डिपो प्रमुखले जागिरबाट निकालेपछि पीडित कर्मचारी आन्दोलित
झापा : झापास्थित नेपाल आयल निगम चारआली डिपो प्रमुख गीता सापकोटा (धिताल)ले आफूखुसी बिनाकारण जागिरबाट निकालेको भन्दै पीडित बनेका कर्मचारी आन्दोलित बनेका छन्।
डिपो प्रमुख सापकोटाले करार र ज्यालादारीका पाँच जना कर्मचारीलाई गत पुस २९ गते एकैपटक जागिरबाट निकालेपछि उनीहरू आन्दोलित बनेका हुन्। उक्त आन्दोलनमा मेचीनगर नगरपालिका १३ का वडाध्यक्ष कृष्ण सिग्देलले ऐक्यबद्धता जनाउँदै सहभागी भएका थिए।
पीडित कर्मचारीसँगै जनप्रतिनिधिहरूले शनिबार बिहान चारआली डिपो गेट अगाडि एक घण्टा प्रदर्शन गरेका थिए। उनीहरूले बिनाकारण निष्कासन गरिएको कर्मचारीलाई पुर्नवहाली गर, श्रमजीवी वर्गको रोजीरोटी सुनिश्चित गर, डिपो प्रमुख गीता सापकोटालाई फिर्ता गर लगायतका नाराबाजी लगाएका थिए।
आफूहरूको रोजीरोटी खोस्ने डिपो प्रमुख सापकोटाले एकै प्रकृतिका कर्मचारी कोही राख्ने कोही हटाउने व्यवहार देखाएर हामीमाथि अन्याय गरेको पीडित कर्मचारी अमोद भट्टराईले बताए। ‘३ देखि १५ वर्षसम्म काम गर्दै आएका कर्मचारी समेतलाई हटाइएको छ, उनले भने, ‘हामीले यस सम्बन्धमा सबै निकायमा निवेदन दिएका छौँ।’
मेचीनगर १३ का वडाध्यक्ष सिग्देलले हाकिमबाट मजदुरमाथि अन्याय भएकाले तत्काल पुनर्बहाली गर्न सुझाव दिएका छन्। उनका अनुसार दुई दिनअघि मेचीनगर उपप्रमुख मिना पोखरेल र वडाध्यक्ष सिग्देलले डिपो प्रमुख सापकोटालाई भेटेर हटाइएका मजदुरलाई काममा फर्काउन आग्रह गरेका थिए।
डिपो प्रमुख सापकोटाले केन्द्रीय कार्यालयको डाइरेक्टरहरूको आदेश हो भन्दै २०८१ पुस २९ गतेदेखि अराजक शैलीमा डिपोमा कार्यरत ३ जना करार र ६ जना दैनिक ज्यालादारी गरी ९ जना कर्मचारीलाई एकै पटक जागिरबाट निकालेका थिइन्। ९ जनामध्ये ज्यालादारीका सवारी चालक कुमारमणि दाहाल र करारका स्विपर रामकिशोर मल्लिकलाई २४ घण्टा नबित्दै काममा फर्काएका थिए। करारका मुना घिमिरे र करारका चन्द्रकला राईलाई डिपो प्रमुख सापकोटाले तीन सातापछि बोलाएर काममा लगाइन्।
पाँच जना ज्यालादारीका कर्मचारीहरू अमोद भट्टराई, चन्द्रकान्तलाल दास, शान्ता पोखरेल, गोविन्द पाठक र अस्मिता विक भने चार महिनादेखि कामविहीन बनेका छन्। वर्षौँदेखि करार र ज्यालादारी सेवामा काम गर्दै आएका कर्मचारीलाई सापकोटाले हटाएपछि उनीहरूको अहिले बिचल्ली भएको छ। हटाइएका कर्मचारीलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनर्बहाली गर्न निर्देशन दिए पनि प्रमुख सापकोटाले अटेरी गरेको पीडितहरूको भनाइ छ। पीडित कर्मचारीहरूले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने, तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !