जुट्दै जाग्दै गन्धर्व समुदाय

जुट्दै जाग्दै गन्धर्व समुदाय
गन्धर्व महिला सशक्तीकरण तालिममा जुटेका महिलाहरू (बायाँ) । गोरखा नगरपालिका ७ धारापानीका गन्धर्व समुदाय ।  तस्बिर : शिव उप्रेती

गोरखा : लामो समय तनहुँस्थित मामाघरमा बसेका नरभुपाल शाहलाई गोरखा ल्याइ धनुबाँसेमा लुकाइ राखियो। इतिहास भन्छ– त्यहाँ पुगेर उनलाई पत्ता लगाउने मणिराम गाइने थिए। धनुवाँसेबाट गोरखा दरबारमा ल्याउन पनि उनकै ठूलो भूमिका थियो।

पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गर्दा पराजित पनि भए, बेखर्ची पनि भए। त्यो बेला सारंगी बजाउँदै घरदैलो गरेर थैली जोरजाम गर्ने पनि उनै मणिराम गाइने थिए। कीर्तिपुरमा पटक–पटक पराजित भएपछि त्यहाँको गुह्यकुरा पत्ता लगाउन सुराकीको काम गर्ने पनि उनै मणिराम थिए। तिनै मणिरामका शाखा सन्तान अहिले पहिचानको खोजीमा जुधिरहेका छन्। एकीकरण अभियानमा साथ र सहयोग गर्नेको कुल, वंश अहिले माथिल्लो तहमा छन्, तर पछाडि पारिएका, शोषणमा परेका गन्धर्व समुदाय दलदलबाट माथि उठ्न नसकेका गुनासो गर्छन्।

देवदेवीको पालादेखि ‘गन्धर्वले गाउने, अप्सराले नाच्ने’ बिरासत बोकेका गन्धर्व समुदायसँग अहिले न धन दौलत छ, न राज्यकोको कुनै स्थानमा। न उनीहरूसँग पौराणिक कालदेखि जोडिँदै आएको गीत, संगीत बचेको छ। त्यसैले उनीहरू गीतबाट निराशा व्यक्त गर्छन् :

उहिलेदेखि मेरा पुर्खा माईको वणनन्ते शाखा
मानभाग जागिर थियो कित शाखा
माई विष्णुको टहल गर्ने सबैलाई भयो ओइरापइरा 
१६ पुस्ता गुनी चाकरको भएन लेखाजोखा ...।

नरभुपालदेखि पृथ्वीनारायण शाहसम्मलाई सेवा गर्ने गन्धर्व परिवार पाखा परेपछि चिन्ता गरेरै सताव्दियौं बित्यो। अहिले भने उनीहरू जुध्दैछन्, जाग्दै छन्। ‘हामीले मणिराम गाइने स्मृति प्रतिष्ठान गठन गरेका छौं’, स्थानीय पम्फा गान्धारी भन्छिन्, ‘यही प्रतिष्ठानमार्फत सरकारसँग आफ्नो पहिचान खोजिरहेका छौं।’ प्रतिष्ठानले नयाँ पुस्तालाई सारंगी बजाउन सिकाउने तालिम सञ्चालन गरेको छ। महिला सशक्तिकरण कार्यक्रम गरिरहेको उनले बताइन्। ‘गतवर्ष पनि तीन महिने सारंगी बजाउने आधारभूत तालिम सञ्चालन गर्‍यौँ। यसपटक पनि त्यही तालिम गरिरहेका छौ’, उनी भन्छिन्, ‘सारंगी बजाउने तालिम अल्लि कठिनै हुन्छ। त्यसैले आधारभूत सीप नै सिकाइरहेका छौं।’ यसवर्ष महिला सशक्तीकरण कार्यक्रम पनि सञ्चालन गरेको उनी बताउँछिन्। 

गोरखाको सदरमुकाम, घ्याम्पेशाल र पालुङटारमा गन्धर्व समुदायको बसोबास छ। गोरखा नगरपालिका ७ भाङबारी र धारापानीमा गरी २२ घरधुरी गन्धर्वको बसोबास छ। लोप हुँदै गएको गन्धर्व संस्कृतिको जगेर्ना गर्ने हुटहुटी उनीहरूमा छ। ‘त्यसैले गोरखा सँग्रहालयमा हाम्रो मौलिक वाद्यवादनको संरक्षण गरेर राखिदिन अनुरोध गर्‍यौँ। सँग्रहालयमा अरू जातजातिको पहिरन झल्किने डमी राखिएको छ। गन्धर्वको पहिचान झल्किने डमी पनि राखौं भनेर धेरै अनुरोध गर्‍यौँ तर, सुनुवाइ भएको छैन’ प्रतिष्ठानका अध्यक्ष ८४ वर्षका मंगलप्रसाद गन्धर्व भन्छन्, ‘गन्धर्वका वाद्यवादनहरू सारंगी, अर्बाज, कर्ताल, झन्तार, मुजुरा, मादल हामी नै खोजेर दिन्छौं, राखिदिनुस् भनेका छौं। त्यो पनि सुनुवाइ भएको छैन। हामीलाई पहिचान दिने खालको कार्यक्रम केही पनि गरेको छैन।’

सरकारले वास्ता नगरेपनि जातीय उत्थानका लागि आफूहरू एकजुट भएर लागिरहेको उनले बताए। ‘गन्धर्व समुदायको अवस्था कस्तो भनेर अवलोकन गर्न हामी तनहुँ, लम्जुङ, कास्की, पाल्पा, गुल्मी, दाङ पनि पुग्यौँ’, उनले भने, ‘हामी पनि अब विस्तारै जुट्दैछौं, जाग्दैछौं।’

अब योभन्दा ठूलो आवाज उठाउने युवाशक्तिको पनि अभाव भइरहेको छ। ‘२० वर्ष कटेपछि सबै विदेशै जान्छन्। यहाँ बस्नेहरू पनि सारंगी बोक्न लजाउँछन्। त्यसैले नयाँ युवा, युवतीलाई लक्षित गरी सारंगीको महत्व बुझाउँदै बजाउने तालिम दिएका हौँ’, स्थानीय दुर्गादेवी गान्धारी भन्छिन्, ‘अहिले बल्लतल्ल स्कूल, क्याम्पस पढ्दै गरेका युवायुवती आकर्षित भएका छन्।’ बिसे नगर्चीको शाखा सन्ततिलाई सरकारले अहिले पनि सम्बोधन गरिरहेको तर एकीकरण अभियानका अर्का गन्धर्वको खोजिनीति नभएको भन्दै उनले दुःख व्यक्त गरिन्। 

अहिले आफू काठमाडौंमा पढेर घर फर्केपछि आफ्नो पहिचान, हक, अधिकारका लागि आवाज बुलन्द पार्न थालेको पम्फा गान्धारीको भनाइ छ। उनी अहिले गोरखा नगरपालिकाको कार्यपालिका सदस्य पनि छिन्। गन्धर्व समुदायको वाद्यवादन संरक्षणका लागि दुईवर्षदेखि लगातार नगरपालिकाबाट कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.