हराएका बालक ९ दिनपछि त्रिशुलीमा मृत भेटिए
गोरखा : ९ दिनदेखि सम्पर्कबाहिर भएका गोरखाका एक बालक मृत अवस्थामा भेटिएका छन्। गत चैत २३ गतेदेखि बेखबर बनेका गण्डकी गाउँपालिका -८ का ११ वर्षका निकेश नेपाली आइतबार बूढीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार नेपाली गत चैत २३ गते दिउँसो करिब चार बजे बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि निरन्तर खोजतलास गर्ने क्रममा शनिबार गण्डकी गाउँपालिका–७ भंगालस्थित त्रिशुली नदी किनारमा फेला परेको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।
‘बालकको शव सडेगलेको अवस्थामा फेला परे’, सुवेदीले भने। नेपालीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस !