‘मेडिटेशन’ केन्द्र बनाउन प्रभुचेलामा पूर्वाधार
बेनी : म्याग्दीको मालिका गाउँपालिका–७ प्रभुचेला धुरीमा सामुदायिक मेडिटेशन (ध्यान) केन्द्र सञ्चालनका लागि गण्डकी प्रदेश सरकार र समुदायको १ करोड रुपैयाँभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको छ।
परापूर्वकालमा ऋषिमुनीहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुचेला तनाव व्यवस्थापन, मानसिक र शारीरिक स्वास्थ्यका लागि उपयोगी मानिएको मेडिटेशन गर्ने थलोका रुपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको हो।
प्रदेश सरकारको ६५ लाख रुपैयाँ बजेटबाट आश्रयस्थल भवन, सार्वजनिक शौचालय, हवन कुण्ड, पदमार्ग र घेराबार तथा समुदायले चन्दा संकलन गरेर जुटाएको २८ लाख रुपैयाँ बजेटबाट तपस्या स्थलका लागि स्थानीय काठ, ढुंगा र माटोको प्रयोग गरेर मौलिक किसिमको गोलघर निर्माण भएको प्रभुचेला धुरी प्रवर्द्धन समाजले जनाएको छ।
विभिन्न दाताहरूले व्यक्तिगत लगानीमा परापूर्वकालमा ऋषीमुनीहरूले प्रयोग गरेको कुटी, हवन कुण्ड र साधनास्थलको संरक्षणका साथै मन्दिर र खानेपानी निर्माण गरिएको समाजका अध्यक्ष टिकाबहादुर जुग्जाली (नविन)ले बताए। मालिका गाउँपालिकाको सहयोगमा सोरवाङदेखि प्रभुचेला धुरीलाई सडकले जोडिएको छ।
पलबिर जुग्जालीले कपिलानन्दले ध्यान गरेको कुटीको पुनर्निर्माण गरेका छन्। छकप्रसाद पाइजाले शिव र देउप्रसाद जुग्जालीले गणेशको मन्दिर बनाएका छन्। रुपलाल पुनको संयोजकत्वमा स्व. मनबहादुर थजाली पुन र रतिमा पुनको स्मृतिमा खानेपानीको पाइप जडान, धारा र टंकी निर्माण भएको छ।
उक्त पूर्वाधारहरूको गण्डकी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रि एवम् प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली र बिम–काठमाडौं सम्पर्क समाजका विदेश विभाग प्रमुख कृष्णप्रसाद जुग्जालीले शनिबार उद्घाटन गरे।
परापूर्व कालमा ऋषिमुनीहरूले प्रभुचेला धुरीमा तपस्या गरेर ज्ञानआर्जन गरेको तीन वर्षअघिको अध्ययनबाट तथ्यहरू पहिचान भएपछि संरक्षण र पूर्वाधार निर्माण थालिएको थियो।
वस्तीदेखि टाढा र जंगलको बिचमा शान्त हावापानी र वातावरणमा योग ध्यान गर्नका लागि उपयुक्त मानिएको छ। पूर्वाधार निर्माण भएपछि यहाँ आउने तपस्वी, भक्तजन र पर्यटकहरूलाई सहज भएको प्रभुचेला ध्यान केन्द्र व्यवस्थापन समितिका सचिव सुरमान गर्बुजाले बताए।
प्रभुचेला धुरीमा एक सय वर्षअघि सम्म ऋषिमुनीहरूका लागि तपस्या स्थल थियो। बिम गाउँको शिर र मालिका धुरीको फेदीमा अवस्थित प्रभुचेलमा नेपाल र भारतका विभिन्न ठाउँबाट ऋषिमुनीहरू आउने गर्थे।
स्वर्गद्वारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले १९७० देखि १९७५ सालसम्म यही ठाउँमा तपस्या गरेका थिए। कपिलानन्द स्वामीले तपस्या गर्ने क्रममा बनाएको कुटी, साधना स्थल र हवन कुण्डको भग्नाअवशेस अझै छन्।
प्रभुचेला धुरीबाट धवलागिरी र गुर्जा हिमशृङखला अवलोकन गर्न सकिन्छ। समुन्द्र सतहदेखि दुई हजार चार सय मिटर उचाइमा अवस्थित प्रभुचेला धुरी बिमदेखि दुई घण्टा र सवारी साधनमा ३० मिनेटमा पुगिन्छ।
प्रतिक्रिया दिनुहोस !