संविधान परिवर्तन गरेर भए पनि तेस्रो पटक राष्ट्रपति बन्ने सोचमा छु : ट्रम्प
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू तेस्रोपटक राष्ट्रपति बन्ने बारेमा विचार गरिरहेको बताएका छन्। उनले राष्ट्रपति बन्न संविधान पनि परिवर्तन गर्ने विषयमा सोचिरहेको बताएका छन्।
आइतबार एनबीसी न्यूज च्यानललाई दिइएको अन्तर्वार्तामा तेस्रोपटक राष्ट्रपति बन्ने कुरा मजाक नगरेको स्पष्ट पारे।
ट्रम्पको कार्यकाल २०२९ मा समाप्त हुनेछ। अमेरिकामा दुई पटक राष्ट्रपति बन्ने प्रावधान छ। ट्रम्प नोभेम्बरमा दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन्। यसअघि उनी २०१७ देखि २०२१ सम्म राष्ट्रपति थिए। यदि ट्रम्पले तेस्रो पटक राष्ट्रपति बन्ने प्रयास गरे भने उनले यसका लागि संविधान संशोधन गर्नुपर्नेछ। यसका लागि अमेरिकी कांग्रेस र राज्यहरूको समर्थन आवश्यक पर्नेछ।
ट्रम्पले भने तेस्रो पटक राष्ट्रपति बन्ने धेरै तरिकाहरू रहेको जनाएका छन्।
ट्रम्पलाई पत्रकारले तपाइँ अर्को कार्यकाल पनि राष्ट्रपति बन्न चाहानुहुन्छ भनेर सोधेका थिए।
उनले उत्तरमा आफूलाई काम गर्न मन पर्ने बताए। तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने कैयौं तरिका भएको पनि उनले बताए।
पत्रकारले थप प्रश्न गर्दै भने, 'जेडी भान्सले अर्को पटक राष्ट्रपति चुनाव लड्ने र चुनाव जितेपछि ट्रम्पलाई राष्ट्रपति बनाउनेछन्?' यसको उत्तर दिंदै ट्रम्पले यो एउटा तरिका भएको र यस्तै अन्य धेरै धेरै तरिकाहरू पनि रहेको जनाए।
अरु तरिकाको बारेमा प्रश्न गर्दा भने उनले स्पष्ट रूपमा केही भनेनन्।
उनलाई तेस्रो पटक राष्ट्रपति बनाउन २ महिनाअघि विधेयक पेश गरिएको थियो।
नोभेम्बरमा चुनाव जितेपछि ट्रम्पले पहिलो पटक तेस्रो पटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका थिए। त्यसपछि उनले भनेका थिए, 'मलाई लाग्दैन कि म फेरि राष्ट्रपति पदको लागि चुनाव लड्नेछु, तर यदि तपाईं चाहनुहुन्छ भने, म यसको बारेमा सोच्न सक्छु।'
पछि जनवरीमा ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बन्न अनुमति दिन संसदको तल्लो सदन, प्रतिनिधि सभामा एक विधेयक पेश गरियो। यो विधेयक ट्रम्पको रिपब्लिकन पार्टीका सांसद एन्डी ओगल्सले पेश गरेका थिए।
यो विधेयकमा लगातार दुई कार्यकाल राष्ट्रपति रहेका कुनै पनि व्यक्ति तेस्रो पटक राष्ट्रपति पदमा निर्वाचित नहुने उल्लेख छ।
के ट्रम्पले संविधान परिवर्तन गर्न सक्छन्?
यदि ट्रम्प तेस्रो पटक अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार बन्न चाहने हो भने उनले अमेरिकी संविधानमा परिवर्तन गर्नुपर्नेछ। यो काम त्यति सजिलो छैन। यसका लागि ट्रम्पले अमेरिकी सिनेट र प्रतिनिधि सभा दुवैमा दुई तिहाइ बहुमतले विधेयक पारित गर्नुपर्नेछ। ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा त्यति धेरै सदस्यहरू छैनन्।
ट्रम्पको रिपब्लिकन पार्टीको सिनेटमा १०० मध्ये ५२ सिनेटर छन्। साथै प्रतिनिधि सभामा ४३५ मध्ये २२० सदस्य छन्। यो संविधान संशोधन गर्न आवश्यक पर्ने दुई तिहाइ अर्थात् ६७% बहुमतभन्दा धेरै कम हो।
यदि ट्रम्पले बहुमत हासिल गरिहाले पनि संविधान संशोधन गर्न त्यति सजिलो हुनेछैन। अमेरिकी कांग्रेसका दुवै सदनबाट विधेयक पारित भएपछि यो संशोधनलाई राज्यहरूले अनुमोदन गर्नुपर्नेछ।
यसका लागि तीन चौथाई राज्यको बहुमत प्राप्त गरेपछि मात्र संविधान संशोधन गर्न सकिन्छ। यसको अर्थ ५० मध्ये ३८ अमेरिकी राज्यले संविधान परिवर्तन गर्न सहमत भएमा मात्र नियमहरू परिवर्तन हुन सक्छन्।
ट्रम्पले पुटिनको रणनीति अपनाउन सक्छन्
ट्रम्प आफैंले धेरै पटक भनेका छन् कि उनी दुई कार्यकाल पछि पनि सत्तामा रहन चाहन्छन्। यदि ट्रम्पले तेस्रो कार्यकाल प्राप्त गरेनन् भने उनले सत्तामा रहन अन्य तरिकाहरू अपनाउन सक्ने विज्ञहरुको अनुमान छ।
ह्यामिल्टन कलेजका प्राध्यापक फिलिप क्लिंकनरका अनुसार ट्रम्प २०२८ मा उपराष्ट्रपति बन्न सक्छन् र जे.डी. भान्स वा अरू कसैलाई नाममात्रको राष्ट्रपति बनाउन सक्छन्। पुटिनले रुसमा पनि यस्तै गरेका थिए। यसबाहेक उनले आफ्नो परिवारको कुनै पनि सदस्यलाई राष्ट्रपति बनाउन सक्छन् ताकि उनले पर्दा पछाडिबाट सरकारमाथि आफ्नो नियन्त्रण कायम राख्न सकून्।
पुटिन २००० देखि २००८ सम्म लगातार दुई पटक रुसको राष्ट्रपति बनेका थिए। रुसको संविधान अनुसार उनी लगातार तेस्रो पटक राष्ट्रपति बन्न सक्दैनथे। यस्तो अवस्थामा उनले आफ्नो खास मान्छे दिमित्री मेदवेदेवलाई राष्ट्रपति बनाए। यस अवधिमा पुटिनले उपराष्ट्रपतिको पद सम्हालेका थिए।
७३ वर्षअघि दुई पटक मात्र राष्ट्रपति बन्न पाउने नियम बनेको
पहिले अमेरिकामा कुनै व्यक्ति दुई पटक मात्र राष्ट्रपति बन्न सक्ने व्यवस्था थिएन। संविधानको २२ औं संशोधन १९५१ मा गरिएको थियो। यस अन्तर्गत अमेरिकामा एक व्यक्ति दुई पटक मात्र राष्ट्रपति बन्न सक्ने नियम बनाइएको थियो।
अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिंगटनले दुई कार्यकाल पछि अवकाश लिएका थिए। त्यसबेलादेखि राष्ट्रपतिले दुई कार्यकालभन्दा बढी सेवा गर्नु हुँदैन भन्ने अनौपचारिक नियम बनेको हो।
३१ जना अमेरिकी राष्ट्रपतिहरूमध्ये कसैले पनि यो अभ्यास तोडेनन्। तर फ्र्याङ्कलिन डी. रुजवेल्टको समयमा यो नियम तोडिएको थियो। उनी १९३३ देखि १९४५ सम्म चार पटक राष्ट्रपतिमा निर्वाचित भए।
यसपछि १९४६ को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीले पुनरागमन गर्यो। १९४७ मा केन्द्रीय सरकारमा प्रशासनिक परिवर्तन गर्न हूवर आयोग गठन गरिएको थियो। यस आयोगको सिफारिसपछि २२ औं संशोधन मार्फत कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने कानून बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस !