पाउनु पर्छ, सहयोग पनि गर्नुपर्छ’, उनले भने।

सो बेलिब्रिज निर्माण भएपछि धार्चे गाउँपालिका तथा चुमनुब्री गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन्। मनास्लु क्षेत्र जाने हजारौं विदेशी पर्यटकले पनि सुविधा पाउनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.