विदेशी मापदण्ड, स्वदेशी उत्पादन डेलिस डेरिज
काठमाडौं : बजारमा विदेशी ब्रान्डजस्तै देखिने र स्वादमा पनि विदेशी पाराकै डेलिस ग्रिक योगर्ट नेपालमा पाइन्छ। दहीको प्राकृतिक स्वादसहित ग्रिक योगर्टमा प्रोटिन बढी र चिनीको मात्रा अत्यन्तै कम हुन्छ भने अन्य दहीभन्दा पानीको मात्रा पनि कम हुन्छ।
विदेशमा पाइने ग्रिक योगर्टलाई नेपाली बजारमा ल्याउन तीन युवाले बुनेको सपनाको साकार रूप नै डेलिस डेरिज हो।
डेलिस डेरिजको जन्म तीन जनाको साथीको सपना हो। चितवनका विनय बोगटी र सन्दीप पौडेल तथा संखुवासभाका सूर्य कार्कीले नेपालीमा दहीको नयाँ स्वाद ल्याएका हुन्। सूर्य अमेरिकाबाट फर्किएर आएको, सन्दीप चार्टर्ड एकाउन्टेन्ट पढाइ सकेर बसेको, विनय बोगटी भारतमा बीकम गरेर बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेको। तीनै जनाको प्यासन (जुनुन) कृषि, खाना, उद्योगसँग सम्बन्धित केही गर्नुपर्छ भन्ने हुटहुटी भएको थियो। एउटै जुनुन भए पनि सबै आआफ्नै काममा व्यस्त। तर, एउटा भेटले नयाँ केही गर्ने निर्णय गर्यो र त्यसको फलस्वरूप डेलिस डेरिज जन्मेको सह–संस्थापक एवं महाप्रबन्धक सन्दीप पौडेल बताउँछन्।
साथीत्वको परिकल्पना नै डेलिस डेरिजको जन्म भएको सहसंस्थापक एवं बजार प्रबन्धक सूर्य कार्की बताउँछन्। ‘तीन जना युवाले कालो कफी खान बसेका साथीको मन मिलेपछि सेतो डेरी उद्योग स्थापना भएको हो। हामीले यो सम्बन्धमा मिहिन छलफल गरेका थियौं,’ कार्की थप्छन्।
बालुवाटारको कफी सपबाट बुनेको सपनाले सन् २०१८ मा साकार पायो। डेलिस डेरिस दर्ता भयो र उत्पादनको प्रक्रिया अघि बढाउन थाल्यो। चितवनबाट काठमाडौं र अन्य सहर नजिक भएकोले यहाँ नै मुख्य कार्यालय स्थापना गराइयो। ‘हामीले सधैं प्रिमियम दूध लिन्छौं। त्यसमा भ्यालु अडिसनपश्चात् दुग्ध पदार्थहरूको बजारीकरण भई ग्राहकद्वारा खपत गर्न सकिन्छ,’ सन्दीप भन्छन्।
केही फरक र नयाँ गर्नुपर्छ भन्ने डेलिसको मुख्य उद्देश्यलाई ध्यानमा राखेर नै डेरी उत्पादनमा केही भिन्न स्वाद पस्कियो डेलिसले। ‘कृषि अन्तरगतको डेरी उद्योग भनेको निकै नै पुरानो हो। यसमा इनोभेसन भइरहेको थिएन। हामीले केही नयाँ गर्नेभन्दा ग्रिक योगर्टलाई डेलिस डेरिजबाट नेपाल भिœयाउने तयारी सुरु गर्र्यौं,’ सन्दीप सुनाउँछन्। ग्रिक योगर्ट सुपर फुडको रूपमा पहिलो विश्वयुद्धपछि युरोपमा र दोस्रो विश्वयुद्धपछि अमेरिकामा पुर्याइएको थियो। त्यो सुपर फुडलाई नेपालमा ल्याइयो तर त्यसमा प्रयोग हुने ९९ प्रतिशत कच्चापदार्थ नेपालको नै प्रयोग गरियो। त्यसमा एक प्रतिशत भनेको ग्रिक योगर्ट बनाउन आवश्यक जोडर्न (कल्चर) मात्र थियो, जुन बाहिरबाट आयात हुन्छ। डेलिस ग्रिक योगर्ट अन्य दहीभन्दा केही फरक रहेको छ। घरमा हामीले बनाउने दही ३–४ घण्टामा बन्छ भने डेलिस ग्रिक योगर्ट बनाउन २४ घण्टा लाग्छ। यसलाई अत्याधुनिक मेसिनको सहायताले हाइजिन स्टेसनमा बनाउनुपर्ने हुन्छ। यो योगर्ट बनाउन एक लिटर दूधबाट करिब एक तिहाइमात्र दही बनाउन सकिन्छ। यसको प्रक्रिया नै चुनौतीपूर्ण भएको र बजारमा नभएको हुनाले गुण नियन्त्रकबाट प्रमाणित गराउन पनि समय लागेको सन्दीप सुनाउँछन्।
नेपालमा दूधको क्षेत्रमा अपार सम्भावना देखेर नै डेलिस डेरिज आएको हो। डेलिसले किसानबाट दूध लिँदा पराल खुवाएको भन्दा पनि चरेको गाई, भैंसीको दूधलाई प्राथमिकतामा राखेको छ। करिब १० घरबाट दैनिक दुई सय लिटर भएको डेलिसको यात्रा अहिले करिब आठ सय घरधुरीबाट दैनिक करिब आठ हजार लिटर दूध लिइने सन्दीपले जानकारी दिए। चितवनलाई आधारित बनाएर अग्रणी डेरी उद्योगको रूपमा स्थापना भएको डेलिसले आफ्नो दोस्रो कारखाना इलामको फिकलमा पनि स्थापना गरेको बजार प्रबन्धक सूर्यले बताए।
अब एक महिनामा यहाँबाट नेपाली ब्रान्डको उत्पादन गरिने बताइएको छ। अब यो कारखानासँगै करिब १८ सय किसानसँग प्रत्यक्ष रूपमा डेलिस काम सुरु गर्नेछ। दही खाइरहेको समाजमा ग्रिक योगर्ट ल्याउनु भनेको चुनौती थियो भन्दै बजार प्रबन्धक सूर्यले सुरुमा एक सय कप बेच्न पनि गाह्रो भएको बताउँछन्।
सन् २०२१ बाट उत्पादन सुरु गरेको यो उद्योगले पहिला यो दहीको बारेमा उपभोक्ताले सिकाउन समय लाग्यो। यो समयमा टिमले धैर्यका थप रणनीति बनाएको उनी भन्छन्। भातसँग मुछेर दही खाने देशमा अहिले कपमा दही किनेर खानेलाई प्रेरित गर्ने काम डेलिसको गुणस्तरीय उत्पादनले गर्न सकेको छ। अहिले दैनिक १५ सय कप ग्रिक योगर्ट बिक्री हुन थालेको छ।
करिब ५० लाख लगानीबाट सुरु भएको यो उद्योगले सञ्चालनको चार वर्षमा लगानी विस्तार गर्दै करिब २५ करोड पुर्याएको छ। ‘न हामी औद्योगिक घरानाबाट थियौं, न हुने खाने घरबाट नै थियौं, हामीले घरबाट र बैंकबाट ऋण लिएर यो उद्योग स्थापना गरेका हौं,’ सूर्य बताउँछन्। व्यावसायिक यात्रा २०२१ बाट सुरु भएकोमा २०२४ बाट उद्योग नाफामा गएको छ। उद्योगले नाफा बाँड्ने भन्दा पनि थप लगानी विस्तार गर्दै कम्पनीलाई अघि लैजाने नीति बनाएको छ।
परिवारको साथ सहयोगले उद्योगलाई स्थापना गरियो, तर सुरुमा नै ग्रिक योगर्ट बनाउनेभन्दा पनि सामान्य दूध, दही पनि बिक्री गरिएको सन्दीप भन्छन्। सुरुमा रेफ्रिजेरेटर नभएपछि बोलेरो गाडीमा नै सामान्य फ्रिज जोडेर दूध, दही बेच्न सुरु गर्यो। सोही समयमा नै डेलिसले पञ्चमी भन्ने भगिनी संस्था ल्यायो। अहिले डेलिसका ३५ देखि ४० वटा छुट्टाछुट्टै उत्पादन छन्, जसमा दूध, दही, घिउ पनिर, बटरका सामान्य उत्पादनदेखि प्रिमियममा दहीदेखि मिल्कसेक लस्सीसम्म उपलब्ध रहेको छ। चितवनबाट सुरु भएको यो यात्रा अहिले नेपालभर नै फैलिएको छ। यसै वर्षदेखि पूर्वदेखि पश्चिमसम्म डेलिसका उत्पादन पाउन सकिन्छ। ‘सुरुका दिनमा चितवन दासढुंगासम्म दिनको १० हजार र १६ हजार रुपैयाँसम्मको बेच्दाको खुसी र अहिले नेपालको कुनाकुनामा डेलिसका उत्पादन पाउने खुसी अतुलनीय छ,’ सूर्यको भनाइ छ। रेभ्युन्यु बढ्नु आफ्नो ठाउँमा छ अहिले डेलिस, ब्रान्डको रूपमा स्थापित भएको उनी भन्छन्।
