स्वदेशी जुत्ता–चप्पल उद्योगको सरकारले प्रवर्द्धन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाएका छन्। शुक्रबार सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका पदाधिकारी र सदस्यसँग छलफल गर्दै प्रधानमन्त्री शाहले जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले तीनै तहको सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए । छलफलका क्रममा जुत्ता–चप्पल उत्पादक तथा व्यवसायीहरुले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न आग्रह गरेका थिए ।
त्यस्तै गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्ने तथा आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षण लागू गर्न सरकारको ध्यानाकर्षण गराइएको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जाडेले जानकारी दिए । त्यस्तै व्यवसायीहरुले सरकारबाट आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री व्यवस्था भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस !