काम छोडेर ठेकेदार सम्पर्कविहीन

काम छोडेर ठेकेदार सम्पर्कविहीन

अछाम :साँफेबगर मेल्लेख (साँफे–नन्देगडा–मेल्लेख–षोडशा–ऋषिदह) सडक स्तरोन्नतिको काम ५ महिनादेखि ठप्प छ । साँफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकालाई जोड्ने मुख्य सडक स्तरोन्नतिको काम रोकिएको ५ महिनाभन्दा बढी भयो । ठेकेदार सम्पर्कविहीन छन् । 

दश किलोमिटर सडक स्तरोन्नतिको कामको जिम्मा ललितपुर इमाडोलको नाति कन्स्ट्रक्सन प्रालिले पाएको थियो । नातिले पूर्वाधार विकास कार्यालय अछामसँग २०८१ असार १५ गते काम सम्पन्न गर्ने गरी २०७९ असार ६ गते भ्याटसहित १३ करोड २८ लाख १० हजार २०८ सम्झौता गरेको थियो । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको क्रमागत योजनाअन्तर्गत उक्त सडक स्तरोन्नतिको पूर्वाधार विकास कार्यालय अछामका इन्जिनियर दीपेन्द्र थापाले जानकारी दिए । पहिलोपटक २०८१ पुस २९ सम्म म्याद थप गरिएको र दोस्रोपटक म्याद थपका लागि फाइल मन्त्रालयमा पठाएको इन्जिनियर थापाले बताए । 

उनले भने, ‘सम्झौता मितिमा काम सम्पन्न भएन, पहिलोपटक २०८१ पुससम्म र अब दोस्रोपटक म्याद थपका लागि फाइल पठाएका छौं । ठेकेदारले रकम अभावका कारण काम गर्न नसकेको भन्दै आएको छ । अब सायद म्याद थप भएर आउँछ होला ।’ ठेकेदारले बैंक ग्यारेन्टी, बिमाका लागि समेत पैसा नभएको बताउँदै आएको थापाले बताए । असार सडकको केही नाली व्यवस्थापनको काम भए मात्र पनि वर्षाको पानीले सडक धेरै बिग्रनबाट जोगिने थापाले बताए । 

सडक स्तरोन्नतिअन्तर्गत सडकका नाली निर्माण र ग्राभेल हुनेछ । हालसम्म ठेकेदारले ९ करोड १५ लाख ७६ हजार ९७८ रुपैयाँ भुक्तानी लिएको कार्यालयले जनाएको छ । अब बाँकी ४ करोड १२ लाख ३३ हजार २३० भुक्तानी रहेको छ । पूर्वाधार विकास कार्यालयका लेखाअधिकृत नयनबहादुर बुढाका अनुसार २०७९/८० मा ४ करोड ३७ लाख ८५ हजार ७७२, ०८०/८१ मा ३ करोड १८ लाख १२ हजार ७७७ र ०८१/८२ मा १ करोड ५९ लाख ७८ हजार ४२८ रुपैयाँ भुक्तानी भएको छ । 

पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जंगबहादुर थापाले कार्यालयसँग सडकका लागि बजेट अभाव नरहेको बताए । उनले भने, ‘कार्यालयसँग बजेट छ, बजेट अभाव त हुँदै होइन । ठेकेदारले लगानी गर्ने पैसा नै छैन भन्छ । ठेकेदार लगानीका लागि पैसा छैन भन्दै पन्छिने गरेको छ । धेरैपटक ताकेता गरेका छौं । जसरी हुन्छ काम सुरु गर्नुस् भनेका छौं । म्याद थपको प्रक्रिया भइरहेको छ ।’ ठेकेदारले विभिन्न बहानामा आलटाल गर्ने गरेको थापाले बताए । 

ठेकेदारको लापरबाहीका कारण साँफेबगरका यस्ता थुप्रै योजनाहरू लथालिंग अवस्थामा रहेको साँफेबगर नगरपालिकाका मेयर राजेन्द्रबहादुर कुँवरले बताए । योजनाहरू अलपत्र पारेर ठेकेदारहरू सम्पर्कविहीन रहेको बताउँदै पटक–पटक तोकेता गर्दा समेत ठेकेदारहरूले नमानेको मेयर कुँवरको भनाइ छ । उनले भने, ‘वर्षायाम सुरु भइसक्यो, यस्ता निर्माणधीन सडकले झनै जोखिम बढाएको छ । यो वर्षको वर्षायाममा बढी पानी पर्ने भन्ने अनुमान छ । बढी जस्तो बाढी पहिरोको जोखिम यस्ता बन्दै गरेका सडकहरूले निम्त्याएका छन् ।’ 

साँफे–मेल्लेख सडक छेउमा आम नागरिकलाई जानकारीका लागि राखिएको बोर्डमा सूचनासमेत अधुरै राखिएको छ । बोर्डमा सडकको स्तरोन्नतिको लागत बजेट उल्लेख गरिएको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.