हरेक घरमा डेलिस उत्पादन पुग्न सफल भएको छ। अहिले सबै डिपार्टमेन्टल स्टोर र अन्य स्टोरमा डेलिस पाउन सकिन्छ। डेलिसका उत्पादनको अन्यको तुलनामा आयु पनि लामो छ भने किनभने यसमा दूध प्रिमियम गुणस्तरको दूध र फुडग्रेड प्लास्टिकको प्रयोगसँगै फिलिङ लाइन पनि एसेप्टिक छ। करिब १५ दिनसम्म डेलिस ग्रिक योगर्ट राखेर खान सकिन्छ भने डेलिसका फ्लेवर मिल्कका उत्पादनहरू एक वर्षसम्म खान सकिन्छ।
फार्म टु टेबलमा काम गर्ने डेलिसको परियोजनाअन्तर्गत प्रिमियम उत्पादन नै उपभोक्तालाई पुर्याउने लक्ष्य रहेको महाप्रबन्धक सन्दीप बताउँछन्। त्यतिमात्र नभई एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको उद्योगले करिब आठ सय घरधुरीका किसानलाई अप्रत्यक्षमा रोजगारी दिइरहेको छ। यस्तै करिब १० हजार खुद्रा पसलमा पनि डेलिस पुग्ने हुँदा त्यहाँ पनि व्यवसायको सिर्जना भएको छ। एउटा व्यावसायिक इकोसिस्टम डेलिसले बनाएको छ।
निर्यातका लागि पनि अध्ययन भइरहेको बजार प्रबन्धक सूर्य बताउँछन्। छिमेकी मुलुक भारतमा अझ उत्तर प्रदेश, बिहारजस्ता सिमाना जोडिएका जिल्लामा निर्यातको सोच डेलिसको छ। सिमाना जिल्लाका वितरकहरूलाई नमुनाका लागि डेलिस उत्पादन पठाउने काम भइरहेको छ भने चाँडै नै वैधानिक रूपमा नै भारतका सहरमा डेलिस पुर्याइने सन्दीपले जानकारी दिए। इलाममा उत्पादन हुने लाई पनि विभिन्न देशमा पुर्याउने डेलिसको लक्ष्य रहेको छ। अमूल, मदर डेरीजस्ता ब्रान्डको ठाउँमा डेलिसलाई पुर्याउने योजनालाई अघि बढाइएको छ, जसले भविष्यमा १० हजारभन्दा बढीमा रोजगारी सिर्जना गरोस्।
तीन युवाले सुरु गरेको डेलिस डेरिज आन्तरिक बजारमा एउटा गुणस्तरीय ब्रान्डको रूपमा स्थापित भएको छ। स्टार्टअपलाई प्रवद्र्धन गर्ने सरकारको नीति पनि छ। तर, उक्त नीति बनाउँदा औद्योगिक घरानाको आवाजलाई मात्र समेटेर ल्याइएको दुःखेसो सूर्यको छ। सरकारले आफूहरूजस्ता संघर्ष गरेर अगाडि आएका स्टार्टअप व्यवसायीहरूलाई हुने किसिमको नीति बनाउन नसकेको बताउँछन्। समस्याका चाङमा बसेर खोलिएका स्टार्टअप व्यवसायीलाई सोध्दामात्रै नीति कस्तो आउनुपर्ने भन्ने थाहा हुने उनको तर्क हो। छिमेकी देशमा स्टार्टअपलाई प्रवर्द्धन गर्न त्यसको इकोसिस्टम तयार गरिएको छ, त्यसरी नेपालमा पनि स्टार्टअपको इकोसिस्टम तयार गर्नुपर्ने महाप्रबन्धक सन्दीप भन्छन्।
प्रतिक्रिया दिनुहोस !