समाज बदल्दै नबिल बैंक
बैंकको मूल उद्देश्य वित्तीय सेवा प्रवाह गर्नु हो। तर, आधुनिक बैंकिङको अवधारणाले संस्थाको मूल्यांकन केवल नाफा, निक्षेप वा कर्जाको आकारबाट मात्र गर्दैन। समाजमा उसले छोडेको सकारात्मक र दीर्घकालीन प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यही सोचलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)लाई परोपकारी सहयोगको सीमाभन्दा माथि उठाएर दिगो विकासको दीर्घकालीन रणनीतिका रूपमा अघि बढाएको छ।
यही कुरालाई मध्यनजर गर्दै राट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ बैंकले ७० भन्दा बढी कार्यक्रमबाट सातै प्रदेशका ४ लाख २९ हजार ९८८ भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएको बताएको छ। शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, वातावरण संरक्षण, वित्तीय साक्षरता, उद्यमशीलता र विपद् व्यवस्थापनलाई केन्द्रमा राखिएका यी कार्यक्रमले समुदायसँग बैंकको सम्बन्धलाई अझ बलियो बनाएका छन्। नबिलका लागि सीएसआर केवल स्थापित औपचारिक सहयोग वितरण मात्र नभई समाज, वातावरण र राष्ट्र निर्माणको दीर्घकालीन साझेदारी माध्यम बनेको देखिन्छ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीका अनुसार बैंकले बैंकिङ एण्ड बियोन्डको अवधाराण अनुरुप धेरै सामाजिक कार्यहरु गरिहरेको छ।
‘संस्थागत सामाजिक उत्तरदायित्वलाई नबिल बैंकले एकदम गम्भिरताका साथ लिएको छ। जलन, विद्यालयमा स्वच्छ खानेपानी, मर्यादित महिनावारी होस् वा युवा उद्यमीहरुको क्षमतालाई मूर्त रुप दिन तालिम लगायत अन्य सुविधा मार्फत हामीले समाजका विभिन्न क्षेत्र र समुदायसम्म सहयोगी हातहरु पुर्याएका छौ,’ नबिल बैंकका सिइओ ज्ञवालीले भने। ‘हाम्रो लागि बैकिङ केवल वित्तिय कारोबार मात्र होइन। सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौं। यस्ता कार्य मार्फत नबिल बैंक बैंकिङको परम्पारगत परिभाषाबाट बाहिर निस्केर समाजमा विभिन्न सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अघि बढेको छ।”
शिक्षामा लगानी: स्वच्छ खानेपानीदेखि सुरक्षित महिनावारीसम्म
शिक्षा क्षेत्रको रूपान्तरणका लागि बैंकले सञ्चालन गरेको 'नबिल स्वच्छ खानेपानी अभियान' मार्फत सातै प्रदेशका १८५ विद्यालयका १ लाख ५० हजार विद्यार्थी स्वच्छ खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन्।यसैसँगै 'नबिल सिक्योरिङ हेल्थ एन्ड इम्पावरमेन्ट (एसएचई)' परियोजनामार्फत ३५२ विद्यालयका एक लाख ७० हजारभन्दा बढी छात्राले महिनावारी स्वास्थ्यसम्बन्धी सुविधा र सचेतना प्राप्त गरेका छन्। सेनेटरी प्याड भेन्डिङ मेसिन, स्वास्थ्य शिक्षा र सुरक्षित वातावरणले धेरै विद्यालयमा छात्राको नियमित उपस्थितिमा सकारात्मक प्रभाव परेको बैंकको विश्वास छ।
खानेपानीले बदलियो विद्यालयको वातावरण
कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालय पनि यस्तै परिवर्तनको साक्षी बनेको छ। केही वर्षअघिसम्म विद्यार्थीहरू घरबाट पानी बोकेर आउँथे। कतिपयलाई विद्यालय बाहिर गएर पानी पिउनुपर्ने बाध्यता थियो। यसको प्रत्यक्ष असर पढाइ र स्वास्थ्य दुवैमा पर्थ्यो। विद्यालयका विद्यार्थी केही वर्ष अघिसम्म तिर्खा मेट्न विद्यालयबाहिर जानुपर्ने बाध्यतामा थिए। प्रधानाध्यापक गौरीकुमारी कुँवर सम्झिन्छिन्, 'पहिले विद्यार्थीका लागि शुद्ध खानेपानी व्यवस्था गर्न नसक्दा अध्ययनमा अवरोध हुन्थ्यो र पानीजन्य रोगको जोखिम थियो। कतिपय अभिभावकले त बालबालिकालाई अन्तै सार्ने तयारी समेत गरेका थिए। अहिले विद्यालयमै सुरक्षित पानी उपलब्ध भएपछि विद्यार्थीको स्वास्थ्य सुध्रेको छ र अभिभावकको विश्वास फर्किएको छ।'
सोही विद्यालयकी कक्षा १० की छात्रा स्मृति अधिकारी थप्छिन्, "पहिले घरबाट पानी बोक्नुपर्थ्यो वा किन्नुपर्थ्यो, अहिले विद्यालयमै पिउन योग्य पानी सहजै पाइँदा निकै राहत भएको छ।" यसैगरी, 'नबिल सिक्योरिङ हेल्थ एन्ड इम्पावरमेन्ट' (एसएचई) परियोजनामार्फत ३५२ विद्यालयका १ लाख ७० हजार छात्रा लाभान्वित भएका छन्। विद्यालयहरूमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान र महिनावारी स्वास्थ्य सचेतनाले छात्राहरूलाई सुरक्षित र सम्मानजनक वातावरणमा अध्ययन गर्ने आधार दिएको छ। यी दुई ठूला परियोजनामार्फत मात्रै कुल ५३७ विद्यालय समेटिएका छन्। यसबाहेक छात्रवृत्ति, पुस्तकालय स्थापना, ब्रेल सामग्री सहयोग र पूर्वाधार सुधारका काम पनि सँगै अघि बढाइएका छन्।
युवा उद्यमशीलता: जागिरे होइन, रोजगारी सिर्जनाकर्ता
युवाहरूलाई उद्यमशीलताको मार्गमा डोर्याउन बैंकले 'नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप' (नबिल एसईई) सञ्चालन गरिरहेको छ। फेलोसिप तथा प्रमाणपत्र तहका कार्यक्रममार्फत १ हजार ५८२ युवाले व्यावहारिक उद्यमशीलताको तालिम पाएका छन्। जसको परिणामस्वरुप २४७ भन्दा बढी सामाजिक उद्यम स्थापित भई १८ हजार ८४७ भन्दा बढी नयाँ रोजगारी सिर्जना भएको बैंकको तथ्याङ्क छ।
परम्परागत सीपलाई आधुनिक व्यापारको मार्ग
संखुवासभाकी सुजना कुलुङले १९ वर्षकै उमेरमा अल्लोको कपडा बनाउने परम्परागत सीपलाई व्यवसायमा ढाल्न त खोजिन्, तर स्पष्ट योजना अभावमा अल्झिएकी थिइन्। नबिल एसईईमा आबद्ध भएपछि उनको व्यावसायिक दृष्टिकोण नै बदलियो। "तालिमले मलाई बजारको माग बुझ्न सिकायो," सुजना भन्छिन्, "पहिले मेरो व्यवसाय एउटा सानो सामुदायिक पसलजस्तो मात्र थियो। यहाँ आएपछि 'बिजनेस टु बिजनेस' (B2B) मोडल बुझेर व्यापारको ढाँचा नै परिवर्तन गरें। आज मेरो व्यवसाय विस्तार हुनुमा त्यहाँ सिकेको व्यावहारिक ज्ञानकै मुख्य भूमिका छ।"
स्वास्थ्य सेवामा नयाँ आशा: 'बर्न सर्जिकल क्याम्प'
स्वास्थ्य क्षेत्रमा बैंकले सञ्चालन गरेको 'नबिल बर्न सर्जिकल क्याम्प' जलनका बिरामीका लागि एउटा ठूलो सहारा बनेको छ। आर्थिक वर्ष २०८२/८३ मा ४९४ जलनका बिरामीले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्, जसमा १३० जनाको सफल शल्यक्रिया गरिएको छ भने ३७ जनालाई थप जटिल उपचारका लागि रिफरल सेवा प्रदान गरिएको छ।
निःशुल्क उपचारले फर्काएको जीवनको उमङ्ग
कञ्चनपुरका ४२ वर्षीय भरत लुहार रङ्गरोगनको काम गरेर परिवार पाल्थे। तर दुर्घटनापछि हात-खुट्टामा लागेको जलनको चोट र आर्थिक अभावका कारण उनी उपचार विहीन थिए। नबिलको निःशुल्क जलन शिविरमार्फत सुषमा कोइराला मेमोरियल अस्पताल रिफर भएपछि उनको सफल शल्यक्रिया भयो। अहिले उनको घाउ निको मात्र भएको छैन, बायाँ हातका औँलाहरू चल्न थालेका छन्। भावुक बन्दै भरत भन्छन्, "पहिलेकै जस्तो कडा काम गर्न नसके पनि अब अरू काम गरेर परिवार पाल्न सक्ने भएको छु। आर्थिक अभावले रोकेको उपचार यसरी होला भन्ने सोचेको थिइनँ, मलाई नयाँ जीवनको आशा मिलेको छ।" शिविरका साथै बैंकले देशका विभिन्न क्षेत्रमा रक्तदान, कृत्रिम अङ्ग सहयोग, मोतियाबिन्दु शल्यक्रिया, तथा अस्पतालहरूलाई अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गर्दै आएको छ।
वित्तीय साक्षरता र समावेशीकरण
वित्तीय पहुँच बढाउन ज्ञान अपरिहार्य रहेको ठहर गर्दै बैंकले सातै प्रदेशमा वित्तीय साक्षरता अभियान चलाएको छ। प्रत्यक्ष प्रशिक्षणमार्फत ३५ हजार ४०० भन्दा बढी व्यक्ति प्रशिक्षित भएका छन् भने रेडियो अभियानमार्फत झन्डै ४१ लाख श्रोतामाझ बचत, डिजिटल बैंकिङ र सुरक्षित वित्तीय कारोबारसम्बन्धी चेतना पुर्याइएको छ।
वातावरण संरक्षण र विपद् व्यवस्थापनमा अग्रसरता
दिगो र पर्यावरणमैत्री विकासका लागि नबिलले वर्षभरिमा ७ हजारभन्दा बढी वृक्षरोपण, नेपाली सेनासँगको सहकार्यमा हिमाल सफाइ अभियान र बागमती करिडोर संरक्षण जस्ता हरित कार्य सञ्चालन गरेको छ। विपद्को समयमा पनि संस्थागत जिम्मेवारी बहन गर्दै बैंकले प्रधानमन्त्री राहत कोषमा २ करोड १ लाख रुपैयाँ तथा सरकारी कोरोना राहत कोषमा ६ करोड रुपैयाँ योगदान गरिसकेको छ। भूकम्प तथा बाढीपीडितका लागि अस्थायी आवास, अक्सिजन प्लान्ट र राहत सामग्री वितरणमा पनि बैंक अग्रपंक्तिमा रहँदै आएको छ। यद्यपि, विभिन्न कार्यक्रमको खर्च विधागत रूपमा छुट्टाछुट्टै उल्लेख गरिएकाले कुल सीएसआर लगानीको एकमुष्ट रकम भने बैंकले सार्वजनिक गरेको छैन।
महिला सशक्तीकरण र सामुदायिक पहल
महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बैंकले 'छोरी उदय', 'कर्णाली छोरी सम्मेलन' तथा सीपमूलक तालिमहरू सञ्चालन गरेको छ। यसका साथै पूर्वाञ्चल विश्वविद्यालयमा सभाहल निर्माण, सांस्कृतिक सम्पदा संरक्षण, खेलकुद प्रवर्द्धन र अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग पुर्याउँदै बैंकले आफ्नो उपस्थितिलाई बहुआयामिक बनाएको छ।
तथ्याङ्कभन्दा माथि परिवर्तनको अनुभूति
आर्थिक वर्ष २०८२/८३ मा नबिल बैंकले सञ्चालन गरेका ७० भन्दा बढी कार्यक्रमहरू केवल तथ्याङ्कको थुप्रो मात्र होइनन्, बरु समाज रूपान्तरणका जीवित कथाहरू हुन्। १८५ विद्यालयका विद्यार्थीले पाएको स्वच्छ पानी, १८ हजार ८४७ भन्दा बढीले पाएको रोजगारी, र विशेषज्ञ उपचार पाएका ४९४ जलनका बिरामी लगायत यी सबै परिवर्तनका सूचक हुन्। कैलालीकी प्रधानाध्यापक कुँवरले विद्यालयमा फर्काएको अभिभावकको विश्वास, छात्रा स्मृतिले भोगेको सहजता, उद्यमी सुजनाले समातेको नयाँ व्यावसायिक मार्ग र भरत लुहारले पाएको नयाँ जीवनको आशा जस्ता लाखौं व्यक्तिहरुको जीवनमा आएको परिवर्तन नै नबिल बैंकको वास्तविक सफलता हो। यी प्रतिनिधि उदाहरणहरूले पुष्टि गर्छन् कि निजी क्षेत्रको सामाजिक उत्तरदायित्व केवल रकम खर्च गर्नुमा मात्र सीमित नभई परिणाममुखी र दीर्घकालीन राष्ट्र निर्माणको बलियो आधार बन्न सक्छ।
नबिल बैंकका अनुसार सामाजिक उत्तरदायित्व बैंकिङ सेवाभन्दा बाहिर समाज, वातावरण र राष्ट्रको दिगो विकासमा योगदान पुर्याउने दीर्घकालीन प्रतिबद्धता हो। यही प्रतिबद्धताअनुसार बैंकले सातै प्रदेशमा समुदायसँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालन गर्दै आर्थिक समावेशीकरण, सामाजिक रूपान्तरण र दिगो विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंककले गरेका प्रमुख कामहरु
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ४ लाख २९ हजार बढी नागरिकको जीवनमा प्रत्यक्ष सकरात्मक प्रभाव पारेको बैंकले वित्तीय साक्षरता, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, महिला सशक्तीकरण, विपद् राहत तथा दिगो विकाससँग सम्बन्धित ७० भन्दा बढी कार्यक्रम सञ्चालन गरेको हो। वित्तीय साक्षरता अभियानमार्फत ३५ हजार ४ सयभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तालिम दिइएको छ भने रेडियो अभियानबाट ४१ लाखभन्दा बढी श्रोतासम्म वित्तीय चेतना पुर्याइएको बैंकले जनाएको छ। यस्तै, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिपमार्फत ११५ फेलोबाट ९३ वटा उद्यम स्थापना भई १५ हजार ७०६ रोजगारी सिर्जना भएको तथा प्रमाणपत्र कार्यक्रमबाट थप १५४ भन्दा बढी उद्यम स्थापना भई ३ हजार १४१ भन्दा बढी रोजगारी सिर्जना भएको छ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि बैंकले उल्लेखनीय योगदान दिएको छ। नबिल स्वच्छ खानेपानी अभियानमार्फत सातै प्रदेशका १८५ विद्यालयका १ लाख ५० हजार विद्यार्थीलाई स्वच्छ पिउने पानीको पहुँच उपलब्ध गराइएको छ भने नबिल स्वास्थ्य तथा सशक्तीकरण (एसएचई) परियोजनाबाट ३५२ विद्यालयका १ लाख ७० हजार विद्यार्थी लाभान्वित भएका छन्। यसका साथै स्वास्थ्य शिविरमार्फत ११ हजार ४ सयभन्दा बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको, ८ हजार पिन्टभन्दा बढी रगत सङ्कलन गरिएको, बर्न सर्जिकल क्याम्प, कृत्रिम हातखुट्टा वितरण, दृष्टिविहीन तथा अपाङ्गता भएका व्यक्तिलाई सहयोग, शैक्षिक सामग्री वितरण, पुस्तकालय स्थापना, छात्रवृत्ति, ब्रेल शैक्षिक सामग्री तथा छात्रामैत्री शौचालय निर्माणजस्ता कार्यक्रम पनि सञ्चालन गरिएको बैंकले जनाएको छ।
यसैगरी बैंकले भूकम्प, बाढी तथा कोरोना महामारीका समयमा राहत तथा पुनःस्थापनामा उल्लेखनीय योगदान पुर्याएको जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग, वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, कोरोना राहत कोषमा ६ करोड रुपैयाँ सहयोग, अस्थायी आवास निर्माण, खाद्यान्न, खानेपानी, स्वास्थ्य सामग्री तथा विभिन्न राहत सामग्री वितरण गरेको बैंकले जनाएको छ। वातावरण संरक्षणतर्फ ७ हजार बिरुवा रोपण, स्वच्छ हिमाल अभियानमार्फत ४५ टन फोहोर व्यवस्थापन, बागमती करिडोर संरक्षण तथा जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गरिएका छन्। महिला सशक्तीकरण, सीपमूलक तालिम, ट्राफिक सुरक्षा, खेलकुद, विज्ञान, संस्कृति, युवा नेतृत्व विकास, विद्यालय पूर्वाधार, स्वास्थ्य उपकरण सहयोगलगायत विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समुदायको दिगो विकाससँग जोड्दै आएको जनाएको छ।
अत: कुनै पनि सामाजिक उत्तरदायित्व कार्यक्रमको वास्तविक मूल्य खर्च गरिएको रकमले होइन, त्यसले मानिसको जीवनमा ल्याएको परिवर्तनले निर्धारण गर्छ। आर्थिक वर्ष २०८२/८३ मा नबिल बैंकले सञ्चालन गरेका कार्यक्रमहरूले सामाजिक उत्तरदायित्वलाई औपचारिक सहयोग वितरणको सीमाभन्दा माथि उठाएर समुदायसँगको दीर्घकालीन साझेदारीमा रूपान्तरण गरेको देखिन्छ। यही कारण नबिल बैंक आज वित्तीय सेवा प्रदान गर्ने संस्था मात्र होइन, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, वातावरण संरक्षण र सामाजिक रूपान्तरणको यात्रामा दिगो विकासको विश्वसनीय साझेदारका रूपमा पनि स्थापित हुँदै गएको छ।
प्रतिक्रिया दिनुहोस !