इमानिसीसँग मनास्लुका बासिन्दाको अपेक्षा

६९औं मनास्लु दिवस

इमानिसीसँग मनास्लुका बासिन्दाको अपेक्षा
सुन्नुहोस्

गोरखा : विश्वको आठौं, नेपालको ७औं अग्लो मनास्लु हिमाल जापानी नागरिक तोशिओ इमानिशी र नेपाली नागरिक ग्याल्जेन नोर्वुले पहिलो पटक विक्रम संवत् १९५६ मे ९ का दिनमा आरोहण गरे । ८,१६३ मिटर अग्लो मनास्लु पहिलो पटक आरोहण गरेको दिनको सम्झनामा हरेक वर्ष मे ९ मा विभिन्न कार्यक्रम गरी मनास्लु दिवस मनाउने गरिन्छ ।

दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकी जस्ता ठूला सहर ध्वस्त भएपछि गिरेको मनोबल इमानिशीले मनास्लु र जुन्को ताइबेईले १९७५ मा सगरमाथा आरोहण गरेपछि उच्च भएको जापानीहरू विश्वास गर्छन् । सोही दिनको सम्झनामा हरेक बर्ष नेपालमा ‘मनास्लु डे’ मनाउने गरिन्छ । कहिले काठमाडौंमा, कहिले गोरखा सदरमुकाममा, कहिले गाउँपालिकामा र कहिले मनास्लु अवस्थित सामागाउँमा विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । यसवर्ष मनास्लु संरक्षण क्षेत्र आयोजनाले मनास्लुको फेदी, सामागाउँमा विभिन्न कार्यक्रम गरी ६९ औं मनास्लु दिवस मनाउँदै छ ।

मनास्लुको पहिलो आरोहणभन्दा तीन वर्षअघि अर्थात वि.सं. १९५३ मे २५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहण गरिएको थियो । ८,८४८.८६ मिटर अग्लो सो हिमाल न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारी र नेपाली नागरिक तेञ्जिङ नोर्गे शेर्पाले सफल आरोहण गरेका थिए । 

सोही स्मरणमा १९७४ मा हिलारी फाउन्डेसन स्थापना गरी सामाजिक काम गर्ने गरिएको छ । साथै सगरमाथा क्षेत्रमा सर एडमन्ड हिलारी मेमोरियल म्युजियम एन्ड इल्डरकेयर सेन्टर स्थापना भएको छ ।  तेञ्जिङ हिलारी पुरस्कार कोष स्थापना भएको छ । हिलारी फाउन्डेसनले शेर्पा समुदायमा गुणस्तरीय शिक्षा, महिला साक्षरता कार्यक्रम, शेर्पा विद्यार्थीहरूमा मेडिकल स्कलरसीप कार्यक्रम सञ्चालन गरेको छ । बर्सेनि विद्यार्थीको ट्युसन तिरिदिने, पोसाक तथा स्टेसनरी सामग्री वितरण गर्ने जस्ता कार्यक्रम पनि हिलारीको नाममा खुलेका संघ–संस्थाले गर्ने गरेका छन् । जसरी हिलारीको नाममा खुम्बु क्षेत्रमा चौतर्फी विकासको कार्यक्रमहरू हुन्छन्, त्यसैगरी जापानी नागरिक इमानिसीको नाममा पनि जापान सरकारले यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्दिए राम्रो हुने स्थानीयवासीको माग छ । 
 
‘हिलारी फाउन्डेसनले खुम्बु क्षेत्रमा अस्पताल स्थापना गरिदिएको छ । क्लिनिकहरू स्थापना गरेको छ । समय–समयमा सगरमाथा सरसफाइ गरेको छ, वृक्षरोपण कार्यक्रम गरेको छ’ वडाअध्यक्ष कर्मा छेवाङ लामा भन्छन्, ‘हाम्रो यहाँ पनि जलवायु परिवर्तनले सानासाना तालहरू सुक्दैछन् । हिमपहिरो जाने समस्या बढिरहेको छ । वातावरण संरक्षणको कार्यक्रम गरे कति राम्रो हुन्थ्यो । हामीले जति ठूलो गरी उहाँलाई मान्छौं, उहाँका सम्झनामा मनास्लु दिवस मनाउँछौं, उहाँको तर्फबाट हामीलाई हित हुने केही कार्यक्रम भएको छैन ।’ स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणका कार्यक्रमहरू सञ्चालन गरे धेरै राम्रो हुने उनको भनाइ छ ।

स्थानीयले इमानिसी र जापानप्रति जति महत्व दिन्छन्, जापानीहरूको तर्फबाट बेवास्ता भइरहेको स्थानीयवासीको गुनासो छ । ‘हामीले हरेक वर्ष इमानिसीले मनास्लु चढेको दिनलाई मनास्लु दिवस भनेर मनाइरहेका छौं, इमानिसीलाई माल्यार्पण गरिरहेका हुन्छौँ तर जसरी हिलारीको नामबाट खुम्बु क्षेत्रमा विभिन्न ठूला, साना कार्यक्रमहरू भइरहेका हुन्छन्, इमानिसीको नामबाट हाम्रो क्षेत्रलाई केही पनि भएको छैन’, स्थानीय छिरिङ धार्के लामा भन्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.