यार्सागुम्बाको सिजन सुरु, छेकम्पारका बासिन्दा छेके र बाजुतिर
गोरखा : हिमाली भेगमा यार्सागुम्बा संकलन गर्ने सिजन सुरु भएको छ। सिजन सुरु भएलगत्तै छेकम्पारका बासिन्दा लेकतिर जान थालेका छन्। गाउँलेहरू वैशाख लागेदेखि यार्सागुम्बा संकलन गर्न छेके र बाजुको लेकतिर जान थालेको निवर्तमान वडाअध्यक्ष पासाङ फुञ्जो लामाले जानकारी दिए।
‘यो वर्षको यार्सागुम्बाको सिजन सुरु भएको छ त्यसैले, गाउँका आधाजसो मान्छेहरू लेकतिर लागिसके’, उनले भने, ‘पहिलो चरणमा जानेहरू हिउँ पन्छ्याउँदै जानुपर्छ। त्यही हुनाले सुरु सुरुमा युवा उमेरकाहरू जान्छन्। हिउँ पन्छ्याउँदै गर्छन्। अर्को हप्तातिर बालबालिका, वृद्धवृद्धासमेत सबैजना जान्छन्। तेस्रो चरणमा चाहिँ सिला खोज्ने काम मात्र हुन्छ।’ दोस्रो चरणको यार्सागुम्बा टिप्न जाँदा घरपालुवा पशुचौपाया समेत लिएर जाने उनले बताए।
आउँदो हप्तादेखि ढोकै लगाएर गाउँलेहरू लेक जाने तयारी गरिरहेका अर्का स्थानीय छिरिङफुञ्जो लामाले बताए। ‘अब अर्कोहप्तादेखि ढोकै लगाएर गाउँ रित्तो बनाएर लेक जाने तयारी छ। घर गोठमा भएका याकचौँरी पनि लेक लैजान्छन्’, उनले भने, ‘अब एक महिनासम्म गाउँलेहरू सबै लेकमै हुन्छन्।’ अशक्त बूढाबुढी भएको घरमा भने बूढाबुढी स्याहार्ने मान्छे पनि बस्ने उनले बताए। ‘घर कुर्न बस्ने मान्छेले अरुको घर पनि रेखदेख गर्दिने गर्छन्’, उनले भने, ‘अरुचाहिँ सबै एक, डेढ महिना ढुक्कले लेकमै बस्छन्।’ उनका अनुसार छेके र बाजुको लेकमा यार्सागुम्बा संकलन गर्ने अवधिभरि बस्नका लागि प्रायजसोले गारो लगाएर त्रिपालको ‘छादन’ राखेर अस्थायी संरचना बनाएका हुन्छन् भने, कतिपयले टेन्ट टाँगेर बासस्थान बनाएका हुन्छन्।
यसवर्ष यार्सागुम्बा राम्रै पाउन सक्ने संकेत देखिएको छ। ‘गतवर्ष पनि राम्रै पाइएको थियो। यो वर्ष पनि पहिलो चरणमा जानेले राम्रै पाएका छन् भन्ने खबर आएको छ’, उनले भने, ‘दोस्रो चरणमा यो भन्दा पनि राम्रो पाइन्छ। तेस्रो चरणमाचाहिँ राम्रो त्यति राम्रो हुँदैन।’ सिजनमा यार्सागुम्बा तीनपटक उम्रिने, जसमा दोस्रो पटकको उत्पादन राम्रो हुने उनले प्रष्ट पारे।
गोरखाको छेकम्पार, सामागाउँको लेकमा यार्सागुम्बा संकलन गर्ने गरिन्छ। सामागाउँमा भने जेठ लागेपछि मात्र संकलन गर्ने चलन छ। यार्सागुम्बा यस क्षेत्रको प्रमुख आम्दानीको स्रोत हो। डोल्पा, मनाङपछि छेकम्पार र सामागाउँको यार्सागुम्बा धेरै उत्कृष्ट हुने मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ। यार्सागुम्बा संकलनका लागि स्थानीय स्तरको समितिले राजस्वका रुपमा शुल्क उठाउने गर्छ भने बिक्री गर्ने बेलामा एमक्यापले राजस्व संकलन गर्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस !