जयगढ बजारका आगलागी पीडितलाई ६३ लाख नगद राहत
अछाम : बान्नीगढी जयगढ गाउँपालिकाले आगलागी पीडित लाभग्राहीहरूको सूची तथा नगद राहत रकम सार्वजनिक गरेको छ।
गाउँपालिकाले आज अग्नीपीडितहरू सहित सर्वपक्षिय सर्वदलीय भेलाको आयोजना गरी राहत रकम पाउनेहरू नामावली र रकम सार्वजनिक गरेको हो।
जयगढका ३९ जना आगलागी पीडितलाई ६३ लाख २१ हजार नगद राहत रकम वितरण गरिनेछ। गाउँपालिकाले सार्वजनिक गरेको नगद राहत पाउने लाभाग्राही सूचीका अनुसार २ जनाले ५ लाख ५३ हजार, ३ जनाले तीन लाख ८७ हजार, ३ जनाले तीन लाख ४० हजार, २ जनाले तीन लाख ३८ हजार पाउने छन्।
त्यसै गरी एक जनाले दुई लाख ८९ हजार, दुईजनाले दुई लाख ४० हजार, एक जनाले एकलाख ९२ हजार, एक जनाले एकलाख ४३ हजार, ६ जनाले ९५ हजार , दुई जनाले ७५ हजार, ७ जनाले ५० हजार , तीन जनाले ३० हजार, ४ जनाले २५ हजार र दुई जनाले १५ हजार पाउने छन्। आगलागीबाट जयगढ बजारका ३५ भन्दा बढी पसल घर टहराहरू जलेका थिए। आगलागीबाट ८ करोड भन्दा बढीको क्षति भएको थियो।
गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र जयगढ बजारका आगलागी पीडितलाई राहत वितरणका लागि कार्यविधि पारित गरि नगद राहत वितरणको कार्य अगाडि बढाएको हो। गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२’पारित गरेको छ। कार्यविधि पारित भएसँगै जयगढ बजारका आगलागी पीडितलाई राहत पाउने बाटो खुलेको हो।
जयगढ बजारमा गएको चैत २६ गते भएको भीषण आगलागीबाट प्रभावित पीडितहरूलाई राहत उपलब्ध गराउन ‘आगलागी पीडितलाई नगद वितरण कार्यविधि २०८२’ पारित गरेर स्थानीय राजपत्रमा प्रकाशित गरिसकिएको छ।
प्रतिक्रिया दिनुहोस !