पकेटमारका घटनामा संलग्न तीनजना पक्राउ
गोरखा : श्रृङ्खलावद्ध पकेटमारको घटना गराउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। लगातार पकेटमारको घटना भएपछि सघन खोज अनुसन्धान अभियान चलाएको प्रहरीले पकेटमार गिरोहका तीनजना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरीले विभिन्न मितिमा सहिद लखन गाउँपालिका-४ घर भई हाल चितवन बस्ने ४९ वर्षीय दिपक परियार, ३५ वर्षका आशिक भुजेल र ४३ वर्षका दाननारायण श्रेष्ठलाई पक्राउ गरेको प्रहरी उपरीक्षक भरत बिकले जानकारी दिए। पकेटमार घटनाका अभियुक्त तीन जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरुको साथबाट २७ हजार ७ सय नगद र चोरीमा प्रयोग गर्ने नङकट दुई थान, चिम्टी एक थान र ब्लेड एक थान बरामद गरेको एसपी बिकले जानकारी दिए। साथै दुई वटा मोबाइल पनि बरामद गरेको प्रहरीको भनाइ छ। उनीहरुबिरुद्ध चोरी सम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
विशेषगरी लक्ष्मीबजार पेन्सन क्याम्पबाट पेन्सन बुझी फर्केका भारतीय भूपू सैनिकहरूको पकेट मार्ने घटना बढेपछि प्रहरीले खोज अनुसन्धानलाई तीव्र बनाएको थियो। पकेटमाराहरुले गत फागुन ८ गते गण्डकी गाउँपालिका–२ निवासी ७१ वर्षीय गिरिराज पन्तको झोलाबाट एकलाख रुपैयाँभन्दा बढि रकम पकेट मारेका थिए।
त्यस्तै गोरखा नगरपालिका–६ हरमटारीका ८२ वर्षीय गंगाबहादुर श्रेष्ठको पनि बस चढेकै बेला दुई लाख नगद चोरी गरेका थिए। भयो। जेठ ७ गते पेन्सन बुझेर लक्ष्मीबजारबाट गोरखा बजार फर्कने क्रममा उनको झोलामा रहेको दुई लाख रुपैयाँ चोरी भएको हो। जेठ ११ गते शहीद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरको झोलामा रहेको नगद ५० हजार चोरी भयो।
धमाधम सार्वजनिक यातायातमा श्रृंखलावद्ध रुपमा नगद चोरीका घटना हुन थालेपछि प्रहरीले सिसिक्यामेरा फुटेज तथा विभिन्न प्रविधिको प्रयोग गरी पकेटमाराको खोज अनुसन्धान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !