गोरखा : धार्चे ४ लाप्राकका ३७ वर्षीय पुरबहादुर गुरुङ (युक्त) गत साता विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरी फर्किए। यो उनको आठौं आरोहण हो। पहिलोपटक उनले २०११ मे १९ मा सगरमाथामाथि विजय हासिल गरेका थिए।
२३ वर्षको कलिलो उमेरमा पाएको सफलताले उनलाई फेरि–फेरि आरोहण गरिरहने ऊर्जा मिल्यो। पछि उनले २०१७ मा सगरमाथा शिखर चुमे। हिमाल आरोहणलाई व्यवसाय बनाउने निर्णयमा पुगेका उनले लगत्तै २०१८ र २०१९ मा पनि सफल आरोहण गरेका थिए। त्यसलगत्तै विश्वलाई कोभिड–१९ महामारीले गाँज्यो। कोभिडमुक्त भएपछि २०२२ मा फेरि उनले सगरमाथा आरोहणलाई निरन्तरता दिए। त्यो वर्ष उनले दुईपटक सगरमाथा चुमे। लगत्तै फेरि २०२३ मा पनि आरोहण गरे। अहिले २०२५ मे १९ मा आठौं पटक सफल आरोहण गरेका छन्।
पहिलोपटक चुरेन हिमाल ट्रेक कम्पनीबाट उनले सगरमाथा आरोहण गरेका थिए। यसपटक निर्मल पुर्जाको इलाइट एक्स्पेडमा आबद्ध भई आरोहण गरेका हुन्। ‘अब हातगोडामा तागत हुञ्जेल हिमाल चढ्ने हो’, उनले भविष्यको योजना सुनाए, ‘हिमाल चढ्न नसक्ने भएपछि कम्पनी खोलेर व्यवसाय गर्नुपर्ला।’ शेर्पा समुदायबाहेक गुरुङ समुदायबाट सबैभन्दा धेरै सगरमाथा चढ्ने अहिलेसम्मको किर्तिमान उनले कायम गरेका छन्। युक्तले मात्र होइन, लाप्राकका बीसबहादुर गुरुङले पनि पाँचपटक सगरमाथा आरोहण गरिसकेका छन्। अहिलेसम्म लाप्राक निबासी १३ जनाले सगरमाथा आरोहण गरिसकेका छन्।
लाप्राकीलाई सगरमाथा आरोहणको बाटो देखाउने इमानसिङ गुरुङ हुन्। उनले सन् २००५ मा सगरमाथाको सफल आरोहण गरेका थिए। पछि उनको कङ्गारु हिमाल आरोहणकै क्रममा देहावशान भएको थियो।त्यसयता लाप्राकी युवाहरू सगरमाथाप्रति आकर्षित भए। यसबर्ष पनि लाप्राकका युक्त गुरुङ, इमानसिङ गुरुङ (सानो), राम गुरुङ, पूर्ण गुरुङ, डम्बर गुरुङ, सुजल गुरुङले सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरूमध्ये पूर्ण र डम्बर गुरुङको प्रथम आरोहण हो। अरूले भने यसअघि धेरैपटक आरोहण गरिसकेका थिए।
यसअघि धेरैपटक आरोहण गर्ने लाप्राकीहरूमा मुलाल गुरुङ, इमान गुरुङ, तुल्सिङ गुरुङ, बिसबहादुर गुरुङ, सुमन गुरुङ, सन्दीप गुरुङ र बुद्ध गुरुङले आरोहण गरिसकेका छन्। खुम्बु क्षेत्रबाहेक सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने गाउँ लाप्राक हो। यो एउटै गाउँबाट १३ जनाले सगरमाथा आरोहण गरिसकेका छन्। त्यसैले गण्डकी प्रदेशमै आरोहीको गाउँ भनेर लाप्राक प्रख्यात छ। यससँगै धार्चे गाउँपालिकामा सगरमाथा आरोहण गर्ने आरोहीको संख्या १७ पुगेको छ। धार्चे ३ उहिया (दुङ्ला)का ओमबहादुर गुरुङले पनि सगरमाथा आरोहण गरेका छन्। त्यस्तै धार्चे ५ माछाखोलाकी नानुमाया गुरुङ, धार्चे ५ गुम्दाका मनुमान गुरुङ, धार्चे ५ सिङ्लाका बिसबहादुर गुरुङले पनि सगरमाथा आरोहण गरिसकेका छन्।
हिमाली भेगमा पर्ने चुमनुब्री गाउँपालिका १ की नाङ्स्याल छोदेन ल्हामु र डिकी लामुले पनि सगरमाथा आरोहण गर्न सफल भएका छन्। चुमनुब्री ७ छेकम्पारकी फुञ्जो झाङ्मु ल्हामु पनि कीर्तिमानी आरोही हुन्। उनले सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्ने महिलाको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा कीर्तिमान कायम गरेकी छिन्।
त्यस्तै आरुघाट गाउँपालिका ९ आरुटारकी पूर्णिमा श्रेष्ठ अर्की कीर्तिमानी आरोही हुन्। पाँच पटकसम्म सगरमाथा शिखर चुम्ने उनी नेवार समुदायकी प्रथम महिला हुन्। साथै उनले १४ दिनको अवधिमा तीन पटक सगरमाथा आरोहण गरेर किर्तिमान कायम गरेकी थिइन्। आरुघाट गाउँपालिका ३ थुमीका यानबहादुर थापा मगरले पनि सगरमाथाको सफल आरोहण गरेका छन्। शेर्पा समुदायबाहेक सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने आरोहीको जिल्ला भनेर गोरखालाई चिनिने नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुलसिङ गुरुङको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !