धुवाँकोटको तामाखानी अध्ययन सुरु

धुवाँकोटको तामाखानी अध्ययन सुरु
सुन्नुहोस्

गोरखा : १२० वर्षभन्दा पहिले सञ्चालनमा रहेर बन्द रहेको धुवाँकोटको तामाखानीबारे अध्ययन सुरु भएको छ । पालुङटार नगरपालिका— ८ धुवाँकोटको जंगलमा रहेको तामाखानीको खानी तथा भूगर्भ विभागका इन्जिनियर सुजन देवकोटाको टोलीले अध्ययन गर्न सुरु गरेको हो ।

स्थानीयवासी र नगरपालिकाको अनुरोध एवं प्रधानमन्त्री कार्यालयको निर्देशनमा विभागले अध्ययन थालेको वडाध्यक्ष होपबहादुर नेपालीले जानकारी दिए । ‘इन्जिनियरसाप र जनप्रतिनिधिसहित १० जनाको टोलीले खानीभित्र छिर्ने बाटो बनाउन प्रयास गरेको थियो’, नेपालीले भने, ‘तर यत्तिका वर्षसम्म प्रयोगविहीन भएको खानीको प्रवेशद्वार भत्किएर, भास्सिएरभित्र पस्न नसक्ने भएको रहेछ । त्यसैले अस्ति सम्भव भएन । अब फेरि थप बलसहित खन्ने प्रयास गर्ने छौं ।’ त्यहाँको ढुंगा, माटो आदि अध्ययन अनुसन्धानका लागि खानी तथा भूगर्भ विभागमा पठाउने निर्णय भएको वडाध्यक्ष नेपालीले बताए ।

पहिरोले खानीभित्र जाने बाटो थुनिएर अध्ययन, अनुसन्धान गर्न कठिनाइ भएको विभागका इन्जिनियर सुजन देवकोटाले बताए । ‘धुवाँकोटमा सय वर्षअघि सञ्चालनमा रहेर बन्द भएकाले तामा छ कि छैन भन्नेमा शंका छैन । तर सय वर्षदेखि बन्द भएको ठाउँ एक दुई दिन खनेर खानीभित्र पस्न सक्ने ठाउँ बनाउन सकिँदैन । त्यहाँ अझै खन्नुपर्दछ’, उनले भने, ‘यहाँ मात्र होइन, नेपालको पहाडी भूभागमा तामाखानी बग्रेल्ती छन् । तर अन्दाजमा उत्खनन गर्न मिल्दैन, त्यसैले प्रारम्भिक अनुसन्धान गरेर मात्र उत्खनन गर्ने छौं ।’ गोरखाको ग्याजी तामाखानी उत्खननका लागि दुई वर्ष लगातार टेन्डर गर्दा पनि कसैको आवेदन नआएकाले यस वर्ष पनि टेन्डरको तयारीमा रहेको उनको भनाइ छ ।

तर स्थानीयवासीको भने सरकारले तामाखानीलाई बेवास्ता गरेको गुनासो छ । खानीको अध्ययन भएर सञ्चालनमा ल्याउन सके जिल्लाकै आर्थिक कारोबारले फड्को मार्ने र हजारौं युवाले रोजगारी पाउने स्थानीय काजीराम परियारको भनाइ छ । त्यस्तै स्थानीय खानीबाट तामा निकाल्न सके तामाका भाँडाकुँडाको आयात रोकिने र निर्यात गर्न सकिने उनी बताउँछन् । तत्कालीन श्री ३ चन्द्रशमशेरबाट इजाजत पाएपछि गाईखुर घर भएका चारखालका डिठ्ठा रामदत्त पन्तले धुवाँकोटमा तामा खानी उत्खनन गरेका थिए । उत्खनन गरेको पहिलो दिन ८२ धार्नी तामा निकालेका उनका पछिल्ला पुस्ताका रामजी पन्त बताउँछन् ।

यहाँको तामा लगेर गाईखुर बरफडाँडामा तामाको पाताले छाएको घर बनाउने योजना बनाउँदै थिए । तर त्यति नै बेला दोस्रो विश्वयुद्धले ध्वस्त बनेका विकसित मुलुकका संरचना बनाउन तथा हतियार बनाउन तामाको हाहाकार भएको थियो । त्यसैले तामाको पाताले घर छाएको प्रचारप्रसार भएमा अन्तर्राष्ट्रिय स्तरबाटै खतरा हुने त्रासले यो प्रोजेक्ट सफल भएन । 

वनभरि तामाका मुना फेला पारेपछि यसको उत्खनन स्थानीयवासीले श्री ३ सँग उठबस भएका गाईखुरका रामदत्तलाई अनुरोध गरेका थिए । मनग्य तामा उत्खनन गरेपछि हौसिएका रामदत्त डिठ्ठाले स्थानीय देवदेवीको दोष मेटाउने हेतुले त्यसको आसपास सिद्धबाबाको थान स्थापना गरे । त्यहाँ हरेक मंगलबार पूजा गर्ने थिति बसाले । त्यहाँ नगरा बजाउने नचर्गीलाई रातामाटेमा १० मुरी माटो बकस दिए । त्यहाँ अहिले पनि हरेक मंगलबार पूजाआजा हुने गर्छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.