हाटबजारमा आगलागी : नेपाल बैंकको साइरनले ठूलो क्षति हुनबाट जोगायो
अछाम : साँफेबगर नगरपालिका -३ हाटबजारमा आगलागी हुँदा १० पसल जलेका छन् । शनिबार बिहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भिम कुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सी एण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेको प्रहरीले जनाएको छ ।
आगलागि हुनासाथ नेपाल बैंक लिमिटेडमा जडान गरिएको साइरन बजेपछि अधिकांश व्यापारी र स्थानीयहरुले जानकारी पाएर आगो नियन्त्रणमा खटिएका थिए । बैंकको साइरन बजेपछि धेरैले थाहा पाएको स्थानीय व्यापारी भिम कुँवरले बताए । शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लागी गीता कठायतको पक्की घर भत्काएको छ । बिहान ३ :४५ बजे लागेको आगो ६ बजे स्थानीय, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सक्रियतामा आगो निभेको छ। क्षतिको एकिन विवरण आउन बाँकी छ । गत चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार भिषण आगलागी भएको थियो ।
प्रतिक्रिया दिनुहोस !