पतञ्जली जग्गा भ्रष्टाचार प्रकरण
कसैसँग एक पैसा लिएको पनि छैन, कुनै मन्त्रीलाई दबाब पनि दिएको छैन : माधव नेपाल
रौतहट : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप बदनियतपूर्ण रहेको आरोप लगाएका छन्।
बिहीबार विभिन्न कार्यक्रमका लागि गृह जिल्ला रौतहट आएका नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेका कारण कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए।
'भ्रष्टाचारका निम्ति एक पैसा पनि लिएको छैन। अनुचित लाभ उठाएको पनि छैन। म चुनौतीका साथ भन्छु, राष्ट्रलाई नोक्सान हुने काम गरेको छैन। मैले आजसम्म कुनै पनि मन्त्रीलाई अनुचित गर्ने दबाब त के निर्देशन पनि दिएको छैन। स्वामी रामदेवजस्ता व्यक्ति भएको संस्थामा अनुचित काम हुन्छ भनेर कल्पना पनि गरेको छैन। विधि प्रक्रिया कानुनले हेर्ने कुरा हो। मुख्यसचिवले पनि सबै कुरा हेरे हेरेनन् त्यो कुरा हेर्नुपर्छ,' सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।
अध्यक्ष नेपालले आम नेपाली पतञ्जलीबाट लाभाञ्वित होऊन् भन्ने मनसायले आफूले जग्गा उपलब्ध गराएको बताउँदै आफूविरुद्ध सुरुदेखि नै राजनीतिक जीवन समाप्त पार्ने खेल सुरु गरिएको बताए। उनले सरकारकै निर्देशनमा बदनियत राखेर मुद्दा चलाइएको आरोप लगाए।
नेता नेपालले अहिलेसम्म के भयो आफूलाई जानकारी नरहेकाले राजधानी काठमाडौं गएर कानुन व्यवसायीसँग परामर्श गर्ने बताए। अध्यक्ष नेपाल सिमरा विमानस्थलबाट ४:३० को प्लाइटमर्फत काठमाडौं फर्कने उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !