महेन्द्र मोरङको स्ववियु निर्वाचन: नेविसंघमा द्वन्द्व, क्रान्तिकारीलाई फाइदा

महेन्द्र मोरङको स्ववियु निर्वाचन: नेविसंघमा द्वन्द्व, क्रान्तिकारीलाई फाइदा

विराटनगर : विद्यार्थी राजनीतिको इतिहास बोकेको विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन परिणाम सत्तारुढ दलका विद्यार्थी संगठनले सोचेभन्दा फरक आएको छ। 

कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आफ्नो किल्ला मानेको महेन्द्र मोरङमा नेकपा (माओवादी केन्द्र)को भ्रातृसंस्था अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा सभापति जितेको छ। बिहीबार बिहान मतगणना सम्पन्न हुँदा क्रान्तिकारीका उम्मेदवार रोहित यादव स्ववियु सभापति निर्वाचित भए। स्ववियुमा क्रान्तिकारी विजयी हुनुको पछाडि नेविसंघ भित्रको आन्तरिक द्वन्द्व नै हो। 

आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेको नेविसंघ अन्ततः स्ववियुको नेतृत्व क्रान्तिकारीलाई सुम्पिन बाध्य भयो। स्ववियु चुनावअघि नेविसंघभित्र कांग्रेस सभापति शेरबहादुर देउवा अर्थात संस्थापन र नेता शेखर कोइराला अर्थात संस्थापनइतर पक्षबीचको विवाद छताछुल्ल भयो। दुई पक्षबीचको विवाद कुटाकुट, झडप र तोडफोडमा मात्रै सीमित रहेन। सभापतिको उम्मेदवारीसम्म पुग्यो। 

सभापतिमा सात जनाको उम्मेदवारी परेकोमा नेविसंघकै दुई जना थिए। संस्थापनबाट प्रज्वल विष्ट (हाक्कु) र इतर पक्षबाट योगदाज दाहालको उम्मेदवारी परेको थियो। निर्वाचन समितिले विष्टलाई मान्यता दियो। नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका दाहालले स्वतन्त्रको मान्यता पाए। 

विद्यार्थी राजनीतिको उद्गमस्थल रुपमा परिचित महेन्द्र मोरङको स्ववियु सभापतिमा एउटै विद्यार्थी संगठनबाट दुई जनाले उम्मेदवारी दिएको फाइदा क्रान्तिकारीले उठायो। क्रान्तिकारीका यादव १ हजार १ सय १८ मतसहित स्ववियु सभापति निर्वाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेविसंघका विष्ट १ हजार ७५ मतमा रोकिए। यादव र विष्टबीचको मतान्तर ४३ छ। 

तर, नेविसंघबाटै उम्मेदवारी दिएका दाहालले ६० मत पाए। प्राप्त मतको अवस्था हेर्दा एक जनाको मात्रै उम्मेदवारी परेको भए नेविसंघका उम्मेदवार १७ मतले विजयी हुने देखिन्छ। नेविसंघप्रति आस्था राख्ने तर, आन्तरिक लडाइँ नरुचाएका कतिपय विद्यार्थीले अरु नै उम्मेदवारलाई भोट दिएको चर्चासमेत छ। 

स्ववियुको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा (एमाले)को भ्रातृसंस्था अनेरास्ववियुका अनिष बोगटी २ सय ३२ मतसहित तेस्रो स्थानमा सीमित भए। अनेरास्ववियु (क्रान्तिकारी) बहुमतकी अनिषा राईले ३१, विद्यार्थी जनमत संघ मोरङका रूपेश सिंहले ३० र प्राज्ञिक विद्यार्थी परिषद् नेपालका विवश कटुवालले २० मत ल्याए। अर्कोतर्फ अखिल क्रान्तिकारीले सभापतिसहित एक जना सदस्य जितेको छ। सचिव, कोषाध्यक्ष र सदस्यसहित नौ जना नेविसंघका निर्वाचित भएका छन्। यसले पनि महेन्द्र मोरङमा नेविसंघ मजवुत थियो भन्ने देखाउँछ। तर, अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि मत बाँडियो। 

सचिवमा नेविसंघकी सुदीक्षा थापामगर ७ सय ४१ मतसहित विजयी भइन्। उनका निकटम प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियन नेपालका राकेशकुमार यादवले ५ सय ८८ मत पाए। कोषाध्यक्षमा नेविसंघका रोशनकुमार पासवान विजयी भए। पासवानले ८ सय ९३ मत ल्याउँदा प्रतिस्पर्धी अखिल क्रान्तिकारीका राजिव यादवले ८ सय २७ मत पाए।

सदस्यमा नेविसंघका मोहमद साइन, कौशलकुमार साह तेली, सुशान्त बस्नेत, नवीनबाबु तिवारी, रक्षक सुवेदी, एन्जिला काफ्ले र रामदत्तकुमार मेहता तथा क्रान्तिकारीका गौतमकुमार मण्डल निर्वाचित भएका छन्। निर्वाचनबाट प्राप्त समानुपातिक मतले पनि नेविसंघ बलियो रहेको पुष्टि हुन्छ। समानुपातिक निर्वाचन प्रणालीबाट नेविसंघलाई १ हजार १ सय ११ र अखिल क्रान्तिकारीलाई ८ सय ११ मत प्राप्त भएको छ। 

नेविसंघभन्दा ३ सय मतले कमजोर रहेको क्रान्तिकारीले अन्ततः सभापति जितिदियो। नेविसंघका केन्द्रीय सदस्य अभिषेक भट्टराई पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावमा पराजय बेहोर्नु परेको बताउँछन्। महेन्द्र मोरङ कुनै समय नेता उत्पादन गर्ने थलोको रुपमा चर्चित थियो। यसअघि २०६५ सालमा अखिल क्रान्तिकारीबाट जयराम सुन्दास विजयी भएका थिए। त्यसबेला अनेरास्ववियुसँग तालमेल गरेर अघि बढेको क्रान्तिकारीले अहिलेको चुनाव भने एक्लै पार लगाएको हो। 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं कोशी प्रदेशका चुनावी कमाण्डर अभिमन्यू यादवले यसपटक एक्लै चुनाव जितेर इतिहास रचेको बताए। महेन्द्र मोरङलाई २०६५ को अवस्थामा फर्काउन सक्नु ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ। स्ववियु सभापति जितेका यादव २०७९ सालमा पनि सभापतिका उम्मेदवार थिए। नेविसंघका जसवन्त पौडेलसँग पराजित भए। यसपटक भने पौडेलले नै उठाएका उम्मेदवारलाई निराश बनाउँदै उनले बाजी मारेका छन्। 

महेन्द्र मोरङमा ५ हजार ९ सय ८४ मतदाता थिए। मंगलबार सम्पन्न निर्वाचनमा २ हजार ६ सय ३१ मत खसेको थियो। यसपटकको स्ववियु निर्वाचनमा अपेक्षाभन्दा कम मतदान भएको छ। ५५ प्रतिशतभन्दा बढी मत खस्ने गरेको विगत छ। यसपटकको निर्वाचनमा ४३ दशमलव ९३ प्रतिशत मात्रै मत खसेको हो।

मोरङमा क्रान्तिकारी पहिलो 

विराटनगरको महेन्द्र मोरङसहित मोरङमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक गरेर १० वटा क्याम्पसमा चुनाव भएको थियो। जसमा चुनाव जितेर अखिल क्रान्तिकारी पहिलो भएको छ। क्रान्तिकारीले ३ वटा आंगिक क्याम्पससहित ५ वटामा विजय हासिल गरेको छ। 

३ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन्। महेन्द्र मोरङसँगै अखिल क्रान्तिकारीले त्रिविको आंगिक क्याम्पस विराटनगरस्थित डिग्री (स्नातकोत्तर) क्याम्पस, नर्सिङ क्याम्पस, कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस र मिक्लाजुङको मिक्लाजुङ क्याम्पसमा सभापति जितेको छ।
अखिल क्रान्तिकारीबाट उम्मेदवारी दिएकामध्ये सभापतिमा रमाइलो बहुमुखी क्याम्पसमा  अनिष कार्की, मिक्लाजुङमा सुजन घिमिरे, स्नातकोत्तरमा प्रितम साह र नर्सिङ क्याम्पसमा रोहितकुमार ताजपुरिया निर्वाचित भए। मिक्लाजुङ र स्नातकोत्तर क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ। 

उर्लाबारी क्याम्पसमा नेविसंघका पोषण आचार्य, पथरी बहुमुखी क्याम्पसमा नेविसंघका केशर राई तथा लेटाङ क्याम्पसमा नेविसंघका लेखनाथ दाहाल सभापति निर्वाचित भए। उर्लाबारी र पथरी बहुमुखी क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको हो। केराबारीस्थित खदम क्याम्पसको सभापतिमा अनेरास्ववियुका संगम कन्दङ्वा र सुकुना क्याम्पसको सभापतिमा अनेरास्ववियु गठबन्धनका एलिस ओझा विजयी भए। बेलबारी क्याम्पसको चुनाव भने विवादका कारण स्थगित भएको छ। 

सुकुना क्याम्पस: बाबुले ‘ह्याट्रिक’ गरे, छोरा सभापतिमा विजयी भए

मोरङको सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका एलिस ओझा निर्वाचित भए। त्यहाँ कम्युनिष्ट धारका सबै विद्यार्थी संगठनले गठबन्धन गरेर एलिसलाई उम्मेदवार बनाएका थिए। उनी ९ सय ८५ मतसहित विजयी हुँदा नेविसंघका उम्मेदवार विजय ओझा ६ सय ८६ मतमा रोकिए। 

तर, यो क्याम्पसको स्ववियु निर्वाचनमा गजबको संयोग छ। सभापतिमा निर्वाचित एलिस ओझा नेकपा (एमाले) मोरङका नेता तथा कोशी प्रदेशका पूर्वसांसद राजकुमार ओझाका छोरा हुन्। एलिसले सभापति जितेको स्ववियुको ३ कार्यकाल उनका बुवा राजकुमारले चलाएका थिए।

सुकुना क्याम्पसको स्ववियुमा राजकुमारले ‘ह्याट्रिक’ गरेको इतिहास छ। उनले २०४९ सालको निर्वाचनमा स्ववियु उपसभापति जितेका थिए। राजकुमार २०५१ र २०५३ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका एमाले नेता हुन्।

गत मंगलबार भएको निर्वाचनमा उनका छोरा एलिस स्वविय सभापति निर्वाचित भएका हुन्। बाबुले स्ववियुमा ‘ह्याट्रिक’ गरेको क्याम्पसमा छोरा स्ववियु सभापति निर्वाचित भएका छन्। २०४९ सालयता सुकुना बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा वामपन्थी उम्मेदवारले जितिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.