दुर्गा प्रसाईलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइने
झापा :राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई बुद्ध एयरको जहाजबाट काठमाडौं लगिने भएको छ। प्रहरीको विशेष टोलीले उनलाई काँकटभिट्टा नाकाबाट झापा ल्याएको हो। केहीबेरअघि झापा ल्याइपुर्याएका प्रसाईंलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो।
भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि सीमा नाकामा प्रसाईं परिवारका सदस्य र केही समर्थकहरू भेला भएका थिए। सुरक्षाकर्मी पनि तैनाथ अवस्था छन् ।
राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्।
प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राती ९:१३ बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !