अमेरिकामा लस एन्जलससहित ११ सहरमा विरोध प्रदर्शन
काठमाडौं : अमेरिकामा आप्रवासन छापा मार्ने विषयमा हिंसात्मक प्रदर्शन भएपछि थप १० अमेरिकी सहर र राज्यहरूमा विरोध प्रदर्शन सुरु भएको छ। योसँगै अमेरिकामा लस एन्जलससहित ११ सहरमा विरोध प्रदर्शन भएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लस एन्जलसमा स्थिति नियन्त्रण गर्न राष्ट्रिय गार्ड र अमेरिकी मरीन तैनाथ गर्ने आदेश दिएको छ। तर क्यालिफोर्नियाका गभर्नरले यस सम्बन्धमा मुद्दा दायर गरेका छन्।
ल्याटिनो जनसंख्या बढी भएको क्षेत्रबाट अध्यागमन अधिकारीले छापा मारेर ठुलो संख्यामा अवैध आप्रवासीलाई पक्राउ गरेपछि विरोध प्रदर्शन सुरु भए।
यसपछि विरोध प्रदर्शन हिंसात्मक भयो र लस एन्जलस बाहेक धेरै सहरहरूमा विरोध प्रदर्शन र जुलुसहरू सुरु भए।
अमेरिकाको दोस्रो ठुलो सहर लस एन्जलसका प्रभावित क्षेत्रहरूमा धेरै सवारी साधनहरूमा आगजनी गरिएको रिपोर्ट आएको छ। धेरै ठाउँमा लुटपाट पनि भएको जनाइएको छ। यसपछि प्रहरीले दर्जनौंलाई पक्राउ गरेको छ।
कुन प्रान्त र सहरहरूमा विरोध प्रदर्शन भइरहेका छन् ?
बीबीसी संवाददाता माया डेभिसका अनुसार टेक्सास, न्यूयोर्क, सान फ्रान्सिस्को, सान्ता आना, फिलाडेल्फिया, एटलान्टा, शिकागो, वाशिंगटन डीसी, बोस्टन र सियाटलमा विरोध प्रदर्शन भएका थिए। दर्जनौं मानिसलाई पक्राउ गरिएको छ।
यी सबै ठाउँमा अध्यागमन कार्यालयहरू बाहिर विरोध प्रदर्शन भएका छन्। सियाटलमा करिब ५० जनाले बाइक र ई–स्कुटरहरू लिएर अध्यागमन कार्यालयलाई अवरुद्ध गरेका थिए।
वासिङ्टन डीसीमा ट्रेड युनियन सदस्यहरूले न्याय विभागको भवन अगाडि मार्च गरे। एक युनियन नेता डेभिड हुएर्टालाई अध्यागमन अधिकारीले पक्राउ गरे।
शिकागोमा हजारौं मानिसले सहरको केन्द्रमा प्रदर्शन गरे। टेक्सासका गभर्नरले सान एन्टोनियोमा राष्ट्रिय गार्ड तैनाथ गर्ने आदेश दिए।
प्रतिक्रिया दिनुहोस !