हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा हात्ती मर्यो
झापा : हाइटेन्सन तारबाट करेन्ट लागेर झापामा एउटा जंगली हात्ती मरेको छ । गएराति कमल गाउँपालिका ३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलमा करेन्ट लागेर एउटा जंगली हात्ती मरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
बिजुलीको फलामको पोलमा धकेल्दा हाईटेन्सन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो । सुँड र एउटा दारा जल्दा हात्ती घटनास्थलमै मरेको हो । कानुनी प्रक्रियाका लागि डिभिजन वन कार्यालय झापासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
योसँगै यस वर्ष झापामा तीन वटा जंगली हात्ती मरेका छन् । गत जेठ ७ गते बुद्धशान्ति गाउँपालिका–५ को पाँचपोखरी सामुदायिक वनमा रैथाने जंगली हात्ती मृत फेला परेको थियो । त्यस्तै गत फागुन २९ गते कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वनमा वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अवस्थामा फेला परेको थियो । जिल्लामा यो बर्ष हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !