काँकडभिट्टा नाकामा सुनजस्तो धातु ल्याएको आरोपमा ५ पक्राउ
झापा : झापाको काँकडभिट्टा नाकामा सुनजस्तो धातु ल्याएको आरोपमा पाँच जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गर्दा शंका उनीहरूलाई सोमबार दिउँसो साढे १२ बजे मेचीनगर–६ स्थित पुरानो मेची पुलमा तैनाथ सुरक्षाकर्मीले शंका लागेर चेकजाँच गरेका थिए।
ताप्लेजुङ मैवाखोला गाउँपालिका–६ घर भई हाल झापा बुद्धशान्ति गाउँपालिका–२ का ४० वर्षीय राम लिम्बू र रामेछाप जिल्ला दुरम्बा गाउँपालिका–७ घर भई हाल काठमाडौं डल्लुका २६ वर्षीय प्रशान्त मोक्तानको शरीर तलासी लिँदा ४९ थान सुनजस्तो धातु फेला परेको थियो।
लिम्बूले लगाएको ज्याकेटको गोजीभित्र पत्रिकाले बाइन्डीङ गरेको जम्मा ३ पोका खोलेर हेर्दा निलो रङ्गको कार्ड जस्तो देखिने पेम्प कम्पनी उल्लेख गरिएको (क्रेडिट सुइस २० ग्राम फाइन गोल्ड ९९९.९) कार्डको बीच भागमा लेखिएको सुनजस्तो देखिने २९ थान वस्तु फेला परेको थियो भने मोक्तानले लगाएको कालो रंगङ्गको जिन्स पाइन्टको अगाडि र पछाडिको गोजीबाट २० थान वस्तु फेला परेको थियो।
यसैबीच अनुसन्धानका क्रममा थप तीन जना पक्राउ परेका छन्। बारा जितपुर नगरपालिका–१८ घर भई काठमाडौं बूढानीलकण्ठका ५७ वर्षीय राधेश्याम माझी, रुकुम जिल्ला बाफिकोट गाउँपालिका–७ घर भई दाङ तुलसीपुर–१३ का ४० वर्षीय कमल कुसारीको र भारत पश्चिम बंगाल दार्जिलिङका ६३ वर्षीय बलबहादुर क्षेत्री पक्राउ परेका हुन्। उनीहरूलाई मेचीनगर नगरपालिका–६ स्थित होटेल एभरेस्टबाट पक्राउ गरिएको हो।
प्रतिक्रिया दिनुहोस !