अर्घाखाँचीमा चट्याङ लागेर एकजना गम्भीर घाइते, हुरीले डेढ दर्जन घरगोठका छाना उडायो
अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एक जना गम्भीर घाइते भएका छन्। भूमिकास्थान नगरपालिका १० लिसेपानी बस्ने ७२ वर्षीय एमबहादुर घर्ती चट्याङ लागेर गम्भीर घाइते भएका हुन्।
बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइँदै गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
बिहान अन्दाजी ९ बजेर चट्याङ लागेको खबर प्राप्त हुनसाथ धनचौर प्रहरी चौकीबाट प्रसनि कुलराज खनालको कमाण्डमा गएको टोलीले घाइतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको हो। घरमा रहेका अन्य परिवार सकुशल रहेका छन्।
गए रातीको हावाहुरीले पाणिनि गाउँपालिका ६ धातिबाङ्गमा १७ घर गोठका छाना उडाएको छ। वडा भरीमा ११ वटा घर र ६ वटा गोठका छानो हावाहुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए। हावाहुरीले छानो उडाएका घरगोठ तथा अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको वडा अध्यक्ष पौडेलले बताए।
सन्धिखर्क नगरपालिका १० धरमपानीका कमल जिसिको कुखराको खोर गए रातीको हावाहुरीले भत्काइ पूर्ण रुपमा क्षति भएको छ। खोर भत्किएपछि खोरमा रहेका झन्डै १ सय ५० वटा बोइलर कुखरा च्याप्पिएर मरेका छन्।
गत राती हावा हुरीसँगै परेको वर्षाको कारण शितगंगा नगरपालिका १२ देउराली बस्ने भीम बहादुर चित्रेको टिनले छाएको २ तले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। छानो उडाउनुको साथै घरको गारोसमेत भत्किएको छ।
प्रतिक्रिया दिनुहोस !