विकराल बन्दै लागुपदार्थ दुर्व्यसनी
ऐनअन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यसै ऐनअन्तर्गत अपराध गरेमा उक्त व्यक्तिलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था कानुनमा छ ।
बुटवल : बितेको पाँच आर्थिक वर्षमा देशभर २७ हजार २० जना व्यक्तिहरू लागुपदार्थ दुर्व्यसनीमा पक्राउ परे । नेपाल प्रहरीको केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरोका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म १७ हजार ७ सय ४५ वटा लागुऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएका छन् । पक्राउ पर्ने व्यक्तिहरूको संख्या बर्सेनि बढ्दो छ ।
आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ६ सय २५ जना व्यक्तिहरू पक्राउ परेका थिए । २०७८/०७९ मा ५ हजार ७ सय ९० जना, २०७९/०८० मा ६ हजार १ सय ८६ जना, २०८०/०८१ मा ६ हजार ७ सय ४२ जना र चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म ३ हजार ६ सय ७७ जना व्यक्ति लागुऔषध दुर्व्यसनीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेरसमूहका ४५ प्रतिशत युवा छन् । १६ देखि २५ वर्ष उमेरसमूहका २४ प्रतिशत, ३६ देखि ४५ वर्ष उमेरसमूहका २३ प्रतिशत र ४६ देखि ६० वर्ष उमेरसमूहका ८ प्रतिशत व्यक्तिहरू लागुऔषधको कारोबारमा पक्राउ परेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदर्शनप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार लागुऔषध कारोबारमा संलग्न हुनेमा सबैभन्दा धेरै कोशी, बागमती र लुम्बिनी प्रदेशका युवा छन् । भारतीय सिमानाकासँग जोडिएका क्षेत्रहरूमा बढी अवैध रूपमा कारोबार हुने गरेको पाइएको कोइरालाले बताए । चालु आर्थिक वर्षको पुससम्म कोशी प्रदेशमा ९ सय ७१ जना, बागमती प्रदेशमा ८ सय ३२ जना र लुम्बिनीमा ५ सय ११ जना व्यक्ति पक्राउ परेका छन् । सुदूरपश्चिममा ४ सय ६० जना, मधेसमा ४ सय १९, गण्डकीमा १ सय ७५ र कर्णालीमा १ सय १३ जना व्यक्ति पक्राउ परेको तथ्यांक छ । केन्द्रीय अनुसन्धान ब्युरोमार्फत १ सय ३० जना व्यक्ति पक्राउ परेका छन् ।
खुकुलो सीमाले बढायो ओसारपसार
लागुपदार्थ ओसारपसारलाई राज्यले कानुनी मान्यता दिएको छैन । तर, छिमेकी मुलुक भारतसँग जोडिएका ठाउँहरूबाट अवैध रूपमा लागुपदार्थ ओसारपसार बढी हुने गरेको छ । खुला सिमाना नै ओसारपसारको गतिलो माध्यम बनिरहेको पाइएको हो । प्रहरीलेसमेत चेकजाँचमा त्यति कडाइ नगर्दा कारोबारीहरूले प्रश्रय पाइरहेको सरोकारवाला निकाय सुनाउँछन् ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका अनुसार भारतबाट धेरै मात्रामा ब्राउन सुगर भित्रिने गरेको छ । ब्युरोको तथ्यांकअनुसार भारतमा ब्राउन सुगर प्रयोगकर्ताहरू धेरै छैनन् । तर, नेपालका पहाडी जिल्लाहरूमा समेत पुग्ने र प्रयोगकर्ता धेरै भएकाले यसको कारोबार बढ्दै गइरहेको देखिएको छ । अध्ययनअनुसार ब्राउन सुगर नेपाल निर्यात गर्दा समेत भारतीय प्रहरीले सिमानामा चेकजाँचमा समेत त्यति धेरै कडाइ गर्दैन ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाका प्रमुख एवं प्रहरी नायव निरीक्षक सागर भट्टराईका अनुसार लुम्बिनीका तराई र भारतीय सिमासँग जोडिएका क्षेत्रहरूमा लागुऔषध कारोबार धेरै हुने गरेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवा, पकडी, चार नम्बर, रूपन्देहीको धकदही, लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्र, बेथरी नाका र नवलपरासीको पचगावाँ, महेशपुर र बेलाटारी क्षेत्रमा लागुऔषधको कारोबार ठूलो मात्रामा हुने गरेको छ । भारतबाट थरीथरीका लागुऔषध ओसारपसार गरेर यस क्षेत्रमा गोदामको रूपमा राखेर बिक्री गर्ने गरेको पाइएको भट्टराईले जानकारी दिए । ‘सुनौली नाकाबाट भित्रिएको लागुऔषध त्यसमा पनि धेरै ब्राउन सुगर पोखरा, स्याङ्जामा पनि पुग्ने गरेको छ’, भट्टराईले भने, ‘पहाडी जिल्लाहरूमा पनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखिएको छ । धेरैजसो प्रयोगकर्ता र बिक्री गर्नेहरू एउटै व्यक्ति हुने गरेको फेला परेका छन् ।’
उनले खुल्ला सिमानाका र विद्यमान कानुनको कार्यान्वयनमा कडाइ गरी नियन्त्रणमा लिएका व्यक्तिहरूलाई छुटकारा दिन राजनीति भनसुन चल्न नहुने अनुभव सुनाए । लुम्बिनीका केही पहाडी जिल्लाहरूबाट पनि गाँजा भारतमा पुग्ने गरेको देखिएको उनले जानकारी गराए । नेपालीका लागि गाँजाको प्रमुख बजार भारत नै रहेको उनको भनाइ छ । गाँजासँगै नेपालको चरेस र अफिम पनि भारत पुग्ने गरेको उनले सुनाए ।
‘तल्लो वर्ग र उच्च पदस्थ व्यक्तिहरूले पनि लागुपदार्थ निरन्तर सेवन गर्ने गरेको भेटियो’, भट्टराईले भने, ‘यो समस्या दिनप्रतिदिन बढ्दै गएको छ । नियन्त्रण गर्न सबै क्षेत्रले चासो दिनुपर्छ । प्रहरीको एक्लो प्रयासले मात्र लागुपदार्थ दुर्व्यसनीलाई निराकरण गर्न सकिँदैन ।’ लागुऔषधलाई कानुनी मान्यता नदिएको र मूल्यमा पनि एकरूपता नहुने भएपछि बजारमा आफूसुखी किनबेच हुने गरेकोसमेत भट्टराइले सुनाए । भारतबाट हजारमा किनेको ब्राउन सुगर गाउँ गाउँ पुग्दा लाखमा पुग्ने गरेको उनको पाइएको उनले बताए ।
राष्ट्रव्यापी समस्या बन्दै गयो
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एवं प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले पछिल्लो समय लागुपदार्थ दुर्व्यसनी राष्ट्रव्यापी समस्या बन्दै गइरहेको अनुभव सुनाए । ‘देशका विभिन्न जिल्लाहरूमा काम गर्ने सिलसिलामा लागुपदार्थ दुर्व्यसनी समस्याको रूपमा अगाडि देखिँदै गएको पाइयो’, उनले भने, ‘रूपन्देहीमा पनि समस्या बढ्दो छ । चारैतिर खुल्ला भारतीय सिमानाका प्रमुख कारण हो ।’ धेरैजसो सडक दुर्घटना लागुपदार्थ सेवनबाट हुने गरेको समेत उनले जानकारी गराए ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले लागुऔषध नियन्त्रणसम्बन्धी रूपन्देहीका विद्यालयमा सञ्चालन गरेको सचेतनामूलक कार्यक्रम । तस्बिर : केशरराज क्षेत्री
प्रहरीले गाडी चालकहरूलाई मादकपदार्थ (मापसे) सँगै लागुपदार्थ (लापसे) सेवन गर्नेहरूको पनि चेकजाँचमा कडाइ गर्ने गरेको उनले बताए । समाजमा हुने गरेको चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू यसैका कारण हुने गरेको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले लागुपदार्थ सेवनलाई निरुत्साहित गर्न समुदाय र विद्यालयहरूमा सचेतनाका कार्यक्रमहरू गर्दैै आइरहेको राठौरले जानकारी गराए ।
- छिमेकी मुलुक भारतसँग जोडिएका ठाउँहरूबाट अवैध रूपमा लागुपदार्थ ओसारपसार बढी
- खुला सिमाना नै ओसारपसारको गतिलो माध्यम बनिरहेको
- लुम्बिनीका तराई र भारतीय सीमासँग जोडिएका क्षेत्रहरूमा लागुऔषध कारोबार धेरै हुने गरेको
- कानुनी मान्यता नदिएको र मूल्यमा पनि एकरूपता नहुने भएपछि बजारमा आफूसुखी किनबेच हुने
- भारतबाट हजारमा किनेको ब्राउन सुगर गाउँगाउँ पुग्दा लाखमा पुग्ने
- सार्वजनिक स्थल र होटल रेस्टुरेन्टहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरू भेटिने
- गाँजा वा चरेस सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना
- गाँजाको खेती, सेवन गर्ने व्यक्तिलाई मात्रा र बोटको खेतीअनुसार सजायको व्यवस्था
- लागुपदार्थ सेवनलाई निरुत्साहित गर्न समुदाय र विद्यालयहरूमा सचेतनाका कार्यक्रमहरू सञ्चालनमा
हालसम्म विभिन्न समुदाय र विद्यालयमा गरी १ सय ८६ वटा स्थानमा लागुऔषध दुर्व्यसनीसम्बन्धी कार्यक्रम गरिएको राठौरले बताए । ती कार्यक्रमबाट १६ हजार ५ सय ४८ जना व्यक्तिहरू प्रत्यक्ष लाभान्वित भएका छन् । हालसम्म ९९ वटा विद्यालयमा पुगेर विद्यालय र शिक्षकहरूलाई प्रहरीले सचेतना कार्यक्रम गरेको छ । ‘विद्यालय तहबाट विद्यार्थीलाई सचेतना दिन सकियो भने नियन्त्रण गर्न सजिलो हुन्छ’, राठौरले भने, ‘स्थानीय, प्रदेश र संघीय सरकारले लागुपदार्थ दुर्व्यसनीमा किन फस्छन् युवा भनेर कारण पत्ता लगाउनुपर्छ र नियन्त्रणका लागि विद्यालय तहबाटै कार्यक्रम सञ्चालन गर्नुपर्छ ।’
यस क्षेत्रमा ब्राउन सुगर, सिरिन्ज, नाइट्रोभेट ट्याब्लेट, गाँजा, चरेस, डाइजेपाम, सेरिज्याक, फेनेरागन र कोरेक्सजस्ता लागुपदार्थ ओसारपसार हुने गरेको भेटिएको उनले जानकारी गराए । रूपन्देहीमा मात्र पछिल्लो तीन आर्थिक वर्षमा २ सय ४१ वटा मुद्दा लागुपदार्थ दुर्व्यसनीसँग सम्बन्धित छन् । ३ सय ७५ जना पुरुष र ३२ जना महिला गरी ४ सय ७ जना प्रतिवादी पक्राउ परेको राठौरले जानकारी दिए । लागुऔषध दुर्व्यसनी तथा यसले पार्ने नकारात्मक असर र बच्ने उपायका बारेमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अभियानकै रूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको हो ।
होटलहरूमा खुलेआम प्रयोग हुन्छ
लीलाराम न्यौपाने मावि सिद्धार्थनगर नगरपालिका—८ नारायणस्थान भैरहवाका प्रधानाध्यापक रूपकुमार क्षेत्रीले सार्वजनिक स्थल र होटल रेस्टुरेन्टहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरू भेटिने गरेको सुनाए । ‘पढ्दै गरेका युवाहरू पनि होटलमा हुक्का तानेको अवस्थामा देखिन्छन्’, क्षेत्रीले भने, ‘यसरी खुलेआम होटलहरूमा लागुऔषध सेवन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । प्रहरी प्रशासनले विशेष निगरानी गर्नुपर्छ ।’
उनले आफ्नो विद्यालयमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीमार्फत विद्यार्थीलाई सचेतनाका कार्यक्रम गर्ने गरेको भए पनि त्यसले मात्र लागुऔषध सेवन र किनबेचमा नियन्त्रण हुन नसक्ने जानकारी गराए । ‘पाठ्यक्रममा पनि लागुऔषधको सेवनबाट हुने हानिनोक्सानीका कुराहरू विद्यार्थीलाई सिकाइन्छ’, क्षेत्रीले भने, ‘पाठ्यक्रमले मात्र यो विषयको किनारा लाग्दैन । सचेतनालाई समाज र विद्यालयमा सँगसँगै लैजानुपर्छ ।’ गत माघमा सञ्चालन गरिएको सचेतना कार्यक्रमबाट कक्षा ११ र १२ का १ सय १० जना विद्यार्थी लाभान्वित भएको उनले जानकारी गराए । लागुऔषध सेवन गर्ने व्यक्तिहरू आँखैअगाडि देखे पनि समाजका सचेत नागरिकले बेवास्ता गर्ने गरेको पाइएकोसमेत उनले अनुभव सुनाए । सन्तान लागुऔषध दुर्व्यसनीमा फस्दा परिवारमा गहिरो चोट पर्ने भएकाले यसलाई नियन्त्रण गर्न समाजका सबै वर्गहरूले साथ दिनुपर्नेमा उनले सुझाव दिए ।
के छ कानुनमा ?
लागुऔषध नियन्त्रण ऐन, २०३३ ले निषेध गरिएका क्षेत्रमा कारोबार गर्ने व्यक्तिलाई विभिन्न सजायको समेत व्यवस्था गरेको छ । तर, बनेको कानुन प्रभावकारी रूपमा कार्यान्वयन भएको छैन । गाँजा वा चरेस सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिबाना तोकिएको छ । प्रहरीले अधिकांश ठाउँमा गाँजाको व्यापार र खेती गर्ने व्यक्तिलाई मिलापत्रका आधारमा छाड्ने गरेको देखिन्छ । गाँजाको खेती, सेवन गर्ने व्यक्तिलाई मात्रा र बोटको खेतीअनुसार सजायको व्यवस्था छ ।
अफिम, कोका वा सोबाट बनेको लागुऔषधको सेवन गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना छ । तर, चिकित्सा केन्द्रमा तीन महिनासम्म उपचार गराउने गरी जिम्मा लिने व्यक्ति वा संस्थाले कागज गरेर १५/१५ दिनमा चिकित्सा केन्द्रबाट उपचार गराइराखेको जानकारी पेस गर्ने गरी मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई सजाय नगर्न सक्ने पनि कानुन उल्लेख छ । अफिमको २५ वटा बोटसम्म खेती गर्ने व्यक्तिलाई एक वर्षदेखि तीन वर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसमम जरिबानाको व्यवस्था छ । खेती गर्ने व्यक्तिलाई जति धेरै खेती गर्यो त्यति नै धेरै सजाय तोकिएको छ ।
अफिम, कोका वा सोबाट बनेको लागुऔषधको २५ ग्रामसम्मको कारोबार गर्ने व्यक्तिलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिबानाको व्यवस्था छ । २५ ग्रामदेखि एक सय ग्रामसम्मको कारोबार गर्नेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिबाना छ । एक सय ग्रामदेखि माथि जतिसुकै परिमाणको कारोबार गर्ने व्यक्तिलाई १५ वर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिबाना हुने व्यवस्था छ ।
सुदर्शनप्रसाद कोइराला
प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक, लागुऔषध नियन्त्रण ब्युरो
लागुऔषध दुर्व्यसनीमा फस्नेहरूमा धेरै युवा छन् । पाँच आर्थिक वर्षमा देशभर २७ हजार २० जना व्यक्ति पक्राउ परेका छन् । १७ हजार ७ सय ४५ वटा मुद्दा दर्ता भएका छन् । पक्राउ पर्ने व्यक्तिहरूको संख्या बर्सेनि बढ्दो छ । पक्राउ पर्नेमा ४५ प्रतिशत युवा छन् । सबैभन्दा धेरै कोशी, बागमती र लुम्बिनी प्रदेशका युवाहरू छन् । भारतीय सिमानाकासँग जोडिएका क्षेत्रहरूमा बढी अवैध रूपमा कारोबार हुने गरेको छ ।
रञ्जित सिंह राठौर
प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय रूपन्देही
लागुपदार्थ दुर्व्यसनी राष्ट्रव्यापी समस्या बन्दै गइरहेको छ । रूपन्देहीमा पनि समस्या बढ्दो छ । चारैतिर खुला भारतीय सिमानाका छन् । लागुपदार्थ सेवनका कारण सडक दुर्घटना हुने गरेका छन् । प्रहरीले मापसेसँगै लापसेको पनि चेकजाँच गर्छ । समाजमा चोरी, डकैती, लुटपाटजस्ता घटनाहरू यसैका कारण हुने गरेका छन् । यसको सेवन र कारोबारलाई निरुत्साहित गर्न समुदाय र विद्यालयहरूमा सचेतनाका कार्यक्रमहरू गरिरहेका छौं । विद्यालय तहबाट विद्यार्थीलाई सचेतना दिन सकियो भने दीर्घकालीन समाधान हुनसक्छ । रूपन्देहीमा मात्रै पछिल्लो तीन आर्थिक वर्षमा २ सय ४१ वटा मुद्दा लागुपदार्थ दुर्व्यसनीसँग सम्बन्धित छन् ।
रूपकुमार क्षेत्री
प्रधानाध्यापक, लीलाराम न्यौपाने मावि भैरहवा
सार्वजनिक स्थल र होटल, रेस्टुरेन्टहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरू भेटिन्छन् । पढ्दै गरेका युवा पनि होटलमा हुक्का तानेको अवस्थामा देखिन्छन् । होटलहरूमा खुलेआम लागुऔषध सेवन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । प्रहरी प्रशासनले विशेष निगरानी गर्नुपर्छ । पाठ्यक्रममा पनि लागुऔषधको सेवनबाट हुने हानिनोक्सानीका कुराहरू विद्यार्थीलाई सिकाइन्छ । तर, पाठ्यक्रमले मात्र यो विषयको किनारा लाग्दैन । सचेतनालाई समाज र विद्यालयमा सँगसँगै लैजानुपर्छ । लागुऔषध सेवन गर्ने व्यक्तिहरू आँखै अगाडि देखे पनि समाजका सचेत नागरिकले वेवास्ता गर्ने गरेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !