विकराल बन्दै लागुपदार्थ दुर्व्यसनी

विकराल बन्दै लागुपदार्थ दुर्व्यसनी

ऐनअन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यसै ऐनअन्तर्गत अपराध गरेमा उक्त व्यक्तिलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था कानुनमा छ ।

बुटवल : बितेको पाँच आर्थिक वर्षमा देशभर २७ हजार २० जना व्यक्तिहरू लागुपदार्थ दुर्व्यसनीमा पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरोका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म १७ हजार ७ सय ४५ वटा लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् । पक्राउ पर्ने व्यक्तिहरूको संख्या बर्सेनि बढ्दो छ । 

आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ६ सय २५ जना व्यक्तिहरू पक्राउ परेका थिए । २०७८/०७९ मा ५ हजार ७ सय ९० जना, २०७९/०८० मा ६ हजार १ सय ८६ जना, २०८०/०८१ मा ६ हजार ७ सय ४२ जना र चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म ३ हजार ६ सय ७७ जना व्यक्ति लागुऔषध दुर्व्यसनीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरसमूहका ४५ प्रतिशत युवा छन् । १६ देखि २५ वर्ष उमेरसमूहका २४ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेरसमूहका २३ प्रतिशत र ४६ देखि ६० वर्ष उमेरसमूहका ८ प्रतिशत व्यक्तिहरू लागुऔषधको कारोबारमा पक्राउ परेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए । 

उनका अनुसार लागुऔषध कारोबारमा संलग्न हुनेमा सबैभन्दा धेरै कोशी, बागमती र लुम्बिनी प्रदेशका युवा छन् । भारतीय सिमानाकासँग जोडिएका क्षेत्रहरूमा बढी अवैध रूपमा कारोबार हुने गरेको पाइएको कोइरालाले बताए । चालु आर्थिक वर्षको पुससम्म कोशी प्रदेशमा ९ सय ७१ जना, बागमती प्रदेशमा ८ सय ३२ जना र लुम्बिनीमा ५ सय ११ जना व्यक्ति पक्राउ परेका छन् । सुदूरपश्चिममा ४ सय ६० जना, मधेसमा ४ सय १९, गण्डकीमा १ सय ७५ र कर्णालीमा १ सय १३ जना व्यक्ति पक्राउ परेको तथ्यांक छ । केन्द्रीय अनुसन्धान ब्युरोमार्फत १ सय ३० जना व्यक्ति पक्राउ परेका छन् । 

खुकुलो सीमाले बढायो ओसारपसार
लागुपदार्थ ओसारपसारलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर, छिमेकी मुलुक भारतसँग जोडिएका ठाउँहरूबाट अवैध रूपमा लागुपदार्थ ओसारपसार बढी हुने गरेको छ । खुला सिमाना नै ओसारपसारको गतिलो माध्यम बनिरहेको पाइएको हो । प्रहरीलेसमेत चेकजाँचमा त्यति कडाइ नगर्दा कारोबारीहरूले प्रश्रय पाइरहेको सरोकारवाला निकाय सुनाउँछन् । 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका अनुसार भारतबाट धेरै मात्रामा ब्राउन सुगर भित्रिने गरेको छ । ब्युरोको तथ्यांकअनुसार भारतमा ब्राउन सुगर प्रयोगकर्ताहरू धेरै छैनन् । तर, नेपालका पहाडी जिल्लाहरूमा समेत पुग्ने र प्रयोगकर्ता धेरै भएकाले यसको कारोबार बढ्दै गइरहेको देखिएको छ । अध्ययनअनुसार ब्राउन सुगर नेपाल निर्यात गर्दा समेत भारतीय प्रहरीले सिमानामा चेकजाँचमा समेत त्यति धेरै कडाइ गर्दैन । 

 

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका प्रमुख एवं प्रहरी नायव निरीक्षक सागर भट्टराईका अनुसार लुम्बिनीका तराई र भारतीय सिमासँग जोडिएका क्षेत्रहरूमा लागुऔषध कारोबार धेरै हुने गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा, पकडी, चार नम्बर, रूपन्देहीको धकदही, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्र, बेथरी नाका र नवलपरासीको पचगावाँ, महेशपुर र बेलाटारी क्षेत्रमा लागुऔषधको कारोबार ठूलो मात्रामा हुने गरेको छ । भारतबाट थरीथरीका लागुऔषध ओसारपसार गरेर यस क्षेत्रमा गोदामको रूपमा राखेर बिक्री गर्ने गरेको पाइएको भट्टराईले जानकारी दिए । ‘सुनौली नाकाबाट भित्रिएको लागुऔषध त्यसमा पनि धेरै ब्राउन सुगर पोखरा, स्याङ्जामा पनि पुग्ने गरेको छ’, भट्टराईले भने, ‘पहाडी जिल्लाहरूमा पनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ । धेरैजसो प्रयोगकर्ता र बिक्री गर्नेहरू एउटै व्यक्ति हुने गरेको फेला परेका छन् ।’

