बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित
वीरगन्ज : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नयाँ बजेटमा वीरगन्जको नारायणी रंगशाला फेरि उपेक्षामा परेपछि वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले आक्रोश व्यक्त गरेका छन्। नयाँ बजेटमा काठमाडौंंको मूलपानी, कीर्तिपुर, मोरङ, कैलाली, रूपन्देही, झापा र सुर्खेत लगायतका स्थानका रंगशालाका लागि उल्लेखनीय रकम छुट्याइएको छ। तर दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला भने फेरि उपेक्षामा परेपछि मेयर सिंहले सामाजिक सञ्जालमार्फत सरकारप्रति आक्रोश पोखेका छन्।
मेयर सिंहले लेखेका छन्, ‘थुइक्क ! बजेटमा देशका हरेक ठाउँका रंगशाला अटाउँछन्, तर वीरगन्जको रंगशाला अटाउँदैन ? हाम्रा सपना बारम्बार बजेटबाहिर राखिन्छन्। खेलकुदका नाममा समिति बनाउने, फोटो खिचाउने तर काम शून्य !’
उनले संघीय र मधेस प्रदेश दुवै सरकारलाई झुठो आशा नदेखाउन चेतावनी पनि दिएका छन्। उनले भने, ‘यदि साँच्चै सम्भव छैन भने हामीलाई जिम्मा देऊ, हामी आफैं रंगशाला बनाउँछौं, वीरगन्जको गौरव हामी आफैं जोगाउँछौं।’
मेयर सिंहले नारायणी रंगशालाको ऐतिहासिकता, सम्भावना र वर्तमान अवस्थाको उल्लेख गर्दै संघ सरकारले बारम्बार उपेक्षा गर्नु अन्यायपूर्ण र अपमानजनक रहेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस !