भाषिक कारणले बागमतीका जनताले समस्या खेप्नु पर्दैन : मुख्यमन्त्री लामा
हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेशभरिका जनताले पहिले जस्तो आफ्नो जातीय भाषिक कारणले समस्या खेप्नु नपर्ने बताएका छन्। बुधबार हेटौंडामा प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा भएको प्रदेश भाषा दिवस–२०८२ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले यसअघि आफ्नो जातीय भाषाका कारण सरकारी तथा अन्य क्षेत्रहरूमा खेप्नु परेको समस्याको अन्त्य भएको बताएका हुन्।
प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको स्मरण गराउँदै उनले प्रदेशका विभिन्न निकायमा भाषा अनुवादको व्यवस्था समेत गरेको बताए ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ समाजका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले नेपालमा पहिलो पटक बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा घोषणा गरेर पक्रिया अगाडि बढाएकोमा खुसी व्यक्त गरे ।
प्रदेश सरकारले २०८१ साल वैशाख १२ गतेको बसेको मन्त्रिपरिषद् बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रूपमा लागु गरेको थियो। वैशाख २४ गते भाषा दिवस मनाउन सार्वजनिक बिदा दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस !