न्युरोकन–२
यसपटकको न्युरोकनमा २५ वटा सत्रमा १ सय ३५ वटा उच्चस्तरका शोधपत्र, ज्ञान र अनुभव समेटिएको प्रस्तुतिहरू सम्मिलित गरिएको छ।
उपेन्द्र देवकोटा फाउन्डेसनले यस वर्ष न्युरोकन २ आयोजना गरेको छ। फाउन्डेसनले प्रा.डा. उपेन्द्र देवकोटाको वार्षिकीको मिति पारेर हरेक दुई वर्षमा न्युरोकन आयोजना गर्छ।
प्रा.डा.उपेन्द्र देवकोटालाई हामी नेपालको आधुनिक न्युरोसर्जरीको पिता (फादर अफ मोर्डन न्युरोसर्जरी इन नेपाल) मान्दछौं। सन् १९८९ मा बेलायतबाट न्युरोसर्जरीको अति विशेषज्ञता तालिम लिएर फर्कनुभएपछि पूर्ण समर्पणका साथ न्युरोसर्जरीमा मात्र नभईकन सम्पूर्ण न्युरो साइन्सेजलाई नै अघि बढाएर विश्वस्तरीय बनाउनुपर्छ भन्ने अठोटसाथ अनवरत काम गरिरहनुभयो। उहाँकै नेतृत्व, प्रेरणा र लगावको उपज नेपालमा न्युरो साइन्स अहिलेको अवस्थामा पुग्न सफल भएको छ। यसका साथै अहिले नेपालमा मस्तिष्कघात र पक्षघातको उपचारमा जेजस्तो प्रविधि र सेवाहरू (थ्रोम्बेक्टोमी, थ्रोम्बोलाइसि, पुनर्स्थापना) उपलब्ध छन्, त्यो पनि उहाँकै दूरदर्शी सोच र दृढ निश्चयको उपज हो।
उहाँ एक कुशल शल्यचिकित्सक मात्रै नभएर प्रखर व्यक्तित्वका साथै प्रेरणादायी र प्रभावकारी गुरुको रूपमा पनि चिनिनुहुन्छ। न्युरो सर्जरी मात्रै अघि बढेर न्युरो साइन्सेज अघि नबढ्ने पहिले नै थाहा पाएर उहाँले न्युरोलोजी, न्युरो रेडियोलोजी, न्युरो प्याथोलोजीलगायत सबै विधा नेपालमा अघि बढाउनुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएको थियो। उहाँले यी विधाका विशेषज्ञहरूलाई पनि अनवरत रूपमा सहयोग र प्रोत्साहन गरिरहनुहुन्थ्यो। उहाँको प्रगतिशील सोच, बिरामी र न्युरो साइन्सप्रतिको अगाध समर्पण एवं जीवनको अन्तिम समयसम्म पनि उहाँले देर्खाउनुभएको कडा मिहेनती स्वभावले गर्दा युवा चिकित्सकहरूको प्रेरणा र मागदर्शक पनि हुनुहुन्थ्यो।
उहाँको धारणामा एक चिकित्सकले बिरामीको उपचार गर्न भरपुर मिहेनत गर्नुपर्छ, सदा एक प्रगतिशील विद्यार्थीझै नयाँ नयाँ सीप र ज्ञान प्राप्त गर्दै आफुलाई अद्यावधिक र स्तरवृद्धि गर्दै जानुपर्छ र अध्ययन अध्यापनका साथै खोज एवं अनुसन्धानमा पनि लागिरहनुपर्छ। सबै चिकित्सकले आफ्नो दैनिकीमा समय निकालेर कुनै खोज, अनुसन्धान र वैज्ञानिक शोधपत्र लेख्न सबैलाई प्रोत्साहन गर्नुहुन्थ्यो। विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन प्रोत्साहन र समन्वय गरिदिनुहुन्थ्यो। उहाँको राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा अनगिन्ती अनुसन्धानात्मक लेखहरू प्रकाशित भएका छन्।
मार्च १९९९ मा उहाँले आफ्नै अगुवाइ र अथक प्रयासमा नेपालमा नै पहिलोपटक सार्कस्तरीय न्युरो सर्जिकल कन्फरेन्स पनि आयोजना गर्नुभएको थियो। तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गर्नु भएको उक्त सम्मेलनमा देश र विदेशका विशेषज्ञ चिकित्सकको उत्साहजनक सहभागिता थियो। नेपाली चिकित्सकहरूले विदेशी विशेषज्ञ चिकित्सकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी एकअर्काको अनुभव, सीप, ज्ञान आदानप्रदान गर्ने मौका प्राप्त गरेका थिए। विदेशी चिकित्सकहरूलाई पनि नेपालमा के– कस्तो वातावरणमा काम, खोज, अनुसन्धान भइरहेको छ भन्ने जानकारी पाउने मञ्च (प्लेटफर्म) यो सम्मेलनले उपलब्ध गराएको थियो।
यस न्युरोकन पनि उहाँको त्यही प्रेरणादायी निर्देशन र प्रगतिशील सोचको उपजको रूपमा उपेन्द्र देवकोटा फाउन्डेसनले सुरु गरेको एउटा प्रयास हो। यसमा देश विदेशका चिकित्सक, विशेषज्ञ मात्र नभई वैज्ञानिक एवं सम्बद्ध क्षेत्रका प्राविधिकहरूले पनि आफ्नो शोध, अनुसन्धान, ज्ञान, सीपहरू प्रस्तुत गरेर एक अर्कासँग अनुभव साट्न एउटा मञ्च (प्लेटफर्म) निर्माण गरिएको छ।
दुई वर्षअघि प्रथमपटक आयोजना गरिएको न्युरोकनमा न्युरो सर्जरी, न्युरोलोजी, न्युरो इन्टरभेन्सनलगायत विधासँगै नर्सिङ, पुनस्र्थापनाजस्ता सम्बद्ध विधाबाट गरी ६४ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। सो सम्मेलनमा आउनुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महानुभावहरूले प्रा.डा. उपेन्द्र देवकोटाको व्यक्तित्व, कार्यकुशलताको वर्णन गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरेर यो सम्मेलनको तारिफ अनि प्रयासको सराहना गर्नुभएको थियो। साथै नेपालमा न्युरो साइन्समा आजीवन योगदानको सम्मान गर्दै डा. दिनेशनाथ गोंगललाई लाइफटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिएको थियो। यस सम्मेलनको एक दिनअघि २ वटा कार्यशाला पनि आयोजना
गरिएको थियो।
पहिलो न्युरोकनको उच्च सफलतापछि उपेन्द्र देवकोटा फाउन्डेसनले यो वर्ष पनि पहिलेभन्दा अझ उत्साहित रूपमा अझ फलदायी हुने गरी न्युरोकन २ आयोजना गरेको छ। यसपटकको न्युरोकनमा २५ वटा सत्रमा १ सय ३५ वटा उच्चस्तरका शोधपत्र, ज्ञान र अनुभव समेटिएको प्रस्तुतिहरू सम्मिलित गरिएको छ। सम्मेलनमा सहभागिता जनाउन नेपालका विभिन्न क्षेत्रका साथै भारत, बेलायत, अमेरिका, इजिप्ट, फ्रान्स, पाकिस्तानलगायत देशबाट वरिष्ठ चिकित्सक एवं वैज्ञानिकहरू आउनुभएको छ। सहभागीहरूले कार्यपत्र प्रस्तुत गर्नुका साथै विश्वका दिग्गज चिकित्सकहरूसँग प्रत्यक्ष अन्तरक्रियाको
मौका पाउनुहुनेछ।
यसले भविष्यमा अझै राम्रो र गुणस्तरीय काम गर्न, गरिरहेको काममा निखार ल्याउन उहाँहरूलाई प्रोत्साहन मिल्नेछ। यसले गर्दा नयाँ पुस्ताका लागि मार्गदर्शन र प्रोत्साहन प्राप्त हुनेछ। न्युरोकन २ दुई दिन सञ्चालन हुनेछ। सम्मेलनभन्दा अघि ७ वटा छुट्टाछुट्टै कार्यशालाहरू आयोजना भएका छन्। यस सम्मेलनलाई नेपाल मेडिकल काउन्सिलले १२ ऋएम् अंकले सम्मानित गरेको छ।
अहिलेको परिवेशमा नेपाली चिकित्सकहरू अन्तर्राष्ट्रिय सम्मेलन, कार्यशाला र शैक्षिक उन्नयनका लागि विदेश जाने क्रम एकदमै बढी छ। उपेन्द्र देवकोटा फाउन्डेसनले सोही स्तरका अन्तर्राष्ट्रिय विशेषज्ञ, वैज्ञानिकहरूलाई नेपालमा ल्याएर त्यही स्तरको पहुँच र अवसर नेपालमा नै उपलब्ध गराउने अभियान बिस्तारै सफल हुँदै गएको अनुभूति भएको छ। नेपाली चिकित्सकहरू सम्मेलनका लागि विदेश जाने क्रम बढे झैं यो न्युरोकनमा पनि बिस्तारै विदेशी चिकित्सकहरूको मोह बढ्दै गएको र सहभागिता पनि उत्साहजक रूपमा बढ्दै गएकाले यो न्युरोकनले आफ्नो लक्ष्यप्राप्त गर्दै गएको महसुस हुन्छ।
- मुनङ्कमी एनेस्थेसिया विभागका प्रमुख हुन्।
प्रतिक्रिया दिनुहोस !