कर्णाली र लुम्बिनी प्रदेश जोड्ने ‘छोटो मार्ग’ अलपत्र
सुर्खेत : कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशसँग जोड्ने छोटो मार्ग (सडक) अलपत्र परेको छ। भेरी नदीमा पुल निर्माण नहुँदा कर्णालीको सुर्खेतबाट लुम्बिनीको बर्दियालाई जोड्ने सडक अलपत्र परेको हो।
सुर्खेत र बदिर्या जोड्ने भुरीगाउँ–तेलपानी सडक सञ्चालनका लागि रानीघाटस्थित भेरी नदीमा पुल अनिवार्य छ। तर, त्यही पुल १२ वर्षदेखि निर्माण हुन सकिरहेको छैन। बरु पुलका लागि नदीमा बन्दै गरेका पिल्लरसमेत हाल अलपत्र अवस्थामा छन्।
भेरी नदीमा निर्माण हुनुपर्ने यही पुल अलपत्र परेका कारण बर्दियाको भुरीगाउँदेखि सुर्खेतको तेलपानी जोड्ने सडकको स्तरोन्नति हुन सकेको छैन। जसलेगर्दा छोटो मार्ग भएर पनि स्थानीय बासिन्दालाई आउजाउ गर्न लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता छ। यो सडकको जम्मा लम्बाइ ५२ किलोमिटर छ। भेरीमा पुल बनेर सडकको स्तरोन्नति भएमा सुर्खेतलाई तराईसँग जोड्ने यो नै सबैभन्दा छोटो मार्ग हुनेछ। तर यही पुल निर्माण नहुँदा लामो दूरीको यात्राबाट कोहलपुर हुँदै बर्दियासम्म पुग्नुपर्ने बाध्यता छ।
कर्णालीलाई लुम्बिनी प्रदेशसँग जोड्ने यो मार्ग छोटो भएकाले पनि बारम्बार यो सडकको स्तरोन्नति र पुल निर्माणको आवाज उठिरहेको छ। पुल निर्माण नहुँदा स्थानीयलाई आउजाउ गर्न सकस भइरहेको हो। यस्तै स्थानीयले उत्पादन गरेका वस्तुलाई बजारसम्म लैजान समस्या भइरहेको छ। सरकारी बेवास्ताका कारण यो सडक निर्माणको योजना हाल अलपत्र परेको हो। आर्थिक वर्ष २०७१÷०७२ यता उक्त सडक योजनाको काम अगाडि बढ्न सकेको छैन। आधा काम भइसकेको आयोजनामा बजेट बिनियोजन नहुँदा थप काम अघि बढ्न नसकेको हो।
यो सडकको ट्र्याक खोल्ने काम पनि आधा मात्रै भएको छ। बर्दियाबाट सुर्खेतको सिमानासम्म र सुर्खेतबाट बर्दियाको सिमानासम्म ट्र्याक खोलिएको छ। यद्यपि बिचमा ट्र्याक खुल्न भने बाँकी छ। सुर्खेतको तेलपानीदेखि बर्दियाको भुरीगाउँसम्म जोड्ने ५२ किलोमिटर सडक निर्माणको योजना २०७० सालदेखि अघि बढाइएको थियो। पछिल्ला वर्षमा सरकारले यो सडकका लागि बजेट छुट्ट्याउन छोडेको छ। बर्दियाको भुरीगाउँबाट सुर्खेतको तेलपानी जोड्ने सडकमध्ये १२ किलोमिटर बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्छ।
यो सडक सञ्चालनमा आए सुर्खेतको मात्र नभएर लुम्बिनी र कर्णालीका अन्य जिल्लामा औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने यहाँका स्थानीयवासी बताउँछन्। समग्र कर्णालीलाई लुम्बिनी अर्थात तराईसँग जोड्ने यो मार्ग नै छोटो मानिएको छ। यहाँका राजनीतिक दलले पटकपटक जिल्लामा आउने सरकार तथा राष्ट्र प्रमुखलाई यो सडक निर्माणका लागि भन्दै जर्दनौं मागपत्र बुझाइ सकेका छन्। तर त्यसको कुनै सुनुवाइ भएको छैन।
१२ वर्षसम्म पनि किन बनेन रानीघाटमा पुल ?
कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको बर्दिया जोड्ने भुरीगाउँ–तेलपानी सडकमा भेरी नदी पर्छ। त्यही भेरी नदी रहेको रानीघाटमा पुल निर्माण हुन सकेको छैन। १२ वर्ष बित्दासमेत यो पुल निर्माण हुन नसकेको हो। पुलको डिजाइनमा केही प्राविधिक त्रुटि भएको र ठेकेदारले पछिल्लो समय अदालतमा दर्ता गरेको मुद्दाको किनारा नलाग्दा यो पुल १२ वर्षसम्म पनि अलपत्र परेको हो।
२०६९ साल असार २९ गते पप्पु मल्ल जेभीसँग ४३ महिना अर्थात २०७२ साल पुस २९ गतेभित्र सक्नेगरी यो पुलको निर्माण गर्नेगरी सम्झौता भएको थियो। त्यसबेला यो पुलको लागत १४ करोड २९ लाख ८९ हजार रुपैयाँ थियो। सम्झौतापछि निर्माण कम्पनीले काम पनि सुरुवात गर्यो। भेरी नदीमा दुई वटा पिल्लर राख्ने काम भयो। तर बीचको पिल्लरको डिजाइनमा त्रुटि भएर केही बांगिएपछि पुल निर्माणको काम रोकियो।
डिजाइनमा प्राविधिक गल्ती भएपछि निर्माण कम्पनीले अदालतमा मुद्दा दर्ता गरेको छ। पुल निर्माण हेर्ने सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार अदालतमा मुद्दा नटुंगिएकोले पुलको काम सुरु हुन सकेको छैन। कार्यालयका इन्जिनियर बर्खबहादुर कठायतका अनुसार निर्माण कम्पनीले काम अलपत्र पारेपछि कार्यालयले २०७९ असार २० गते ठेक्का सम्झौता तोडेको थियो। इन्जिनियर कठायतले भने, ‘मुद्दाको किनारा नलागेकोले नयाँ ठेक्का प्रक्रिया पनि सुरु हुन सकेको छैन, अब मुद्दाको टुंगो लागेपछि मात्र पुलको नयाँ ठेक्का प्रक्रिया सुरु हुनेछ।’
प्रतिक्रिया दिनुहोस !