वैशाख १२ गते बारपाकमा सार्वजनिक बिदा
गोरखा : आउँदो वैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा हुने भएको छ। २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पको स्मृतिमा सो गाउँपालिकाले सार्वजनिक बिदा आह्वान गरेको हो।
आइतबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले वैशाख १२ गते पालिका अन्तर्गतका सरकारी, गैरसरकारी, संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीहरू बन्द हुने जनाएको छ।
वैशाख १२ गते भूकम्पको केन्द्रविन्दु बारपाकमा भूकम्प स्मृति दिवस मनाइने भएको छ। सो दिनमा बारपाकमा आयोजित भूकम्प स्मृति दिवस मनाउन पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं २ का सांसद पुष्पकमल दाहाल (प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद सुरेन्द्रराज पाण्डे आउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
४