भूमे गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा
रुकुम पूर्व : रुकुम पूर्वको भूमे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। शुक्रबार १५ देखि ५९ महिनासम्मका १ हजार ६६ जना बालबालिकाले नियमित रूपमा सम्पूर्ण खोप सेवा प्राप्त गरेपछि घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय रुकुम पूर्वका प्रमुख पुस्कल श्रेष्ठका अनुसार जिल्लाका तीन स्थानीय तहहरूमध्ये भूमे गाउँपालिकाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको मापदण्ड पूरा गरेको छ।
गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले भने, ‘अबको हाम्रो लक्ष्य भनेको खोप सेवाको दिगोपनालाई सुनिश्चित गर्नु हो। यसमा हामी पूर्ण रूपमा समर्पित छौँ।’
स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उपेन्द्र यादवका अनुसार पालिकामा हाल १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। उनका अनुसार सबै वडामा वर्थिङ सेन्टरको व्यवस्था गरिएको छ भने २४ सै घण्टा स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मी खटिएका छन्।
प्रतिक्रिया दिनुहोस !