उनले खुल्ला सिमानाका र विद्यमान कानुनको कार्यान्वयनमा कडाइ गरी नियन्त्रणमा लिएका व्यक्तिहरूलाई छुटकारा दिन राजनीति भनसुन चल्न नहुने अनुभव सुनाए । लुम्बिनीका केही पहाडी जिल्लाहरूबाट पनि गाँजा भारतमा पुग्ने गरेको देखिएको उनले जानकारी गराए । नेपालीका लागि गाँजाको प्रमुख बजार भारत नै रहेको उनको भनाइ छ । गाँजासँगै नेपालको चरेस र अफिम पनि भारत पुग्ने गरेको उनले सुनाए । 

‘तल्लो वर्ग र उच्च पदस्थ व्यक्तिहरूले पनि लागुपदार्थ निरन्तर सेवन गर्ने गरेको भेटियो’, भट्टराईले भने, ‘यो समस्या दिनप्रतिदिन बढ्दै गएको छ । नियन्त्रण गर्न सबै क्षेत्रले चासो दिनुपर्छ । प्रहरीको एक्लो प्रयासले मात्र लागुपदार्थ दुर्व्यसनीलाई निराकरण गर्न सकिँदैन ।’ लागुऔषधलाई कानुनी मान्यता नदिएको र मूल्यमा पनि एकरूपता नहुने भएपछि बजारमा आफूसुखी किनबेच हुने गरेकोसमेत भट्टराइले सुनाए । भारतबाट हजारमा किनेको ब्राउन सुगर गाउँ गाउँ पुग्दा लाखमा पुग्ने गरेको उनको पाइएको उनले बताए । 

राष्ट्रव्यापी समस्या बन्दै गयो

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी राष्ट्रव्यापी समस्या बन्दै गइरहेको अनुभव सुनाए । ‘देशका विभिन्न जिल्लाहरूमा काम गर्ने सिलसिलामा लागुपदार्थ दुर्व्यसनी समस्याको रूपमा अगाडि देखिँदै गएको पाइयो’, उनले भने, ‘रूपन्देहीमा पनि समस्या बढ्दो छ । चारैतिर खुल्ला भारतीय सिमानाका प्रमुख कारण हो ।’ धेरैजसो सडक दुर्घटना लागुपदार्थ सेवनबाट हुने गरेको समेत उनले जानकारी गराए । 

nullजिल्ला प्रहरी कार्यालय रूपन्देहीले लागुऔषध नियन्त्रणसम्बन्धी रूपन्देहीका विद्यालयमा सञ्चालन गरेको सचेतनामूलक कार्यक्रम । तस्बिर : केशरराज क्षेत्री 

प्रहरीले गाडी चालकहरूलाई मादकपदार्थ (मापसे) सँगै लागुपदार्थ (लापसे) सेवन गर्नेहरूको पनि चेकजाँचमा कडाइ गर्ने गरेको उनले बताए । समाजमा हुने गरेको चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू यसैका कारण हुने गरेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले लागुपदार्थ सेवनलाई निरुत्साहित गर्न समुदाय र विद्यालयहरूमा सचेतनाका कार्यक्रमहरू गर्दैै आइरहेको राठौरले जानकारी गराए । 

  •     छिमेकी मुलुक भारतसँग जोडिएका ठाउँहरूबाट अवैध रूपमा लागुपदार्थ ओसारपसार बढी 
  •     खुला सिमाना नै ओसारपसारको गतिलो माध्यम बनिरहेको 
  •     लुम्बिनीका तराई र भारतीय सीमासँग जोडिएका क्षेत्रहरूमा लागुऔषध कारोबार धेरै हुने गरेको
  •     कानुनी मान्यता नदिएको र मूल्यमा पनि एकरूपता नहुने भएपछि बजारमा आफूसुखी किनबेच हुने 
  •     भारतबाट हजारमा किनेको ब्राउन सुगर गाउँगाउँ पुग्दा लाखमा पुग्ने
  •     सार्वजनिक स्थल र होटल रेस्टुरेन्टहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरू भेटिने
  •     गाँजा वा चरेस सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना
  •     गाँजाको खेती, सेवन गर्ने व्यक्तिलाई मात्रा र बोटको खेतीअनुसार सजायको व्यवस्था
  •     लागुपदार्थ सेवनलाई निरुत्साहित गर्न समुदाय र विद्यालयहरूमा सचेतनाका कार्यक्रमहरू सञ्चालनमा

हालसम्म विभिन्न समुदाय र विद्यालयमा गरी १ सय ८६ वटा स्थानमा लागुऔषध दुर्व्यसनीसम्बन्धी कार्यक्रम गरिएको राठौरले बताए । ती कार्यक्रमबाट १६ हजार ५ सय ४८ जना व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् । हालसम्म ९९ वटा विद्यालयमा पुगेर विद्यालय र शिक्षकहरूलाई प्रहरीले सचेतना कार्यक्रम गरेको छ । ‘विद्यालय तहबाट विद्यार्थीलाई सचेतना दिन सकियो भने नियन्त्रण गर्न सजिलो हुन्छ’, राठौरले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले लागुपदार्थ दुर्व्यसनीमा किन फस्छन् युवा भनेर कारण पत्ता लगाउनुपर्छ र नियन्त्रणका लागि विद्यालय तहबाटै कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’ 

यस क्षेत्रमा ब्राउन सुगर, सिरिन्ज, नाइट्रोभेट ट्याब्लेट, गाँजा, चरेस, डाइजेपाम, सेरिज्याक, फेनेरागन र कोरेक्सजस्ता लागुपदार्थ ओसारपसार हुने गरेको भेटिएको उनले जानकारी गराए । रूपन्देहीमा मात्र पछिल्लो तीन आर्थिक वर्षमा २ सय ४१ वटा मुद्दा लागुपदार्थ दुर्व्यसनीसँग सम्बन्धित छन् । ३ सय ७५ जना पुरुष र ३२ जना महिला गरी ४ सय ७ जना प्रतिवादी पक्राउ परेको राठौरले जानकारी दिए । लागुऔषध दुर्व्यसनी तथा यसले पार्ने नकारात्मक असर र बच्ने उपायका बारेमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अभियानकै रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो । 

होटलहरूमा खुलेआम प्रयोग हुन्छ
लीलाराम न्यौपाने मावि सिद्धार्थनगर नगरपालिका—८ नारायणस्थान भैरहवाका प्रधानाध्यापक रूपकुमार क्षेत्रीले सार्वजनिक स्थल र होटल रेस्टुरेन्टहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरू भेटिने गरेको सुनाए । ‘पढ्दै गरेका युवाहरू पनि होटलमा हुक्का तानेको अवस्थामा देखिन्छन्’, क्षेत्रीले भने, ‘यसरी खुलेआम होटलहरूमा लागुऔषध सेवन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । प्रहरी प्रशासनले विशेष निगरानी गर्नुपर्छ ।’ 

उनले आफ्नो विद्यालयमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमार्फत विद्यार्थीलाई सचेतनाका कार्यक्रम गर्ने गरेको भए पनि त्यसले मात्र लागुऔषध सेवन र किनबेचमा नियन्त्रण हुन नसक्ने जानकारी गराए । ‘पाठ्यक्रममा पनि लागुऔषधको सेवनबाट हुने हानिनोक्सानीका कुराहरू विद्यार्थीलाई सिकाइन्छ’, क्षेत्रीले भने, ‘पाठ्यक्रमले मात्र यो विषयको किनारा लाग्दैन । सचेतनालाई समाज र विद्यालयमा सँगसँगै लैजानुपर्छ ।’ गत माघमा सञ्चालन गरिएको सचेतना कार्यक्रमबाट कक्षा ११ र १२ का १ सय १० जना विद्यार्थी लाभान्वित भएको उनले जानकारी गराए । लागुऔषध सेवन गर्ने व्यक्तिहरू आँखैअगाडि देखे पनि समाजका सचेत नागरिकले बेवास्ता गर्ने गरेको पाइएकोसमेत उनले अनुभव सुनाए । सन्तान लागुऔषध दुर्व्यसनीमा फस्दा परिवारमा गहिरो चोट पर्ने भएकाले यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गहरूले साथ दिनुपर्नेमा उनले सुझाव दिए । 

के छ कानुनमा ? 
लागुऔषध नियन्त्रण ऐन, २०३३ ले निषेध गरिएका क्षेत्रमा कारोबार गर्ने व्यक्तिलाई विभिन्न सजायको समेत व्यवस्था गरेको छ । तर, बनेको कानुन प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन । गाँजा वा चरेस सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ । प्रहरीले अधिकांश ठाउँमा गाँजाको व्यापार र खेती गर्ने व्यक्तिलाई मिलापत्रका आधारमा छाड्ने गरेको देखिन्छ । गाँजाको खेती, सेवन गर्ने व्यक्तिलाई मात्रा र बोटको खेतीअनुसार सजायको व्यवस्था छ । 

अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना छ । तर, चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरेर १५/१५ दिनमा चिकित्सा केन्द्रबाट उपचार गराइराखेको जानकारी पेस गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्ने पनि कानुन उल्लेख छ । अफिमको २५ वटा बोटसम्म खेती गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसमम जरिबानाको व्यवस्था छ । खेती गर्ने व्यक्तिलाई जति धेरै खेती गर्‍यो त्यति नै धेरै सजाय तोकिएको छ । 

अफिम, कोका वा सोबाट बनेको लागुऔषधको २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिबाना छ । एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिबाना हुने व्यवस्था छ । 


सुदर्शनप्रसाद कोइराला
प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक, लागुऔषध नियन्त्रण ब्युरो

लागुऔषध दुर्व्यसनीमा फस्नेहरूमा धेरै युवा छन् । पाँच आर्थिक वर्षमा देशभर २७ हजार २० जना व्यक्ति पक्राउ परेका छन् । १७ हजार ७ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । पक्राउ पर्ने व्यक्तिहरूको संख्या बर्सेनि बढ्दो छ । पक्राउ पर्नेमा ४५ प्रतिशत युवा छन् । सबैभन्दा धेरै कोशी, बागमती र लुम्बिनी प्रदेशका युवाहरू छन् । भारतीय सिमानाकासँग जोडिएका क्षेत्रहरूमा बढी अवैध रूपमा कारोबार हुने गरेको छ । 


रञ्जित सिंह राठौर
प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय रूपन्देही
लागुपदार्थ दुर्व्यसनी राष्ट्रव्यापी समस्या बन्दै गइरहेको छ । रूपन्देहीमा पनि समस्या बढ्दो छ । चारैतिर खुला भारतीय सिमानाका छन् । लागुपदार्थ सेवनका कारण सडक दुर्घटना हुने गरेका छन् । प्रहरीले मापसेसँगै लापसेको पनि चेकजाँच गर्छ । समाजमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू यसैका कारण हुने गरेका छन् । यसको सेवन र कारोबारलाई निरुत्साहित गर्न समुदाय र विद्यालयहरूमा सचेतनाका कार्यक्रमहरू गरिरहेका छौं । विद्यालय तहबाट विद्यार्थीलाई सचेतना दिन सकियो भने दीर्घकालीन समाधान हुनसक्छ । रूपन्देहीमा मात्रै पछिल्लो तीन आर्थिक वर्षमा २ सय ४१ वटा मुद्दा लागुपदार्थ दुर्व्यसनीसँग सम्बन्धित छन् । 


रूपकुमार क्षेत्री
प्रधानाध्यापक, लीलाराम न्यौपाने मावि भैरहवा
सार्वजनिक स्थल र होटल, रेस्टुरेन्टहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरू भेटिन्छन् । पढ्दै गरेका युवा पनि होटलमा हुक्का तानेको अवस्थामा देखिन्छन् । होटलहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । प्रहरी प्रशासनले विशेष निगरानी गर्नुपर्छ । पाठ्यक्रममा पनि लागुऔषधको सेवनबाट हुने हानिनोक्सानीका कुराहरू विद्यार्थीलाई सिकाइन्छ । तर, पाठ्यक्रमले मात्र यो विषयको किनारा लाग्दैन । सचेतनालाई समाज र विद्यालयमा सँगसँगै लैजानुपर्छ । लागुऔषध सेवन गर्ने व्यक्तिहरू आँखै अगाडि देखे पनि समाजका सचेत नागरिकले वेवास्ता गर्ने गरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.