निर्णायकमा उत्कृष्ट कविता

निर्णायकमा उत्कृष्ट कविता
सुन्नुहोस्

काठमाडौं : जुन बेलादेखि कविता श्रेष्ठले तेक्वान्दोमा रेफ्री (निर्णायक) हुने निर्णय गरिन्, त्यतिबेला नेपालमा महिला रेफ्रीको संख्या अत्यन्त कम थियो। एकाध महिलाले मात्रै रेफ्री गर्थे। तर, अहिले परिस्थिति फरक भइसकेको छ।

हरेक प्रतियोगितामा पुरुषसँगै महिला रेफ्रीको उपस्थिति बाक्लो हुन थालेको छ। अझ राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रेफ्री हुने महिलाहरूको संख्या पनि दिनानुदिन बढ्दै गएको छ। यसमा कतै न कतै कविता श्रेष्ठजस्ता महिला रेफ्रीको भूमिका पनि महत्वपूर्ण मानिन्छ। उनीहरूको पदचाप पछ्याउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एरिनामा नेपालका महिला तेक्वान्दो रेफ्रीको संख्या दिनानुदिन बढ्न थालेको छ। 

कविताको जन्म काठमाडौंमा भए पनि उनको मूल घर ओखलढुंगाको यसम–९ मजुवा हो। पिता हेमबहादुर श्रेष्ठ र माता अनिता श्रेष्ठको कान्छी छोरी कविताले २०७१ सालमा काठमाडौंको दशरथ रंगशालामा आयोजना भएको महिला सशक्तीकरण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामार्फत निर्णायक यात्रा सुरु गरिन्। यसपछि घरेलु भूमिमा आयोजना भएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्री बनेकी उनी पूर्वाञ्चलमा आयोजना भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि आफ्नो कुशलता प्रदर्शन गरिन्। कविता तीन पटक उत्कृष्ट रेफ्रीबाट सम्मानित पनि भएकी छन्। 

सन् २०१९ मा नेपालमा आयोजना भएको तेस्रो ग्योरोगी तथा पुम्से काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री बन्न सफल भइन्। यस्तै सन् २०२० मा आयोजना भएको दोस्रो एभरेष्ट राष्ट्रिय तेक्वान्दो प्रतियोगिता र अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा उनी उत्कृष्ट निर्णायक बन्न सफल भइन्। करिब १० वर्ष राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी उनी गत जनवरी १७ देखि २० सम्म भारतको पुणेमा आयोजना भएको १३३औं ग्योरोगी अन्तर्राष्ट्रिय रेफ्री कोर्स उत्तीर्ण गर्न सफल भइन्। 

कविता करिब एक दशकदेखिको आफ्नो मेहनत र निरन्तरको साधनाले नै अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल भएको बताउँछिन्। ‘अन्तर्राष्ट्रिय रेफ्री बन्न निकै कठिन छ। लिखित परीक्षासँगै फिजिकल र ह्यान्ड सिग्नलमा पनि उत्तीर्ण हुनुपर्छ’, कविता भन्छिन्, ‘एक दशकदेखिको मेहनत र सक्रियताले नै अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएको हुँ।’

सानै उमेरदेखि तेक्वान्दो खेलमा होमिएकी कविताले सफल खेलाडी, उत्कृष्ट प्रशिक्षक र निर्णायकसँगै कुसल व्यवस्थापकका रूपमा पनि आफूलाई स्थापित गरेकी छन्। कविताले सानै उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरिन्। त्यतिबेलाको सामाजिक परिवेशले उनलाई तेक्वान्दोप्रति आकर्षित गरायो। कविता निकै मेहनती थिइन्। उनले छोटो समयमै तेक्वान्दो कला सिकिन्।

त्यसपछि विभिन्न डोजाङ, जिल्ला र राष्ट्रिय प्रतियोगितमा उत्कृष्ट प्रदर्शन गरिन्। यससँगै उनले थाइल्यान्डको बैंककमा आयोजना भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जित्न सफल भइन्। सक्रिय खेलाडी नटुङ्ग्याउँदै कविताले प्रशिक्षक पेसा अंगालिन्। उनले विभिन्न विद्यालयका बालबालिकालाई आफूले सिकेको कला सिकाइन्। अहिले पनि उनी नाम्स र युरो स्कुलमा नियमित रुपमा तेक्वान्दो प्रशिक्षण गराउँदै आएकी छन्।

कविता प्रशिक्षण र निर्णायकसँगै तेक्वान्दोकै व्यवस्थापनमा पनि सक्रिय छिन्। उनी काठमाडौं जिल्ला तेक्वान्दो संघको कोषाध्यक्षको भूमिकामा छिन्। निरन्तरको मेहनत, लगनशीलता र इमान्दारिताका कारण आफूले हरेक विधामा सफलता हासिल गरेको उनी बताउँछिन्।

‘हरेक मानिसमा मेहनत, लगनशीलता र इमान्दारिता हुनुपर्दछ। यो सफलताको महत्वपूर्ण कडी पनि हो’, कविता भन्छिन्, ‘वषौंदेखि एकलब्य भावले काम गरेकै कारण यो अवस्थामा आइपुगेको हुँ।’ उनको वषौंदेखिको लगनशीलता र इमान्दारिताको उच्च कदर गर्दै नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले सम्मान पनि गरिसकेको छ। उनी टोखा नगरपालिकाकै तेक्वान्दोकी एक्लो अन्तर्राष्ट्रिय निर्णायक हुन्।

सामान्य परिवारमा जन्मिएकी कविताले यहाँसम्म आइपुग्न धेरै नै दुःखकष्ट सहिन्। घर परिवारसँगै साथीभाइबाट पनि ‘खेलेर के पाइस्’ भनेर प्रश्न गर्थे। उनले ती सबैको जवाफ तेक्वान्दोबाटै दिइन्। ‘म अहिले जुन स्थानमा आइपुगेको छु। यसका लागि धेरै दुःखकष्ट सहेको छु। मलाई प्रश्न गर्ने सबैलाई तेक्वान्दोबाटै जवाफ दिएको छु’, कविता भन्छिन्, ‘तेक्वान्दोले मलाई धेरै कुरा दिएको छ। मैले तेक्वान्दो प्रशिक्षकका रूपमा जागिर पाएको छु। सफल खेलाडी, प्रशिक्षकसँगै अन्तर्राष्ट्रिय निर्णायकको परिचय बनाएको छु। यो सम्झिँदा पहिलेको दुःख बिर्सन्छु र खुसी हुन्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.