क्रिकेटमार्फत बाभुमाको कप्तानी : कोटा प्रणाली र सामाजिक न्यायको कथा
काठमाडौं : ‘मेरी हजुरआमाले मेरो नाम ‘टेम्बा’ राख्नुभयो, किनभने यसको अर्थ ‘आशा’ हो। हाम्रो समुदायको आशा, हाम्रो देशको आशा।’ दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले आफ्नो बारेमा यी कुराहरू भनेका थिए।
केप टाउनका ३५ वर्षीय अश्वेत खेलाडीले आफ्नो ब्याटिङ र कप्तानीले दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियन बनाएका छन्। यस ऐतिहासिक जितमा सबैभन्दा ठुलो योगदान चौथो इनिङमा एडेन मार्क्रमको १३६ रनको शानदार ब्याटिङ थियो।
यसैबीच कप्तान टेम्बा बाभुमाले पनि चौथो इनिङमा ६६ रनको महत्त्वपूर्ण इनिङ खेले। जसले दक्षिण अफ्रिकालाई लक्ष्यमा पुग्न महत्त्वपूर्ण भूमिका खेल्यो।
कप्तानको रूपमा टेम्बाको लागि यो अझ विशेष थियो। उनको नेतृत्वमा खेलिएका १० टेस्ट खेलमा दक्षिण अफ्रिकाको यो नवौं जित थियो भने एउटा खेल बराबरीमा सकिएको थियो।
इतिहासमा अहिलेसम्म इङ्गल्याण्डका पर्सी च्यापम्यान मात्र त्यस्ता कप्तान हुन् जसले आफ्नो पहिलो १० टेस्ट खेलमा उही संख्यामा जित दर्ता गरेका थिए।
बाभुमाले किन अपमान सहनु पर्यो ?

यो जित केवल ट्रफी जित्ने कथा मात्र थिएन।२०२५ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा अष्ट्रेलियालाई हराएर दक्षिण अफ्रिकाले इतिहास रच्दा क्रिकेटको लागि मात्र नभई परिवर्तनको लागि पनि जित थियो।
कप्तान टेम्बा बाभुमा देशको पहिलो स्थायी अश्वेत टेस्ट कप्तान हुन्। उनले टोलीको नेतृत्व गरेको आत्मविश्वास र संयम रंगभेदको इतिहाससँग जुधिरहेको देशको लागि प्रतीकात्मक क्षण बन्यो।
दक्षिण अफ्रिकी क्रिकेटमा टेम्बा बाभुमालाई प्रायः ‘कोटा खेलाडी’ भनिन्थ्यो। आलोचकहरूले उनलाई प्रदर्शनको आधारमा नभइ रंगको आधारमा टोलीमा समावेश गरिएको विश्वास गर्थे।
२०१९ मा इङ्गल्याण्डविरुद्धको टेस्ट शृंखलामा तत्कालीन कप्तान फाफ डु प्लेसिसले बावुमामा रसी भान डर डुसेनलाई रोज्दा विवाद उत्पन्न भएको थियो।
पहिलो दुई टेस्टमा दक्षिण अफ्रिकाले केवल चार अश्वेत खेलाडीलाई मैदानमा उतारेको आरोप लगाइएको थियो। लक्ष्य भने ६ जनाको थियो।फाफले आफ्नो बचाउ गर्दै भने,‘टोली छनोट फर्ममा आधारित हुन्छ। रंगमा होइन।’
‘कोटा खिलाडी’ राष्ट्रिय बहस बन्यो

बाभुमाको छनोटलाई सामाजिक सञ्जाल र मिडियाहरूमा बारम्बार खिल्ली उडाइएको थियो।
उनलाई आईपीएलमा निरन्तर बेवास्ता गरियो र टोलीमा हुने हरेक असफलतालाई ‘कोटा नीतिको असफलता’को कारणले जिम्मेवार ठहराइयो। जसको सामना बाभुमाले निरन्तर गर्नुपरेको थियो।
विडम्बना के छ भने देशका लागि शतक बनाउने, टेस्ट टोलीको कप्तानी गर्ने र च्याम्पियन बनाउने खेलाडीले बारम्बार आफ्नो क्षमता प्रमाणित गर्नुपरेको थियो। तर पहिले दक्षिण अफ्रिकी क्रिकेट टोलीमा लागू हुने कोटा प्रावधानको बारेमा कुरा गरौँ।
दक्षिण अफ्रिकी क्रिकेटमा कोटा प्रणाली एक छनोट नीति हो। जसले टोलीमा जातीय विविधता सुनिश्चित गर्ने लक्ष्य राख्छ। यसको उद्देश्य रंगभेद युगमा सीमान्तकृत समुदायका खेलाडीहरू जस्तै काला अफ्रिकी, रंगीन र भारतीय खेलाडीलाई समान अवसर प्रदान गर्नु हो।
यसअन्तर्गत टोलीहरुले प्रत्येक सिजनमा निश्चित संख्यामा ‘गैर–गोरा’ खेलाडी समावेश गर्नु अनिवार्य छ। ताकि खेल अझ समावेशी र सामाजिक रूपमा सन्तुलित हुन सकोस्।
यो अनौपचारिक रूपमा १९९८ मा सुरु भयो। क्रिकेट साउथ अफ्रिकाले ‘गैर–गोरा खेलाडीहरू’ लाई प्रवर्द्धन गर्ने नीति अपनायो। २००२ मा कोटा प्रणाली औपचारिक रूपमा घरेलु क्रिकेटमा लागू गरिएको थियो र २०१६ देखि अन्तर्राष्ट्रिय स्तरमा पनि अनिवार्य भयो।
यसअन्तर्गत प्लेइङ एघारमा औसतमा छ जना ‘गैर–गोरा’ खेलाडीहरू समावेश गर्न अनिवार्य गरिएको थियो। यी मध्ये कम्तीमा दुई जना काला अफ्रिकी खेलाडी हुनु आवश्यक छ।
टोलीमा कोटाको अर्को पक्ष

यद्यपि, कोटा नीतिको अर्को पक्ष भनेको केही प्रतिभाशाली खेलाडीले देश छोड्नुपरेको थियो। केभिन पिटरसनले आफ्नो पुस्तक क्रसिङ द बाउन्ड्रीमा छनोटका लागि अनौपचारिक जातीय कोटा नीति लागू भएको कारणले गर्दा उनलाई क्वाजुलु–नेटाल टोलीबाट निकालिएको लेखेका छन्। यसै कारणले उनले दक्षिण अफ्रिका छोडेर इङ्गल्याण्डमा आफ्नो क्रिकेट करियर सुरु गरे।
पिटरसन र एन्ड्रयू स्ट्रस जस्ता धेरै प्रतिभाशाली गोरा खेलाडीले इङ्गल्याण्डका लागि १०० भन्दा बढी टेस्ट खेल खेले। तिनीहरूमध्ये केहीले रंगको आधारमा घरेलु स्तरमा छनोटबाट वञ्चित भएको बताए।
यो विवादले कोटा नीति दुवै पक्षका लागि चुनौतीपूर्ण रहेको देखाउँछ छ। केहीले अवसर पाएनन् भने अवसर पाउनेहरूले आफ्नो ‘वैधता’ का लागि बारम्बार लड्नुपरेको थियो।
कोटाका खेलाडीहरूको मानसिक संघर्ष

‘कोटा खेलाडी’ले राम्रो प्रदर्शन मात्र गर्दैन। तर बारम्बार कुनै विशेषाधिकारको कारणले नभइ आफ्नो क्षमताको आधारमा टोलीमा अटाएको प्रमाणित गर्नुपर्छ।
आलोचनाको बीचमा पनि आत्मविश्वास कायम राख्नु र टोलीलाई उत्प्रेरित गर्नु ठुलो चुनौती हो। बाभुमा जस्ता खेलाडीले यो चुनौती स्वीकार गरे र विजेता बनेर उभिए।
बाभुमाले भने,‘म यहाँ कोटा भर्न आएको होइन। म यहाँ नेतृत्व गर्न आएको हुँ। मलाई थाहा छ म को हुँ।’
कार्यसम्पादनमा कोटा नीतिको प्रभाव

कोटा नीति कार्यान्वयन हुनुभन्दा अघि र पछिको सन्दर्भमा दक्षिण अफ्रिकी क्रिकेट टोलीको प्रदर्शनलाई हेर्दा एउटा रोचक ढाँचा देखा पर्दछ।
१९९२ देखि २००२ सम्म कोटा नीति औपचारिक रूपमा लागू नहुँदा टेस्ट खेलमा टोलीको जित प्रतिशत करिब ५८ प्रतिशत र एकदिवसीय खेलमा करिब ६५ प्रतिशत थियो।
यो प्रदर्शन अष्ट्रेलियापछि विश्वकै उत्कृष्ट थियो। यस अवधिमा दक्षिण अफ्रिकाले १९९८ मा च्याम्पियन्स ट्रफी जितेर आफ्नो शक्ति प्रमाणित गर्यो।
त्यसपछि २००३ र २०१५ को बीचमा कोटा नीति आंशिक रूपमा लागू गरिएपछि टेस्ट जित प्रतिशत थोरै घटेर ५५ प्रतिशत र एकदिवसीयमा करिब ६२ प्रतिशमा झर्यो। यस अवधिमा टोलीले २००७ र २०१५ को विश्वकपको सेमिफाइनलमा पुगेर आफूलाई बलियो दावेदारको रूपमा प्रस्तुत गर्यो।
यद्यपि २०१६ पछि कोटा प्रणाली पूर्ण रूपमा अनिवार्य गरिएपछि टेस्ट क्रिकेटमा टोलीको स्थिरता प्रभावित भयो। यसपछि टेस्ट खेलमा जितको प्रतिशत करिब ४७ प्रतिशत र एकदिवसीय खेलमा करिब ५९ प्रतिशतमा झर्यो। यस अवधिमा टोलीको टेस्ट वरीयतामा पनि गिरावट देखियो।
यद्यपि एकै समयमा टोलीले केही नयाँ प्रतिभालाई हुर्कायो। २०२३ मा फेरि विश्वकपको सेमिफाइनलमा पुग्यो। टेम्बा बाभुमाले सबै तथ्याङ्क र आशंकालाई गलत साबित गर्दै टोलीलाई विश्व टेस्ट च्याम्पियन बनाएका छन्।
कोटा नीति : राजनीति वा न्याय ?

दक्षिण अफ्रिकाको कोटा नीतिलाई ‘रूपान्तरण लक्ष्य’ भनेर चिनिन्छ। क्रिकेट साउथ अफ्रिकालाई प्रत्येक वर्ष राष्ट्रिय टोलीमा औसतमा ६ जना गैर–गोरा खेलाडी समावेश गर्न आवश्यक छ। जसमध्ये कम्तीमा दुई जना काला अफ्रिकी मूलका हुनुपर्छ। ऐतिहासिक रंगभेदबाट उत्पन्न अन्याय हटाउने उद्देश्यले यो नीति सुरु गरिएको थियो। यद्यपि, यसलाई कार्यान्वयन गर्ने प्रक्रिया प्रायः विवादास्पद रहेको छ।
केही पूर्वक्रिकेट दक्षिण अफ्रिका प्रमुख, प्रशिक्षक र खेलाडीहरूले प्रतिभाशाली गोरा खेलाडीलाई कोटा लक्ष्य पूरा गर्न टोलीबाट बाहिर राखिएको स्वीकार गरेका छन्। तर यो पनि तथ्य हो कि दक्षिण अफ्रिकामा दशकौंसम्म काला खेलाडीलाई स्कुल स्तरमा पनि खेल्ने अवसर दिइएको थिएन।
कोटा प्रणालीको प्रभाव राष्ट्रिय टोलीमा मात्र सीमित थिएन। अहिले स्कुल, क्लब र टाउनशिप स्तरमा सक्रिय अश्वेत प्रशिक्षक, अम्पायर र प्रशासकको संख्या धेरै छ। दक्षिण अफ्रिकामा क्रिकेट अब केवल ‘गोरा मानिसको खेल’ मात्र रहेन। तर देशको सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व गर्ने खेल बनेको छ।
तथ्याङ्कले के भन्छ ?

२००३ मा टोलीमा काला खेलाडीको सहभागिता केवल १४ प्रतिशत थियो। यो संख्या २०१६ मा ४७ प्रतिशत, २०२३ मा ६१ प्रतिशत र २०२५ को च्याम्पियन टोलीमा ६३ प्रतिशत पुग्यो। यस अवधिमा टोलीको प्रदर्शन वरीयतामा पनि सुधार भएको छ। २०१६ मा टेस्ट वरीयतामा छैटौँ, २०२३ मा तेस्रो र अब २०२५ मा विश्व च्याम्पियनको स्थिति छ।
के रबाडा, फिलान्डर, अमला, महाराज कोटाबाट आएका थिए ?
कागिसो रबाडा (कालो अफ्रिकी), भर्नन फिलान्डर (रंगीन), हाशिम अमला र केशव महाराज (भारतीय मूल) जस्ता खेलाडी दक्षिण अफ्रिकामा ‘रूपान्तरण लक्ष्य’ अर्थात् कोटा नीति लागू भएको समयमा टोलीको हिस्सा बनेका थिए।
यी खेलाडी यस नीति अन्तर्गत छनोट भए कि भएनन् भन्न गाह्रो छ। तर यो स्पष्ट छ कि कोटा नीतिले उनीहरूलाई एउटा प्लेटफर्म दियो र उनीहरूको प्रतिभा, स्थिरता र प्रदर्शनले टोलीमा राख्यो।
रबाडाले अन्डर–१९ विश्वकपमा चम्किए। फिलान्डरले डेब्यूमै पाँच विकेट लिए। अमलाले ९,००० भन्दा बढी टेस्ट रन बनाए र केशव महाराजले विदेशमा पनि विकेट लिए।
यी तथ्याङ्कले उनीहरूलाई प्रतिनिधित्वको लागि मात्र नभई वास्तविक क्षमताको आधारमा पनि छनोट गरिएको स्पष्ट रूपमा देखाउँछ। कोटा नीतिले अवसर प्रदान गर्यो र यी खेलाडीले आफ्नो प्रदर्शनमार्फत अवसरलाई जायज ठहराए।

निष्कर्ष : अस्थायी नीति, स्थायी परिवर्तन
कोटा प्रणालीमा बहस अपरिहार्य छ। यो नीति ‘अयोग्यलाई शीर्षमा ल्याउने’ षड्यन्त्र नभइ दशकौंदेखि सीमान्तकृत वर्गलाई खेल्ने र देखिने अधिकार दिने प्रक्रिया हो।
बाभुमा, रबाडा, एनगिडी र वारेन जस्ता खेलाडीले प्लेटफर्म दिइएपछि रंग कहिल्यै प्रदर्शनमा बाधा हुँदैन भन्ने प्रमाणित गरेका छन्। यस बहसको सार सायद क्रिकेट दक्षिण अफ्रिकाका पूर्व प्रमुख हारुन लोर्गटको यो भनाइमा लुकेको छः ‘क्रिकेट मैदानमा सीमा तोड्ने खेल मात्र होइन, यसले बाहिर पनि परिवर्तन ल्याउँछ।’
प्रतिक्रिया दिनुहोस !