सेती राजमार्ग सुदूरको ‘गेम चेन्जर’ प्रोजेक्ट
अछाम : नेपालको उत्तरी दक्षिण जोड्ने सबैभन्दा छोटो दूरी रहेको सुदूरपश्चिम प्रदेशको गौरवको योजना हो सेती राजमार्ग। बहुचर्चित, बुहुप्रतीक्षित सेती राजमार्ग सुदूरपश्चिमको समृद्धिको मेरुदण्ड हो।
नेपाल–भारत–चीन त्रिदेशीय सम्बन्धलाई आर्थिक र भौगोलिक रूपमा नजिक ल्याउने उद्देश्यले दक्षिणतिर कैलालीको तिकुनिया टीकापुरदेखि सुरु भई उत्तरतिर ताक्लाकोट पुग्ने सेती राजमार्ग केवल कच्ची ट्र्याक मात्रै होइन, सुदूरपश्चिमका जनताको सपना, संघर्ष र सम्भावनाको सडक हो। त्रिदेशीय सम्बन्धलाई आर्थिक एवं भौगोलिक रूपमा नजिक ल्याउने महत्वपूर्ण कडी हो। विकास, व्यापार र समृद्धिको ढोका खोल्ने अपेक्षासहित निर्माणमा लागेको यो सडकले सुदूरपश्चिमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिमा प्रत्यक्ष सहभागी गराउने विश्वास गरिएको छ।
कैलाली र डोटीको पूर्वी भाग, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य राजमार्गसँग जोडिएका छन्। विशेषगरी हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती राजमार्ग पश्चिमभरिमा सबैभन्दा छोटो र कम लागत लाग्ने महत्वपूर्ण आयोजना हो।
धार्मिक मान्यताअनुसार कैलाश मानसरोवर जान भारतको नैमिसारण्यदेखि यात्रा सुरु गर्नुपर्छ। सेती राजमार्गले नैमिसारण्यदेखि भारतको तिकुनियाँ हुँदै टीकापुर, डोटीको पूर्वीभाग, अछामको वैद्यधानधाम, बझाङको खप्तड हुँदै ताक्लाकोटबाट कैलाश मानसरोवर जान सकिन्छ।
राजमार्गको दक्षिण खण्डमा कैलाली, अछाम, डोटी र बाजुरा समेटिन्छ। दक्षिणी खण्डमा धमाधम काम भइरहेको छ। दक्षिणी खण्डमा ट्र्याक खोल्ने, सडक स्तरोन्नति, कालोपत्रेका लागि तयारीको काम भइरहेको छ। सेती राजमार्ग निर्माण कार्य सुरु भएको १५ वर्ष बितेको छ। यो वर्षमा सोचेअनुरूपको उपलब्धि भएको छैन। राज्यबाट हुनेपर्ने नीतिगत निर्णयमा ढिलाइ र भएको निर्णयहरू पनि तत्काल कार्यान्वय नहुँदा सुदूरबासीेहरूको सपनासँग जोडिएको सेति राजमार्गले गति लिन नसकेको हो।
कैलाली र अछाममा सडकको काम भइरहेको भए पनि सबैभन्दा ठूलो भाग र जटिल मानिएको डोटीमा पर्ने ४० किलोमिटर क्षेत्रमा भने काम सुरु हुन सकेको थिएन। रुख कटानका लागि दुई पटकसम्म मन्त्रीपरिषदबाट निर्णय हुँदा समेत कार्यान्वय हुन सकेको थिएन। डोटीको ठूलीगाड–सेती–बूढीगंगा दोभानमा ४० किलोमिटर सडक निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गामा रहेको २ हजार ७८५ रूख कटान गर्न दिने निर्णय मन्त्रीपरिषदले गरेको थियो।
वन ऐन २०७६ अनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना राष्ट्रिय गौरवको आयोजना सञ्चालन गर्न वन क्षेत्रको प्रयोग गर्नुको विकल्प नभएमा प्रचलित कानुन बमोजिम वातावरणीय परीक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी वनको कुनै भाग प्रयोग गर्न स्वीकृत दिन सक्ने उल्लेख छ।
आयोजनाले रुख कटान भोगाधिकार पश्चात वृक्षरोपण, पाँच वर्षसम्म रूख हुर्काउन सम्भार गर्न लगायतका आवश्यक पर्ने रकम वन विकास कोषमा जम्मा गर्नुपर्ने हुन्छ। रूख कटानका लागि वन विकास कोषमा सेती राजमार्गको कार्यालयले ४० करोडभन्दा बढी रकम जम्मा गर्नुपर्ने हुन्छ। उक्त रकम जम्मा गर्न नसक्दा रूख कटानको काम अगाडि बढ्न सकेको थिएन। लामो सकसपछि ४० करोड जम्मा गर्न नपर्ने गरी रुख कटान गर्न पाउने गरी सम्झौता भइसकेको छ। डोटीको ठूलीगाड–सेती–बूढीगंगा दोभानमा ४० किलोमिटर सडक निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गामा रहेको २ हजार ७८५ रूख कटान लागि जेठ २१ गते सम्झौता भई कटानका लागि प्रक्रिया अगाडि बढेको छ।
करिब तिन वर्षदेखि रोकिएको डोटी क्षेत्रको रुख कटानका लागि सम्झौता भएसँगै राजमार्ग बन्छ भन्ने आशा पलाएको छ। सेती राजमार्ग बन्दैन कि भन्ने निराशाका बीच रुख कटानको खबरले राजमार्गबाट छोटो दूरीको यात्रा गर्ने व्यग्र प्रतिक्षामा रहेका सुदूरबासीहरूमा आशाको सञ्चार जागाएको छ। रुखको लगत संकलन गरी रुखमा टाँचा लगाउने काम वन डिभिजन कार्यालय डोटीले गरिरहेको छ। सडक निर्माणको क्षेत्रभित्र पर्ने ३ वटा सामुदायिक वनको रुख कटानका लागि तत्कालै अनुमति दिने गरी काम अघि बढेको छ। रुखमा टाँचा लगाउने त्यसपछि रुखको लगत संकलन गरी कटान मुछान र घाटगद्दी गर्ने प्रक्रिया रहेको छ।
अहिले अछामको साँफेबगरबाट धनगढी पुग्न २७० किलोमिटरमा कम्तीमा ८ देखि ९ घण्टा समय लाग्छ। बौनियादेखि सेती राजमार्ग हुँदै साँफेबगरसम्मको दूरी १ सय ४४ किलोमिटर अवस्था ठ्याक्कै आधा छ। साँफेबगरको रहेको आयोजनाको कार्यालयदेखि कैलालीको बौनियाँ १४४ किलोमिटर मात्र छ। सेती राजमार्ग अन्तर्गत दक्षिणी खण्डमा हालसम्म १२६ किलोमिटर ट्र्याक मात्र खोलिएको छ।
दक्षिणी खण्ड २०४ किलोमिटर रहेको छ। ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ। राजमार्गअन्तर्गत दक्षिणी खण्डको कैलाली क्षेत्रमा ७२ किलोमिटर, अछाममा ८०, डोटी ४० र बाजुरा क्षेत्रमा १२ किलोमिटर सडक पर्छ। हालसम्म कैलालीको २ किलोमिटर ट्र्याक खुल्न बाँकी छ भने डोटीको ४०, अछामको २४ र बाजुराको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस !