सुध्रिँदै शान्ति सुरक्षा
शिक्षा, चेतनाको विस्तार, कानुनी साक्षरता, प्रविधिको विकास, सुरक्षाकर्मीको बाक्लो उपस्थिति आदिका कारण शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ।
२०६६ साल जेठको दोस्रो साता यार्चागुम्बा संकलन गर्न मनाङ गएका गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका सात जनालाई मनाङ, नार गाउँका बासिन्दाले गोली हानी हत्या गरे। घटना कसैले थाहा नपाओस् भन्ने उद्देश्यले उनीहरूको शव काटेर स-साना टुक्रा बनाई मर्स्याङ्दी नदीमा बगाए। एक महिनापछि घटनाको रहस्य बाहिरियो। नारका ८४ घरका ८४ जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलायो। उनीहरू केही वर्षअघि सजाय भुक्तान गरी रिहा पनि भइसकेका छन्।
२०७० सालको मंसिरमा बारपाक सुलिकोट गाउँपालिका-३, स्वाँरा बौदुलका बासिन्दाले स्थानीय एक दम्पतीलाई बोक्सी र धामीको आरोप लगाई आक्रमण गरे। श्रीमानको घटनास्थलमै मृत्यु भयो। श्रीमती उपचारपछि बाँचिन्। मृतक श्रीमान्लाई घरभित्रै खाल्डो खनी गाडे।
अपराधमा संलग्नको आरोपमा २१ घरधुरीका २१ जनालाई हिरासतमा राखी प्रहरीले मुद्दा दर्ता गर्यो। उनीहरू पनि कैद सजाय भुक्तान गरी अहिले रिहा भएका छन्। आरुघाट गाउँपालिका-४ को भोगटेनी र आप्रिक गाउँका बासिन्दाबीच बर्सेनि सामूहिक झगडा हुन्थ्यो। घरेलु हतियार प्रयोग गरी गाउँले–गाउँलेबीच हानाहान हुँदा कयौं घाइते हुन्थे। घाइतेको हेलिकोप्टरबाटै
२०७५ साल साउन ११ गते धार्चे गाउँपालिका-६ काशीगाउँका बासिन्दाले भवितव्यले मृत्यु भएका एक व्यक्तिको पेटबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै शव काटे। बोक्सी लागेर उनको मृत्यु भएको भन्दै एक परिबारलाई ‘बोक्सी’ आरोपमा कुटपिट, लछारपछार गर्दै गाउँ निकाला गरे। गाउँ निकाला भएकालाई पुनस्र्थापना गराउन तथा दोषीलाई कारबाहीको दायरामा ल्याउन गाउँमा पुगेका प्रहरीलाई पनि पटकपटक ढुंगामुढा गरेर खेदे।
सुन्दै कहालीलाग्दा यस्ता घटना बिगतमा बग्रेल्ती हुन्थे। जनधनको क्षति हुने गरी हुने अपराधको घटना नियन्त्रण गर्न प्रहरीलाई पनि हम्मेहम्मे हुनेगर्थ्यो। ‘अहिले यस्ता अपराधका घटना हुँदै नहुने त होइनन्, हुन्छन् तर, ज्यादै न्यून हुने गरेका छन्’, गोरखाका प्रहरी प्रमुख एसपी बासुदेव पाठक भन्छन्, ‘मान्छेहरू शिक्षित, सभ्य हुने क्रम बढेको छ। त्यस्तै अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधि प्रयोग हुन थालेपछि अपराधका घटनामा क्रमशः कमी आउन थालेको छ।’ अपराधमा स्वरूपमा परिवर्तन आएको उनको भनाइ छ। ‘कुट्ने, पिट्ने, काट्ने, मार्ने, लुट्ने, मानव बेचबिखन गर्ने, देहव्यापारमा संलग्न गराउने जस्ता घटना कम भइरहेको छ’, एसपी पाठक भन्छन्, ‘अनलाइन ठगी, साइबर अपराधका नयाँ नयाँ स्वरूपका घटना बढिरहेका छन्।’
प्रहरीका अनुसार ज्यानसम्बन्धी अपराधका घटनामा कमी आइरहेको छ। विगत चार वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ज्यानसम्बन्धी घटना विश्लेषण गर्दा घटनामा कमी आइरहेको देखिन्छ। आर्थिक वर्ष २०७८/०७९ मा ज्यानसम्बन्धी ७३ वटा घटना दर्ता भएका थिए। २०७९/०८० मा यो संख्या घटेर ७१ पुगेको थियो। त्यस्तै २०८०/०८१ मा ६३ मात्र घटना भएका थिए। २०८१/०८२ मा अझै घटेर ३९ वटामात्र ज्यानसम्बन्धी घटना दर्ता
भएका छन्।
तथ्यांकको अध्ययन गर्दा शान्ति सुरक्षाको अवस्था बर्सेनि सुदृढ हुँदै गएको र अपराधका घटना कम हुँदै गएको देखिने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको भनाइ छ। ‘समयको विकासक्रम सँगसँगै मान्छेमा चेतना, शिक्षाको पनि विकास भइरहेको छ। शिक्षित र सचेतवर्ग हम्मेसी अमर्यादित व्यवहार गर्न तम्सिँदैनन्’, प्रजिअ पौडेल भन्छन्, ‘पहिले लाहुरे गाउँघर फर्किंदा पनि सुरक्षितपूर्वक घर फर्कन पाइन्छ कि पाइँदैन भनेर डराउँथे। पेन्सन बुझेर फर्केकाहरू घर पुग्छन् कि पुग्दैनन् भन्ने हुन्थ्यो। तर, विगत १० वर्षयता अपराधका घटनामा कमी आइरहेको छ। अपराधको स्वरूप फेरिएर पहिलेजस्तो काटमारका घटनामा चाहिँ न्यूनीकरण भएको हो। अहिले सुरक्षा पोस्ट पनि गाउँठाउँमा विस्तार भएको छ। जहाँतहीँ सुरक्षाकर्मीको पहुँच बढेको छ। मान्छेहरूमा ऐन, कानुनको ज्ञानको अभिवृद्धि भएको छ, त्यसैले शान्ति सुरक्षाको अबस्था सन्तोषजनक मान्न नसके पनि सुधार चाहिँ भएको छ।’
शान्ति सुरक्षा स्थापनामा नयाँ प्रविधिको विकाससँगै अपराधको घटनामा कमी आएको उनको भनाइ छ। गोरखा जिल्ला अदालतमा विगत दुई दशकदेखि वकालत गर्दै आएका अधिवक्ता स्थानेश्वर दुवाडीको अध्ययनमा पनि पछिल्लो समय अपराधका घटनामा कमी आएको छ। ‘अदालतमा आउने मुद्दाहरूमा पहिलेजस्तो अपराधको घटना ज्यादै न्यून छ’, उनी भन्छन्, ‘मुद्दाको संख्या त बढेकै छ, तर विगतमा जस्तो कुटपिट, काटमार, लुटपाटको होइन, सम्बन्धविच्छेदजस्ता घटनाका हुन्छन्।’ सम्बन्धविच्छेदका घटना भने विकराल रूपमा बढिरहेको उनको भनाइ छ।
अहिले अदालतले पनि दूरदराजका गाउँबस्तीमा ऐन, कानुनका विषयमा जानकारी गराउने कानुनी साक्षरताका कार्यक्रमहरू गर्ने गरेको छ। ‘कुन काम गरे दण्डित भइन्छ, कुन काम गर्नेलाई कस्तो दण्ड सजायको व्यवस्था छ भन्नेबारे सचेतना जगाएपछि मान्छेहरू सचेत भएका छन्’, अधिवक्ता दुवाडी भन्छन्, ‘वडास्तरमा मेलमिलाप केन्द्र छन्, पालिकास्तरमा न्यायिक समिति छन्। सुरक्षाकर्मीको युनिटहरू पनि जहाँतहीँ विस्तार भएका छन् जसले गर्दा, अहिले अपराधका घटनामा न्यूनीकरण भएको छ। शान्ति सुरक्षाको अवस्थामा सुधार आएको छ।’
अहिले जनसंख्या घटेका कारण, वैदेशिक रोजगारीमा जाने क्रम बढेका कारण पनि अपराधका घटनामा कमी आएको हुन सक्ने विगत एक दशकयता गोरखामा रहेर काम गरिरहेका सञ्चारकर्मी हरिराम उप्रेती बताउँछन्। ‘विगतमा भन्दा अहिले जनसंख्या पनि घटिरहेको छ। भएका युवाहरू पनि वैदेशिक रोजगारीमा छन्। त्यसैले हुन सक्छ विगतका तुलनामा अहिले अपराधका घटनामा कमी आएको देखिन्छ’, अपराधका घटना अध्ययनमा विशेष दक्खल राख्ने उनी भन्छन्, ‘बरु वैदेशिक रोजगारीका कारण घरघरमा, समाजमा पनि बिखण्डन, विग्रहका घटना बढेका छन्, जसका कारण आत्महत्या, सम्बन्धविच्छेदका घटना चाहिँ बढेको देखिन्छ।’
प्रविधिको विकासले अहिले अपराध गरेर लुक्न, छिप्न सकिँदैन भन्ने बुझेर पनि अपराधका घटनामा न्यूनीकरण आएको प्रहरीको बुझाइ छ। ‘अपराध अनुसन्धानमा सीसी, क्यामरा सबैभन्दा धेरै प्रभावकारी देखिएको छ। अपराध कर्म गरेर भाग्न सकिँदैन, सीसी, क्यामरा सर्भिलेन्सले पत्ता लगाउन सक्छन् भन्ने डरले सितिमिति यस्ता घटना घटाउँदैनन्’, एसपी बासुदेव पाठक भन्छन्, ‘अनलाइन फ्रड गर्नेहरू पनि उम्किन सक्दैनन्। पहिले सकेसम्म अपराधका घटना पनि स्थानीयस्तरमै मिलाउने, मिल्न बाध्य बनाउने गर्दथे। अहिले जस्तोसुकै अपराधका घटना प्रहरीमा दर्ता गर्ने परम्परा बढिरहेको छ। त्यसैले पनि शान्ति सुरक्षाको अवस्था विगतमा भन्दा अहिले सुदृढ भएको हो।’
शिक्षा, चेतनाको विस्तार, कानुनी साक्षरता, प्रविधिको विकास, सुरक्षाकर्मीको बाक्लो उपस्थिति आदिका कारण विगत केही वर्षयता शान्ति सुरक्षाको अवस्थामा सुधार आएको हो। शिक्षा र चेतनाको विकास भएमा अपराधका घटना स्वतः कम हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको भनाइ छ। ‘शिक्षा र चेतनाले मान्छे सभ्य बन्छन्। सभ्य मान्छे अपराध कर्ममा कहिल्यै लाग्दैनन्’, उनी भन्छन्, ‘सुरक्षाकर्मीको पहुँच विस्तार र अपराध अनुसन्धानको नयाँ नयाँ प्रविधिको विकास गर्दै जानुपर्छ। यसो गर्दा दिगो शान्ति कायम गर्न सकिन्छ।’
प्रतिक्रिया दिनुहोस !