पाठेघर नफाल्ने कि ?

पाठेघर नफाल्ने कि ?
सुन्नुहोस्

सुनसरीकी ४८ वर्षीया सोनम चौधरी पछिल्लो केही समयदेखि शरीर तातो भएर आउने, छटपटी लाग्ने, निन्द्रा नलाग्ने र मुटु काम्ने जस्ता लक्षणहरू देखिएपछि बारम्बार अस्पताल धाउन थालिन्। प्रारम्भिक परीक्षण पछि फिजिसियनले मलाई, एक प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा, उनलाई सिफारिस गरे। 

उनको प्रारम्भिक परीक्षण गर्दा उनीमा इस्ट्रोजनको कमी रहेको पाइयो। पृष्ठभूमि बुझ्दा थाहा भयो, २० वर्षअघि, अर्थात् २८ वर्षको उमेरमै उनको पाठेघर र अण्डासयहरू शल्यक्रिया गरेर हटाइएको रहेछ। यही कारण अहिले उनको शरीरमा हर्मोनको सन्तुलन बिग्रिएको र विभिन्न समस्या देखिएको थियो।  

महिलाको शरीरको अति महत्वपूर्ण अंग हो पाठेघर। मासुको डल्लो जस्तो देखिने, भित्र खाली र नासपाती आकारको पाठेघर पिसाब थैली र मलाशयको बीचमा तल्लो पेटमा अवस्थित हुन्छ। 

निषेचित अण्डाले यही पाठेघरमा आएर भ्रूणको रूपमा विकास गर्दै सन्तानको रूप लिन्छ। यही भएर पाठेघरलाई गर्भ पनि भनिन्छ। महिलाले सन्तान पाउन सक्ने प्रमुख आधार यही अंग हो। पाठेघर नभएका महिलाहरू प्राकृतिक रूपमा आमा बन्न सक्दैनन्। महिनावारी चक्रको व्यवस्थापन, केही हर्मोनहरूको उत्पादन र स्त्री स्वास्थ्यको समग्र सन्तुलनमा पनि यसको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ। तर, दु:खद पक्ष के छ भने, धेरै मानिसहरूले पाठेघरको भूमिका सन्तान उत्पादनमा मात्र देख्छन्। जब सन्तानको संख्या पूरा हुन्छ, तब केही सानो समस्या देखिए पनि पाठेघर फाल्ने निर्णय गरिदिन्छन्। उपचार गर्नेभन्दा पनि निकालेर फालिदिए सबै समस्या सधैंका लागि समाधान हुन्छ भन्ने सोच फैलिँदै गएको छ। यस्तो सोचले कतिपय महिलाको स्वास्थ्यमा दीर्घकालीन असर पुर्‍याउने जोखिम रहन्छ।

यस्तै अनुभव मैले चिमडी, सुनसरीकी ३२ वर्षीया रामवती मेहतासँग पनि गरेँ। तल्लो पेट दुख्ने र सेतो पानीको समस्याले ग्रस्त थिइन् उनी। तीन सन्तान भइसकेका र थप सन्तानको योजना नरहेको हुँदा कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले उनलाई पाठेघर फाल्न सल्लाह पनि दिएका थिए। 

तर, जब मैले उनको अवस्था जाँच गरेँ, उनको पाठेघरको मुखमा सामान्य संक्रमण मात्र देखियो, जुन औषधीय उपचारले निको पार्न सकिने अवस्था थियो। शल्यक्रिया नगरी उपचार गरियो र अहिले उनी सामान्य स्वास्थ्यमा फर्किएकी छन्। 

पाठेघर हटाउने शल्यक्रिया, जसलाई मेडिकल भाषामा हिस्टेरेक्टोमी भनिन्छ, त्यतिबेला गर्नुपर्ने हुन्छ जब पाठेघरमा जीवनलाई खतरा पुर्‍याउने समस्या उत्पन्न हुन्छ वा महिनावारी सुक्ने उमेरमा पुगिसकेका हुन्छन्। पाठेघरको क्यान्सर, धेरै ठूलो र दु:ख दिइरहने अ‍ैजेरु (फाइवराइड), महिनावारी सुक्ने उमेरमा पनि बारम्बार अत्यधिक रक्तस्राव, वा पाठेघर झरेको जस्ता अवस्थाहरूमा हिस्टेरेक्टोमी गर्नै पर्ने हुन सक्छ। 

तर, यस्तो अवस्था नभइकन, औषधीय वा अन्य वैकल्पिक उपचारबाट समाधान गर्न सकिने अवस्थामा पाठेघर फाल्नु उपयुक्त हुँदैन। विशेष गरी जब महिलाको उमेर कम छ, अण्डासयहरू सक्रिय छन् र सन्तान जन्माउने सम्भावना बाँकी छ, त्यस्ता अवस्थामा हिस्टेरेक्टोमी नगर्नु नै उचित हुन्छ। 

पाठेघर फालिएपछि धेरै महिलामा इस्ट्रोजेनको स्तरमा कमी आउँन सक्छ। विशेष गरी अण्डासय पनि फालिएको अवस्थामा यो समस्या झन् तीव्र हुन्छ। यसले गर्दा हड्डी कमजोर हुने, शारीरिक तातोपन महसुस हुने, निन्द्रा नलाग्ने, यौन इच्छा घट्ने, मानसिक तनाव र डिप्रेसन पनि देखिन सक्छ। यी लक्षणहरूले महिलाको दैनिक जीवन र आत्मविश्वासमा प्रतिकूल असर पार्न सक्छ। 

यी सबै अवस्थाबाट बच्नका लागि पहिलो कुरा भनेको पाठेघरको महत्व बुझ्नु हो। पाठेघरमा समस्या देखिने बित्तिकै शल्यक्रिया रोज्ने होइन। यसको उचित मूल्यांकन गरेर आवश्यकताअनुसार बैकल्पिक उपायहरू तथा औषधि उपचारमा जोड दिनुपर्छ। पाठेघर फाल्नुपर्ने अवस्था आयो भने पनि अण्डासय सुरक्षित राख्न सकिन्छ कि भनेर विचार गर्नुपर्छ। 

तर, विविध कारणले पाठेघर फालिएमा, त्यस अवस्थामा हुने इस्ट्रोजन हर्मोनमा हुन सक्ने कमी र त्यसले देखिने समस्याबारे सचेत हुनुपर्छ। यसको असर देखिएमा सोको व्यवस्थापन गर्नका लागि हार्मोन रिप्लेसमेन्ट थेरापी, जीवनशैलीमा सुधार, व्यायाम, पोषणयुक्त आहार, र चिकित्सकीय निगरानी जरुरी हुन्छ। 

नारी शरीरको यो महत्वपूर्ण अंगबारे सही जानकारी, चेतना र वैज्ञानिक निर्णय प्रक्रिया अत्यावश्यक छ। पाठेघर फाल्ने कि नफाल्ने भन्ने निर्णय हतारमा होइन, सोचविचार, परीक्षण र आवश्यक परामर्शका आधारमा लिनुपर्छ। समयमा उचित निर्णय गर्न सके धेरै महिलाहरूलाई अनावश्यक अप्रेसन र त्यसपछि आउने दीर्घकालीन समस्याबाट जोगाउन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.