तीन दल बैठक : भोलि संसद खुल्नेमा सत्तापक्ष ढुक्क, माओवादीको अडान कायमै
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले गृहमन्त्री रमेश लेखको राजीनामा नै पहिलो शर्त रहेको बताएको छ। प्रमुख तीन दलको सिंहदरवारमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन्।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको बैठकमा उक्त माग गरिएको बताए। 'बैठकमा संसदको गतिरोध अन्त्य गर्ने र प्रतिगामी शक्तिहरूको गतिविधिका विषयमा छलफल भयो। ठोस निर्णय केही नभए पनि हामीले सुशासनका निम्ति गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने भन्यौं,' पाण्डेले भने।
बैठकमा प्रधानमन्त्री ओलीले भिजिट भिसा प्रकरणमा कर्मचारीहरू मुछिएको र त्यसकै कारण गृहमन्त्रीले राजीनामा दिन नपर्ने अडान राखेका थिए। प्रधानमन्त्री ओलीले राजीनामातिर नलाग्न माओवादीलाई आग्रह गरेको प्रमुख सचेतक पाण्डेको भनाइ छ।
'प्रधानमन्त्रीज्युले राजीनामातिर नलागेर संसद खोल्नुपर्छ भन्नुभयो। हामीले सुशासन कायम गर्न पनि राजीनामा महत्त्वपूर्ण भएको बतायौं,' उनले भने।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले छलफल सकारात्मक भएको बताए। उनले भोलि संसद खुल्नेमा आफूहरू ढुक्क भएको बताए। 'संसद अगाडि बढ्छ। यस विषयमा उहाँहरूले विचार गर्नुहुन्छ भन्ने हामीलाई लागेको छ,' उनले भने।
यस विषयमा माओवादीले संसद बैठक बस्नुअघि प्रतिपक्षी दलहरूसँग छलफल गर्ने माओवादी नेता पाण्डेको भनाइ छ। प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेलले पनि प्रतिपक्षी दलहरूबीच छलफल भएपछि सकारात्मक कुरा आउने बताए।
खरेलले राजावादीका नाममा भइरहेका गतिविधिविरुद्ध संविधान पक्षधर एक भएको बताएका थिए।
प्रतिक्रिया दिनुहोस !