शिक्षक आन्दोलनले नयाँ शैक्षिक सत्रका कामहरू अनिश्चित
गोरखा : विद्यालय बन्द गरेर शिक्षकहरू लामो समयदेखि आन्दोलनमा सहभागी हुँदा नयाँ शैक्षिक सत्रका सम्पूर्ण कामहरू अनिश्चित भएका छन्।
शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक, ग्रेडवृद्धि परीक्षा तथा भर्ना अभियान लगायतका गतिविधिहरू रोकिएको पालिकाका शिक्षा शाखाहरूले जनाएका छन्। बारपाक सुलिकोट गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षा अनिश्चित भएको जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत सुवास आलेद्वारा हस्ताक्षरित सूचनामा आउँदो मंगलबारदेखि सञ्चालन हुने भनिएको ग्रेडवृद्धि परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ। ‘गत चैत १९ गतेको बैठकले वैशाख २ गतेदेखि ८ गतेसम्म कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने निर्णय भएकोमा हाल जारी शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ’, सो सूचनामा भनिएको छ।
गोरखाका अन्य ११ वटा पालिकाका सामुदायिक विद्यालयहरूले पनि चैत महिना समाप्त भइसक्दा पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेका छैनन्। कुनै विद्यालयहरूले भने गोप्य रूपमा विद्यार्थीहरूलाई नतिजा सुनाएका छन्।
नतिजा सार्वजनिक नहुँदा नयाँ शैक्षिक सत्रका सबै नयाँ कार्यक्रमहरू प्रभावित भएका छन्। विद्यार्थी भर्ना अभियान लगायतका कार्यक्रमहरू पनि प्रभावित भएका पालिकाको शिक्षा शाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !