आफ्नै कारणले केपी ओलीको सरकार छिट्टै ढल्छ : प्रचण्ड
कपिलवस्तु : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार भष्टचारीलाई संरक्षण गर्न लागिपरेको भन्दै आफ्नै कारणबाट चाँडै केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्।
तराई-मधेस हुलाकी राजमार्ग जागरण अभियानका क्रममा कपिलवस्तुको बहादुरगञ्जमा आयोजित सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो बोझ थाम्न नसकेर आफैं यो सरकार ढल्ने दाबी गरे। सरकार बिचौलियाहरूले चलाउन थालेको र भष्टचारमा चुर्लम्म डुबेको उनले आरोप लगाए। कुलमान घिसिङलगायतका उत्कृष्ट कर्मचारीहरूलाई हटाएर सरकारले गलत गरेको उनले बताए।
अध्यक्ष प्रचण्डले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताए। सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि निर्माण भएको उल्लेख गर्दै उनले भने, ‘कुलमान घिसिङलगायतका व्यक्तित्वहरूलाई हटाएर सरकारले गलत गर्यो। यो सरकार भ्रष्टाचारमा डुबेको बिचौलियाले चलाएको सरकार हो।’
आफूले भूमिहीनलाई अधिकार दिन र भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा आफ्नो नेतृत्वको सरकार ढलाइएको अध्यक्ष प्रचण्डले जिकिर गरे। विकास निर्माण र सुशासनका लागि बिचौलियाको हस्तक्षेप रोकेर सरकार परिवर्तन जरुरी रहेको पनि उनले बताए। यसअघि आफूहरू कांग्रेस-एमालेसँग मिलेर ठूलो गल्ती गरेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !