खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ती गरे ठेक्का रद्द गर्ने मन्त्री यादवको चेतावनी
इलाम : खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन्।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामअन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरूसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानीजस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताए।
'खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन। खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ। अब सहेर बसिँदैन, कानुनी दायरामा ल्याइने छ,' उनले भने।
मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनामा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराए। उनले भने, 'कन्याम-पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वंय यहाँ आएको छु। आज यहाँको समस्या समाधानको बाटो निकाल्नुपर्छ। कि ठेकेदारले काम गर्नुपर्छ, यात अब ठेक्क रद्द गर्नुपर्छ।'
निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्न समेत निर्माण व्यवसायीलाई आग्रह गर्दै उनले समस्या आइपरेको खण्डमा तत्काल मन्त्रालयमा वा आफूलाई जानकारी दिन आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस !